लमजुङका दुई आयोजनालाई प्रशारण लाइनको चिन्ता

लमजुङका दुई आयोजनालाई प्रशारण लाइनको चिन्ता

बेंसीसहर : राष्ट्रिय प्रशारण लाइन निर्माणमा ढिलाई भएपछि लमजुङमा निर्माण सम्पन्न हुन लागेका दुई जलविद्युत् आयोजना अन्योलमा परेका छन्। दोर्दी गाउँपालिकाअन्तर्गत दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ए र मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनालाई प्रशारण लाइनको चिन्ता परेको हो। यी दुई आयोजना विद्युत उत्पादनको अन्तिम तयारीमा पुगका छन्। कोभिड–१९ को प्रभावका कारण राष्ट्रिय प्रशारणलाइन निर्माण कार्य प्रभावित भएको छ।

गत बैशाख महिनामा विद्युत् उत्पादनको लक्ष्य लिएका दुवै आयोजनाले पूर्वघोषित समयभन्दा झण्डै सात महिना ढिला गरी विद्युत् उत्पादनको तयारी गर्दै छन्। तर आयोजनाको काम सम्पन्न भएपनि त्यो समयसम्म विद्युत् प्रशारण लाइन बन्ने तयारी देखिएको छैन्। 

गत चैत महिनाभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले आगामी दुई महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने दाबी गरेको छ। तर यसअघिको विद्युत् उत्पादनका लागि सरकारसँग सम्झौता गरिएको मिति लकडाउनकै कारण प्रभावित भएपछि अर्को मिति तय नभएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए।

सरकारबाट उत्पादन मिति तय नभएको र प्राधिकरणले गरेको राष्ट्रिय प्रशारण लाइनको काम पनि लकडाउनका कारण प्रभावित हुँदा थप अन्योल भएको वस्तीले बताए। तर आयोजनाको काम अन्तिम चरणमा पुगेकोले दुई महिनाभित्र विद्युत् उत्पादन गरिसक्ने उनले बताए।

२०७१ असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ। रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ।

यसैगरी निर्माणको अन्तिम चरणमा पुगेको २७ मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको आयोजना जनसम्पर्क अधिकृत विजय गुरुङले बताए। गत बैशाख महिनामै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना पनि कोभिड–१९ र सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएको छ।

आयोजनामा हाल बाँध क्षेत्र, पावर हाउसलगायतका क्षेत्रमा सिभिलतर्फको काम सकिएको र प्राविधिकतर्फ केही काम बाँकी रहेको गुरुङको भनाइ छ। प्राविधिकतर्फको केही सामग्री बाहिरबाट आउने क्रममा रहेकाले दुई महिनाभित्र विद्युत् उत्पादन हुने गुरुङले बताए।

गुरुङका अनुसार दुई महिनाभित्र आयोजनाको काम सकिएपनि विद्युत् प्रशारण लाइनको काम भने सो समयभित्र सकिने कुनै छाँटकाँट छैन। प्राधिकरणले राष्ट्रिय प्रशारणलाइन बनाउन ढिला गरेपछि आयोजना आफैले पावर हाउसदेखि खुदीको टारीकुनासम्म प्रशारणलाइन बनाउन सुरु गरेको छ। तर कोरना संक्रमणका कारण काम प्रभावित हुँदै आएको छ।

अंग्रेजी पात्रोअनुसार गत अप्रिल महिनामा काम सम्पन्न भई विद्युत् उत्पादन हुने समय कटिसकेको छ। २०७३ चैतबाट निर्माण सुरु भएको कोरनाका कारण निर्माण अवधि लम्बिएको हो। आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.