मोबाइलमा कुरा गर्न डाँडा र रुख चढ्नुपर्ने बाध्यता

मोबाइलमा कुरा गर्न डाँडा र रुख चढ्नुपर्ने बाध्यता

बेनी : म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन्। रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी-२ लुलाङ, -४ बगर र वडा नं. ५ मल्कवाङमा मोबाइल सेवा विस्तार हुन सकेको छैन्। यस क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रको मोबाइलको पहुँच छैन्। 

स्थानीयबासीहरु मोबाइलमा कुरा गर्नका लागि घण्टौ पैदल हिँडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन्। चौरखानीको रघुगंगा आधारभूत विद्यालयका प्रअ चन्द्रमान छन्त्यालले मोबाइलमा कुराकानी गर्न देउराली डाँडामा जाने गरेको बताए।  ‘डाँडामा पुगेपछि अलि अलि टावरले टिप्छ, त्यो पनि आवाज राम्रो आउदैन,’ उनले भने ‘चिच्याई चिच्याई बोल्नुपर्छ। हामीले आवश्यकता पर्‍यो भने सम्पर्क गर्ने हो। अरुले चाहेर सम्पर्क हुँदैन।’  

घ्यासीखर्कका रमेश तुलाचनले गाँउ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिड्नुपर्ने बताए।  

महत्वपूर्ण सूचना आदान, प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रितुङ माविका शिक्षक याम घर्तिमिरेले बताए। ‘एक्काइसौ शताब्दीको सूचना प्रविधिको युगमा आधारभूत जस्तै भएको सञ्चार सुविधाबाट बञ्चित भएका छौँ,’ उनले भने ‘अधिकांशको साथमा रहेको मोबाइल सेट गीत सुन्न, भिडियो हेर्न, तस्बिर, भिडियो खिच्नमा सीमित छ।’ 
 
कुइनेमंगलेको नजिक पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ। कुइनेमंगलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन्। सबै ठाउँमा मोबाइलको टावरले नियमित काम नगरेको स्थानीयबासी बताउँछन्। 

म्याग्दीको कुइनेमंगलेको चौरखानीको देउराली डाँडाबाट मोबाइलमा कुराकानी गर्दै। तस्बिर : सन्तोष गौतम

धवलागिरीको मल्कवाङ, लुलाङ र बगरमा सञ्चारको असुविधा छ। त्यहाँ टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहिन छ। मोबाइल सेवा विस्तारका लागि वर्षौदेखि पहल गरेपनि टेलिकमले बेवास्ता गरेको कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले बताए। 

‘टेलिकमको कार्यालय धाउन थालेको छ/सात वर्ष भयो होला,’ उनले भने ‘अहिलेसम्म जनताले सञ्चार सुविधा नपाउँदा हामी पनि निराश भएका छौ।’ सञ्चारको असुविधाका कारण सेवा प्रवाह र सूचना आदानप्रदानमा धेरै दुख भएको छन्त्यालले दुखोसो पोखे।  

एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ। सूचना प्रवाह गराउन अझै टोल टोलमा परम्परागत कटुवाल प्रथाको सहरा लिनुपरेको छ। कुइनेमंगले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि गाउँपालिकाले दुई वर्ष अघि तीन लाख रुपैयाँ खर्च गरेर चिमखोलाको मेडलडाँडामा कुरुवा घर बनाइदिएको थियो। 

टेलिकमले टावर जडान गर्न ढिलाई गर्दा स्थानीयबासी सञ्चार सुबिधाबाट बञ्चित भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। नेपाल टेलिकम बागलुङले चिमखोलाको टावर बनाउन ठेक्का समेत लागिसकेको बताएको छ। 

टेलिकमका वरिष्ठ इञ्जिनियर केशव शर्माले कोरोनाको जोखिम, लकडाउन र बाढी पहिरोले यातायात अवरुद्ध बनाएकाले चिमखोलामा बिटिएर जडान गर्न ढिला भएको बताए। ‘विदेशबाट सामान ल्याइसकेको छ, कोरोनाको जोखिम भएकाले तराइबाट मजदुर ल्याउन समस्या छ,’ उनले भने ‘यातायात र कोरोनाको अवस्था सहज भएपछि ठेकेदार टावर जडानका लागि आउँछन्।’

यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङ र धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा पनि मोबाइल सेवा सहज नहुँदा स्थानीयबासीका साथै पालिकाको सेवा प्रवाहमा असर परेको छ। मुदीको टावरले घाम परेको अवस्थामा मात्रै काम गर्छ। 

रुन्माको टावरले पनि केही समययता राम्रोसँग काम नगरेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। टेलिकम म्याग्दीका प्रमुख बिष्णुदेव शाहले रुन्माको टावरलाई थ्रिजिबाट फोरजिमा लैजाने क्रममा उत्पन्न समस्या समाधान गरिएको बताए।  

उनले दरवाङलाई लक्षित गरेर अर्को बिटिएर टावर राख्न लागिएको बताए। ‘धौलागिरी आधार शिविर जानेका लागि बगर र लुलाङमा पनि अर्को टावर राख्न लागिएको छ,’ शाहले भने ‘बेनी बजारको टेलिफोन टावरलाई कपरलेस बनाउने काम भैरहेको छ।’

बगरमा टावर राख्न गाउँपालिकाले कुरुवा घर बनाइसकेको छ। मुदीको मोबाइल टावरलाई नियमित सञ्चालनका लागि विद्युत पुर्याउन लागिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन्। 

म्याग्दीमा टेलिकमका २६ वटा मोबाइल, ५ वटा ल्याडलाइन र ४ वटा वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन्। एक लाख १३ हजार जनसंख्या भएको म्याग्दीमा गत असार मसान्तसम्म ९० हजार ३१७ थान मोबाइलका सिम वितरण गरेको छ। 

बेनीमा एक हजार १८, दरवाङमा १२४ र घोडेपानीमा ३५ गरि एक हजार १७७ वटा ल्याडलाइन टेलिफोनका प्रयोगकर्ता छन्। सिम वितरण गरिएको आधारमा जिल्लाका असी प्रतिशत जनसंख्यामा मोबाइल फोनको पहुँच पुगेको टेलिकमले दाबी गरेको छ। 

म्याग्दीको कुइनेमंगलेमा रुखमा चढेर मोबाइलमा कुराकानी गर्दै। तस्बिर : सौजन्य याम घर्तिमिरे 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.