स्याङ्जामा विद्यालय संचालन नगर्न प्रशासनको उर्दी
स्याङजा : स्याङ्जा प्रशासनले जिल्लामा तत्काल शैक्षिक गतिविधि संचालन नगर्न सुझाव दिएको छ । सुझावलाई उल्लंघन गरी कोरोना संक्रमण फैलिए उत्पन्न परिस्थितिको जिम्मेवारी स्थानीय पालिका वा विद्यालयले नै लिनुपर्ने गरी चेतावनी दिएको छ।
जिल्लामा अझैं पनि संक्रमणको दर बढिरहेको जनाउँदै जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई पठनपाठन अघि नबढाउन विज्ञप्तिमार्फत जानकारी गराएको हो। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तीमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरितका कार्य गर्ने प्रयास भएको उल्लेख छ। विज्ञप्तिमा 'प्रत्यक्ष सिकाइ अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजिएको पाइएकाले सामुदायिक तथा संस्थागत विद्यालय संचालन गरी संक्रमण फैलिएमा सोको जिम्मेवारी सम्बन्धित विद्यालय र पालिका रहने भनि सचेत रहन सुझाव दिइएको छ।
विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । केही शिक्षक र उनीहरुका परिवारमा समेत संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्मका लागि अध्ययन अध्यापन नगर्न भनिएको हो।
कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल सरकारले शैक्षिक गतिविधि चैत्र ६ गते देखिनै रोक लगाउँदै आएको छ। निर्देशिका विपरित कार्य गरेमा संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने जारी विज्ञप्तिमा उल्लेख छ ।