भक्तपुरमा ४२ प्रतिशत संक्रमितमा कोरोना लक्षण
भक्तपुर : भक्तपुरका ४२ प्रतिशत कोरोना भाइरस संक्रमित लक्षणयुक्त देखिएका छन् । सुरुसुरुमा कोरोना परीक्षणमा पोजिटिभ रिपोर्ट आएपनि धेरैजसोमा लक्षण देखिँदैन थियो ।
तर पछिल्लो समय कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमण पुष्टि भएकामा लक्षणसमेत देखिन थालेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार पछिल्लो समय संक्रमितमा लक्षण देखिने क्रम बढेको छ ।
बिहीबारसम्ममा कूल सक्रिय संक्रमितमध्ये ४२.४६ प्रतिशत अर्थात ४ सय जनामा कोरोना भाइरस संक्रमणको लक्षण रहेको उनी बताउँछन् । जसअनुसार २ सय ५६ पुरुष र एकसय ४४ महिलामा संक्रमणको लक्षण रहेका छन् ।
उनीहरुमध्ये कोही होम आइसोलेसन र कोही अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९ सय ३९ रहेको छ । जसमा पुरुष ५ सय ३४ र महिला ४ सय ५ रहेका छन् । यहाँ संक्रमितहरुको कूल संख्या ९ सय ६३ पुरुष र ७ सय ४४ महिला गरी एक हजार ७ सय ७ पुगेको छ ।
जसमध्ये ४ सय १२ पुरुष र ३ सय ३२ महिला गरी ७ सय ४२ जना कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज भएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।
७० प्रतिशत होम आइसोलेसनमा
भक्तपुरका सक्रिय संक्रमितमध्ये ७०.१८ प्रतिशत होम आइसोलेसनमा रहेका छन् । ३ सय ५६ पुरुष र ३ सय ३ महिला गरी ६सय ५९ जना संक्रमित होम आइसोलेसनमा बसेका हुन् ।
सक्रिय संक्रमितमध्ये २९.८२ प्रतिशतमात्रै अस्पतालको आइसोलेसनमा बसेका छन् । एक सय ७८ पुरुष र एकसय २ महिला गरी २ सय ८० जना अस्पतालको आइसोलेसनमा बसेका छन् । जुन लक्षण देखिएका संक्रमितहरुको संख्यामा ७० प्रतिशतमात्रै हो ।
भक्तपुरमा होम आइसोलेसनमा बसेका एक पुरुष संक्रमितको मृत्युुसमेत भइसकेको छ । यहाँ कूल २४ जना कोरोना भाइरस संक्रमितहरुको मृत्यु भएको छ । जसमा १७ पुरुष र ७ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सबैभन्दा बढी संक्रमित मध्यपुर थिमिमा
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मध्यपुर थिमिमा रहेका छन् । यहाँ जिल्लाका कूल संक्रमितमध्ये ४२.२४ प्रतिशत रहेको छ । मध्यपुर थिमि नपामा बिहीबारसम्म ३ सय ९३ पुरुष र ३ सय ११ महिला गरी ७ सय ४ संक्रमित रहेका छन् । जसमध्ये २ सय १५ पुरुष र एकसय ६२ महिला गरी ३ सय ७७ जना संक्रिय संक्रमित रहेका छन् ।
मध्यपुर थिमिका ९ पुरुष र ४ महिला गरी १३ जना संक्रमितहरुको मृत्यु भइसकेको छ । जुन यहाँका चार नपामध्ये सबैभन्दा बढी हो । मध्यपुर थिमिपछि भक्तपुरमा २ सय ३६ पुरुष र २ सय ३५ महिला गरी ४ सय ७१ संक्रमित रहेका छन् । यहाँ एकसय ६० पुरुष र एकसय ४६ महिला गरी ३ सय ६ सक्रिय संक्रमित रहेका छन् । भक्तपुरका ५ पुरुष र एक महिला गरी ६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै सूर्यविनायक नपामा २ सय एक पुरुष र एक सय ३४ महिला गरी ३ सय ३५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँका एकसय पुरुष र ३६ महिला गरी एकसय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।
सूर्यविनायक नपाका ३ जना पुरुष र २ जना महिला गरी ५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । चाँगुनारायण नपा भक्तपुरको सबैभन्दा कम संक्रमित रहेको नपा हो । यहाँ एकसय १३ पुरुष र ५८ महिला गरी एकसय ७१ जना कोरोना भाइरस संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहीबारसम्म यहाँ ४३ पुरुष र २९ महिला गरी ७२ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । यहाँका कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।