प्रदेश-२ कृषि मन्त्रालय: मन्त्रीले सचिवलाई हाजिर गर्नै दिएनन् !
जनकपुरधाम : प्रदेश २ को भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र सर्खरै सरुवा भएकी सचिवबीच विवाद भएको छ। मन्त्री शैलेन्द्र साहले संघीय सरकारको कृषि मन्त्रालयबाट सरुवा भएर आएकी सचिव सम्झना काफ्लेबीच विवाद भएको हो।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट रमाना लिएर बुधबार दिउँसो सचिव काफ्ले हाजिर हुन मन्त्रालय पुगेकी थिइन्। तर, कार्यकक्षमा ताल्चा लागेको देखेपछि उनी मन्त्रालयका कर्मचारीसँग परिचयात्मक कार्यक्रममा गर्न लागेकी थिइन्। सोही क्रममा बाहिरबाट युवाको एक समूह आएर हल्ला गर्दै सचिवसहित कर्मचारीलाई दुरव्यवहार गरेपछि विवाद सार्वजनिक भएको हो।
‘सचिवज्यू र हामी कर्मचारीबीच परिचयात्मक कार्यक्रम चल्दै थियो। बाहिरका मानिस आएर हल्ला गर्न थाले’, मन्त्रालयका एक कर्मचारीले भने, ‘सचिवज्यूमाथि दुरव्यवहार हुँदा उहाँ निस्किनु भयो।’
नयाँ सचिव आउने थाहा पाएपछि मन्त्री साहले स्वकीय सचिव नवनित झामार्फत मानिसहरु बोलाएर हल्ला गर्न लगाएको एक कर्मचारीले आरोप लगाए।
‘सचिव काफ्लेलाई हाजिर हुन नदिन र उनलार्ई समर्थन गर्ने कर्मचारीलाई दुरव्यवहार गर्ने नियतले झाले नै ती युवालाई मन्त्रालय बोलाएका थिए’, नाम नभन्ने शर्तमा ति कर्मचारीले भने, ‘आफू निकटका मानिसको पहिचान हुन नदिन सीसीटीभी समेत बन्द गराएको थियो। हामीले सीसीटिभी फुटेज खोज्दा मात्र थाहा भयो।’
मन्त्रीका स्वकीय सचिवले नै सचिवको कार्यकक्षमा ताला लगाएर हाजिरी रजिष्टर सचिवालयमा लगेकोसमेत खुलेको छ। मन्त्री साह मन्त्रालयका उप–सचिव शंकर साहलाई निमित्त सचिव बनाउने प्रयासमा छन्। मन्त्री साहले सचिव काफ्लेलाई कुनै हालतमा हाजिर हुन नदिने गरी यो सबै नाटक गरेको आरोप कर्मचारीको छ।
कृषि ज्ञान केन्द्र धनुषामा समेत कार्यरत साहलाई मन्त्री साहले कृषि मन्त्रालयको खाद्य सुरक्षा महाशाखाको जिम्मेवारी समेत दिएका छन्। निमित्त सचिव विजय महतोलाई हटाएर उनले शंकरलाई निमित्त सचिव बनाउन पहिलादेखि नै प्रयास गरिरहेका भए पनि सफल भएका छैनन्।
समान्य प्रशासन मन्त्रालयले पठाएको कार्यालयमा जानैपर्ने भएकाले विधिसम्मत तरिकाले मन्त्रलायमा हाजिर हुन आएको सचिव काफ्लेको भनाइ छ। सचिव काफ्लेले यो विषय आफूले प्रमुख सचिवलाई जानकारी गराएको बताएकी छन्।
‘हाजिर नहुँदा मन्त्रालयले किन नखटेको प्रश्न गर्नेछ ? यहाँ हाजिर हुन दिइराखेको छैन्। प्रमुख सचिव र मन्त्रीलाई म आउन लागेको कुरा पहिल्यै भनिसकेको थिएँ’, सचिव काफ्लेले अन्नपूर्णसँग भनिन्, ‘त्यो बेला उहाँले नआउनुहोस् भन्नु भएन । मेरो सरुवा नै रोकेको भए म आउने थिइन्।’
सचिव काफ्लेले हाजिर हुन नदिएको कारण आफूले थाहा नपाएको बताइन्। ‘के कारणले मलाई हाजिर हुन नदिएको हो मलाई भन्नु प¥यो’, उनले भनिन्, ‘मन्त्रालयमा मन्त्रीले कर्मचारीलाई पाखा लगाएर आफूखुसी काम गर्न त मिल्दैन होला ! तर, म ती कुरा जान्दिन।’
सचिवसँगको विवादपछि मन्त्री साहले समाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘म जनादेशको पालना गर्छु, होइन भन्ने जिम्मेवारी छोडछु। म कसैको आदेश पालक होइन्।’