डलर देखाएर रकम लुटपाट गर्ने पाँच जना पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले अमेरिकी डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने समूहका ५ जनालाई नियन्त्रणमा लिएको छ।
भक्तपुरका विभिन्न ठाउँबाट अमेरिकी रुपैयाँ डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने उनीहरुलाई भक्तपुर प्रहरीले शुक्रबार जिल्लाको मध्यपुर थिमि नपा ९ बोडेबाट नियन्त्रणमा लिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोकको बार्हबीसे नपा ३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नपा १ ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ, सिन्धुपाल्चोकको बार्हबीसे नपा ६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीया कान्छी तामाङलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले बिहीबार भक्तपुरका सूर्यविनायक नपा २ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने एक व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैयाँ लुटी फरार भएको घटनामा संलग्नहरुको खोजतलास गर्ने क्रममा शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
उनले शुक्रबार आठ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि तीनजना लुटपाटमा संलग्न नभएको अनुसन्धानमा देखिएपछि शुक्रबार नै रिहा गरिएको बताए।
उनका अनुसार उनीहरुको साथबाट २ लाख ४२ हजार ९ सय ३५ नेपाली रुपैयाँ, विभिन्न कम्पनीका ५ थान मोबाइल, २ वटा मोटरसाइकल र डलर भनी झुक्याउन तयार गरिएको कागजको बिटो २ बण्डल बरामद गरिएको छ।
उक्त समूहले भक्तपुरको मध्यपुर थिमि नपाका चार ठाउँमा २१ लाख ८० हजार लुटपाट गरिसकेको प्रहरी अनुसन्धानको क्रममा पत्ता लागेको छ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार उक्त समूहले गएको साउन ८ गते मध्यपुर थिमि नपा ९ बोडेबाट ३ लाख, साउन १९ गते मध्यपुर थिमि नपा ५ बाट ४ लाख, भाद्र ३१ गते मध्यपुर थिमि नपा २ बाट ५ लाख रुपैयाँ लुटपाट गरेको थियो।
त्यस्तै असोज ६ गते मध्यपुर थिमि नपा ९ बोडेबाटै ९ लाख ८० हजार रुपैयाँ लुटापाट गरेको अनुसन्धानको क्रममा खुल्न आएको उनी बताउँछन्।
अन्तिम पटक बिहीबार सूर्यविनायक नपा २ बालकोटबाट ५ लाख रुपैयाँ लुटपाट गरी फरार रहेका उनीहरु शुक्रबार प्रहरीको फन्दामा परेका छन्। प्रहरी नायब उपरीक्षक गिरीले उक्त लुटपाटमा संलग्न भई फरार अन्य व्यक्तिहरुको खोजतलास भइरहेको बताए।