स्कुल : तनावको थेरापी

स्कुल : तनावको थेरापी

अमेरिकी हिप्पीहरू पश्चिमी आधुनिकताको मोहबाट मुक्त भएर हिमशृंखला र दक्षिण एसियामा पाइने आध्यात्मिकता, अन्तरज्ञानवाद र ब्रह्मवादको खोजीमा नेपाल आउने क्रम बढ्दै थियो। कहिले स्वयम्भूमा हिप्पीहरूले नग्न रूपमा सांस्कृतिक कार्यक्रम गर्दैछन् भन्ने खबर पाइन्थ्यो त कहिले वसन्तपुर हुँदै झोंछेसम्मको ‘फ्रिक स्ट्रिट’मा रासलीलामा मग्नमस्त भई हिँडिरहेको।


स्कुलमा मित्रहरूको साथ पाउँदा एक्लोपनाको बोझ हट्थ्यो। ७ कक्षाका गौतमलाल प्रधान, रामप्रताप थापा, श्यामकृष्ण श्रेष्ठ, तेजप्रसाद सिग्देल, रमेश भट्ट, श्रीराम लामिछाने, हरिप्रसाद पाण्डे, प्रतापसिंह प्रधान, रघु वन्तलगायत साथी मसँग अति मिल्थे। यो समूहमा पनि अहिलेको राजनीतिक पार्टीमा जस्तो गुटउपगुट थिए। तर, हाम्रो उपगुटको प्रादुर्भाव असमझदारी बढेर अथवा राजनीतिक विचारधाराले प्रेरित भएरभन्दा आआफ्नो सोखसँग नजिकिने साथीबीचको समझदारीमा बनेको थियो। सिनेमा सँगै हेर्न इच्छा गर्ने भएकाले गौतम र श्याम एउटा समूहमा थिए। साहित्य लेखनमा रुचि भएकाले रामप्रताप र म अर्को समूहमा थियौं। गौतमहरू पाटनमा गुरुदत्तको ‘भरोसा’ फिल्म हेरेर आएको कुरा गर्थे। राम र म भने हाम्रो नयाँ कथा कस्तो हुन्छ होला भनेर कुरा गथ्र्यौं। र साथीलाई सुनाउँथ्यौं। 

एकपटक राम र मबीच दुई जनाकै नामले कथा लेख्ने समझदारी भयो। त्यसबेला एउटा प्रयोग नै थियो। कथावस्तु जसले पहिले सिर्जना गर्छ, कथामा उसकै नाम पहिले हुने सहमति। कथाको परिकल्पना प्रस्तुत गरें। मेरो नाम अघि र रामको नाम पछि राखियो। हाम्रो नामलाई छोटो र आकर्षक बनाउन सुरु र बीचको पहिलो शब्द टिप्न थालियो। त्यसैअनुसार इन्टरमिडियट पढ्ने बेलासम्म विश्वम्भरनाथ प्याकुर्‍याल लेख्थेँ। पछि विना प्याकुर्‍याल बनाएँ। रामप्रताप थापाले पनि राप्र थापा लेखे। त्यो प्रयोगात्मक कथाको शीर्षक गर्भ थियो। गर्भ २०२१ सालमा इन्दुकान्त शर्माले सम्पादन गरेको आरती पत्रिकामा छापियो।

नामका कारण कथा चर्चित भयो। केटीकेटा मिलेर लेखेकाले शीर्षक उपयुक्त भएको टिप्पणी सुनियो। तर, यो सामूहिक प्रयास धेरै समय टिक्न सकेन। मलाई पनि इमेज महिलाका रूपमा प्रस्तुत गर्न त्यति इच्छा लागेन। स्कुलमै पनि हामीले स्टेन्सिलमा लेखेर साइक्लोस्टाइल गरी यदाकदा साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका थियौं, सम्पादक अर्जुननरसिंह केसी र म सहसम्पादक। साहित्यमा रुचि राख्ने विद्यार्थी र शिक्षकबीच पत्रिका प्रिय थियो। स्कुलको आर्थिक सहयोग गर्ने क्षमता त्यति नभएकाले सीमित प्रति मात्र प्रकाशनमा ल्याउँथ्यौं। स्कुलमा विभिन्न किसिमका साथी थिए। फस्ट ब्वायले कोलम्बो प्लानमा नजाउन्जेल जुत्ता र पाइन्ट लगाएनन्। सेकन्ड ब्वाय शुक्रबार ससुराली बस्दै गरेर जाने हुनाले आफ्नो गाउँबाट ल्याएको तरकारी र खत्र्याकखुत्रुकको पोका बनाएर कक्षाको दराजमा राख्थे। बालविवाह सामान्य लाग्थ्यो। ७ देखि ९ कक्षासम्म आइपुग्दा ३० प्रतिशतसम्मले बिहे गरिसक्थे।

स्कुलमा अध्यापन गराइएका कुनै पनि विषय मलाई कठिन लागेनन्। स्कुल सञ्चालक समिति गठन गरिए पनि त्यस बेलासम्म परीक्षा लिने, प्रश्नपत्र छपाउन बनारस जानेदेखि स्कुल सञ्चालनका धेरैजसो जिम्मेवारी काकाले नै लिनुहुन्थ्यो। छापेर ल्याइएका प्रश्नपत्रसमेत घरमै राखिन्थे। यसरी व्यवस्थापनका सबै गतिविधिमा आफ्नो प्रत्यक्ष संलग्नता रहेकाले मैले उच्चतम अंक ल्याएँ भने जानीबुझी आफ्नो मान्छेलाई परीक्षामा राम्रो श्रेणी दिलायो भन्ने आरोप लाग्न सक्छ भनेर काकाले मलाई एसएलसीको टेस्ट परीक्षासम्म थर्ड ब्वाय बनाउनुभयो। फस्ट ब्वायको ६०० हुँदा दोस्रोको ५९९ र मेरो ५९८ हुन्थ्यो। स्कुल पढ्दाताका माथिल्लो सीमा तेस्रो स्थान भयो। स्कुलमा साथीको दायरा विस्तारित हुँदै गयो। बिस्तारै काठमाडौंको वातावरणमा घुलमिल हुँदै गएँ। धेरै कुरा सजिलो लाग्न थाल्यो। मेरो व्यवहारमा पनि धेरै परिवर्तन आए। त्यसमा पनि आक्रामकताभन्दा रक्षात्मक चरित्र विकास भयो।

सन् १९६० को दशक। कलेजको अध्ययन। अमेरिकी हिप्पीहरू पश्चिमी आधुनिकताको मोहबाट मुक्त भएर हिमशृंखला र दक्षिण एसियामा पाइने आध्यात्मिकता, अन्तरज्ञानवाद र ब्रह्मवादको खोजीमा नेपाल आउने क्रम बढ्दै थियो। कहिले स्वयम्भूमा हिप्पीहरूले नग्न रूपमा सांस्कृतिक कार्यक्रम गर्दैछन् भन्ने खबर पाइन्थ्यो त कहिले वसन्तपुर हुँदै झोंछेसम्मको ‘फ्रिक स्ट्रिट’मा रासलीलामा मग्नमस्त भई हिँडिरहेको। स्कुल छाड्ने बेला हुँदै थियो। किशोरावस्थाबाट कोल्टे फेर्दै थियौं। रमाइलो भनेकै चाडबाड मनाउने, जात्रा हेर्ने। पारिवारिक भोजभतेर गएर कहिलेकाहीँ मन्दिर जानु ठूलो कुरा हुन्थ्यो। खाजा नखाई नखाई जम्मा गरेको पैसाले सिनेमा हेर्नु दिग्विजय गरेजस्तो हुन्थ्यो।

एक दिनको कुरा हो, बहिनीसँग कक्षा ९ मा पढ्ने केटीलाई बहिनीकै माध्यमबाट सँगै सिनेमा हेर्न जान मञ्जुर गराएँ। त्यो दिन खुसीको सीमा थिएन। भाइ आउने खबरभन्दा पनि उनी आउने पक्का भएकाले म धेरै खुसी। पैसा थिएन तर अहिले पैसा छैन, अर्कोपटक जाऊँला भनेर अवसर गुमाउन चाहन्नथें। लाजै नमानी बहिनीलाई तिनै युवतीसँग टिकटको पैसा माग्न पठाएँ। सिनेमा हेरेको पैसासमेत तिर्न नसकेकोमा हीनताबोध कति भयो कति ? फर्किंदा ती युवतीसँग सायद तीनचारपटक बोलेँ होला। त्यत्तिले पनि अपार आनन्द आयो।

काठमाडौं अदूषित, सानो र व्यवस्थित सहर थियो। धेरै समय ठमेलमै बस्यौं। केशरमहल क्षेत्रमा अहिलेका सार्कको सेक्रेटरियट, सञ्चयकोष बिल्डिङ, बैंक, पसल केही थिएनन्। सानोतिनो जंगलजस्तै झाडी थियो। केशरमहलको झाडी छिचोलेर निस्किएपछि भने जहाँसुकै जान सजिलो थियो। जय नेपाल हलमा सिनेमा हेर्न जाँदा अर्के मज्जा हुन्थ्यो। केशरमहल पार गर्नासाथ दरबारको कम्पाउन्डसँगैको सुरुङबाट हल पुगिन्थ्यो। दौडिँदै सुरुङबाट निस्किएपछि साहसी काम गरेजस्तो हुन्थ्यो। दरबारमार्ग बनेकै थिएन।

नारायणहिटीको दक्षिणमा रहेको फोरा दरबारमा अमेरिकी दूतावास थियो। कान्तिपथ क्षेत्र रमाइलो थियो। फोरा हाम्रा लागि महत्वपूर्ण थियो। त्यहाँ हाजिरिजवाफ प्रतियोगिता, विभिन्न विद्वान्का प्रवचनलगायत कहिलेकाहीँ सिनेमा देखाइन्थ्यो। जनक दाइको भिटो लगाएर धेरैपटक अंग्रेजी सिनेमा हेर्न गएको छु। पैसा नहुँदा पनि स्कुल पढ्दाताका हामीले अभावलाई जितेका थियौं। त्यस बेला केही साथी वित्तीय व्यवस्थापन गर्न माहिर थिए। नगण्य पैसाले पिकनिक जाने, सिनेमा हेर्ने, क्यामेरा जुटाएर उठेको पैसाले रिल किनेर फोटो खिचाउने गथ्र्यौं। कान्तिपथको श्री हलमा सिनेमा हेर्न जाँदा ब्रिटिस काउन्सिलको अगाडि (अहिले निर्वाचन आयोग भएको ठाउँ) रोयल होटल थियो। त्यतैतिरबाट जानुपथ्र्यो। रोयलमा गएर केही खान पाए भन्ने इच्छा थियो। भाग्यवश होटल बन्द हुनुअघि एकपटक मामा अनिल शर्माका साथी म्यानेजर भएका बेला मलाई लन्च खाने अवसर मिल्यो। त्यो क्षण मेरा लागि झन्डै चार दशकअघि अमेरिकाको पेन्सिलभेनिया बस्ने चिनेका नेपालीले म्यानह्याटन, न्युयोर्कको ठूलो रेस्टुराँमा पहिलोपटक लन्च खुवाएको दिनजस्तो लाग्छ।

रोयलको ढोकामै भाडामा दिइने घोडाको तबेला थियो। महिनौं दिनको खाजा खर्चबाट पैसा जोगाएर घण्टाको १० रुपैयाँ तिरी भाडामा घोडा लिएर घुम्न पनि गएका छौं। फाइलेरिया भन्ने रोगले सुन्निएको गोडा भएको मिस्सी (घोडा) भने घण्टाको आठ रुपैयाँमा पाइन्थ्यो। ब्रिटिस काउन्सिलमा हप्तामा एकपटक पुराना लोकप्रिय अंग्रेजी सिनेमा हेर्न पाइन्थ्यो। फिल्म हेर्न जाँदा ब्रिटिसहरूले हामीलाई तलदेखि माथिसम्म हेर्थे। सफा अनुहार, चिटिक्क पारेर कोरेको कपाल अनि इस्त्री लगाएको सुकिलो लुगा पहिरेर गम्भीर भएर बसियो भने ‘ओके, यू गो अप’ भनी सिनेमा हेर्न माथि पठाउँथे। तर, अलि कलिलो, सानो कद भएको र खुजमुजिएका लुगा लगाएको मान्छे छ भने ‘कम नेक्स्ट टाइम’ भनेर पठाइदिन्थे।

तिनताका पाटनमा अशोक हलमा सिनेमा हेर्न जाँदा पाटनढोका पुग्न र नयाँ सडक फर्कन टिकटबाहेक बस सेवाका लागि थप पाँच आनाको टिकट किन्नुपथ्र्यो। अधिकांश साथी ठमेलबाट महाराजगन्जको बीचमा बस्ने भएकाले हामीले पाटन जाँदा अक्सर २० पैसाको टिकट काट्ने गरेका थियौं। एसएलसी सकिएपछि हामी सबैजना अशोक हलमा दुईपटक विश्राम लिएर देखाइएको राज कपुर, राजेन्द्र कुमार र वैजयन्ती माला अभिनीत ‘संगम’ सिनेमा हेर्न गएका थियौं। चारपाँचजना साथीसँग कुरा मिल्यो भने भक्तपुर पनि पुग्थ्यौं। भक्तपुर बस चढेर गइन्थ्यो तर फर्कंदा हिँड्नु पथ्र्यो। खाजा खान पाएको पैसा महिना दिन जोगाउँदा त्यो टिकटमै सकिन्थ्यो। बाँकी रहिहाल्यो भने एक कप चिया पिउँदा सकिइहाल्थ्यो। त्यसैले एक त भीडले बस चढ्न मुस्किल, अर्कोतिर हाम्रो गरिबी। केही घनिष्ठ साथीसँग पैसा भइरहने भएकाले इच्छा कुनै न कुनै किसिमले पूरा हुन्थे।

काठमाडौंको संरचना, सांस्कृतिक, सामाजिक, धार्मिक प्रचलन एवं मान्यता अनौठा थिए। सात बज्दा सहर सुनसान हुन्थ्यो। सडक त्यसै पनि अन्धकार, अर्कोतिर बत्तीको पावर २२० भोल्ट नभएर १२० को हुने गथ्र्यो। परीक्षाका बेला टुकी बाल्नुपथ्र्यो। त्यसताका कहिलेकाहीँ राति ११÷१२ बजे महिला एक्लैएक्लै हिँड्दा पनि सुरक्षित महसुस गर्थे। काठमाडौंको यो शान्ति अन्य मुलुकमा पनि चर्चाको विषय हुन्थ्यो। प्यागोडा शैलीका मन्दिर, व्यवस्थित बस्ती, टोलटोलमा भजनमण्डली, वातावरणीय सन्तुलन, प्रत्येक महिना, प्रत्येक ऋतु, प्रत्येक चाडबाडमा कुनै न कुनै जात्रा, विभिन्न स्थानमा टोलकेन्द्रित, महिनाकेन्द्रित, मौसमकेन्द्रित संगीतको गुञ्जन, प्रत्येक टोलमा स्थानीय समुदायको सामूहिक एकात्मकता आदि साँच्चै अनुकरणीय विषय थिए।
त्यसताका पुनर्निर्माण नभएको पुरानै रंगशालामा भक्कुलाई राँगो दिने चलन थियो। रक्सी खुवाइएको मान्छे र राँगाको भिडन्त हेर्न एक सुकाको टिकट काटेर जान्थ्यौं। एकपटक डरले पूरा नहेरीकनै म ठमेल फर्किएँ। त्यो भिडन्त स्पेनमा हुने बुलफाइटजस्तै हुन्थ्यो। २०१८÷१९ सालतिरको कुरा हो। कहिलेकाहीँ प्रदर्शनी लाग्थ्यो, कहिले भारतका दारा सिंह र पाकिस्तानका अकरमहरूको कुस्ती पनि हेर्न पाइन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.