१९ तोपको सलामी

१९ तोपको सलामी

जनता सिंहलाई लौहपुरुष मान्थे। निडर र अटल रही बिनाहिच्किचाहट दृढ भएर विरोधीमाथि गर्जने बेला एकत्रित भीड जोशले बुरुक्क हुन्थ्यो। अर्को क्षणमै आफ्नो तीक्ष्ण मतिले ती विरोधीउपर ठट्यौलीपूर्ण कटाक्ष प्रहार गर्दा श्रोतावर्गमा हाँसोको फोहोरा फुट्थ्यो। प्रजातन्त्रविरोधी वा बर्खिलापमा जाने जोकोही उनका विरोधी थिए। श्रोतादीर्घाबीच उनका त्यस्ता विरोधी बसेका भए जनरापबाट बच्न उनीहरू पनि सँगसँगै हाँस्ने गर्थे।


१९ सेप्टेम्बर १९९७। कर्णदीप, शोभा भगवती, करिब २०:१५ बजे

अन्धकारमा १९ तोपको सलामी अन्तिमपटक ढ्यांग पड्केसँगै नेपाली इतिहासको एक कालखण्ड सदाका लागि बन्द भयो। यो शोकाकुल राष्ट्रले सर्वमान्य नेता गणेशमान सिंहप्रति अर्पण गरेको अन्तिम श्रद्धाञ्जली थियो। ठूलो संख्यामा सरिक मलामी जसोजसो नेपालको राजधानी काठमाडौंका साँघुरा गल्ली, बाटोहरूमा बिस्तारै अगाडि बढ्ने क्रम होस् या फराकिला सडकमा पुग्दा होस्; ‘वीर गणेशमान अमर होस्’ को नारा घन्किरह्यो। शव यात्रा निकाल्ने बाटो निर्धारण गर्दा प्राचीन मान्यताले निर्दिष्ट काठमाडौं सहरका स–साना बाटा र विस्तारित सहरको आवश्यक ठानिएका केही फराकिला सडकसमेत सामेल गरिए। यसले ऐतिहासिक घटनाक्रमको निरन्तरता एवं परिवर्तनलाई प्रतिविम्बित गरिरहेको थियो भने देशवासीलाई मध्यकालबाट आधुनिक युगमा धकेल्न उनले आजीवन गरेको प्रयासको प्रतीकसमेत थियो।

समवेदना सन्देशमा श्री ५ वीरेन्द्रले मुक्तकण्ठले प्रशंसा गर्दै सिंहलाई ‘प्रजातन्त्रका साधक’ भनी हुकुम बक्सेको थियो। सायद प्रधानमन्त्री पद ग्रहण गर्ने प्रस्ताव राख्दा शिष्टतापूर्वक उनले अस्वीकार गरेको त्यो क्षणको स्मरण राजालाई ताजा भएको हुनसक्छ। नेपालको राजनीतिक इतिहासमा यस्तो प्रस्ताव कहिल्यै कसैले अस्वीकार गरेका थिएनन्। वास्तवमा गणेशमान सिंहले प्रधानमन्त्री पदकै चाहना राखेको भए श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रको शासनकालमै प्राप्त भइसक्थ्यो होला। त्यसैले श्री ५ वीरेन्द्रले आफ्नो सरकारलाई गणेशमान सिंहको अन्त्येष्टिमा बहालवाला प्रधानमन्त्रीभन्दा उपल्लो दर्जाको सम्मान प्रदान गर्ने हुकुम बक्सेको थियो। अत: शाही सेनाको एक डफ्फाको रजत बाजाले ‘हरे राम, हरे राम’ को शोक धुन बजाउँदै र प्रमुख सेनानीको नेतृत्वमा उल्टो शस्त्र भिरेका दुई गुल्म शाही सेनाले मलामीलाई घाटसम्म गारद प्रदान गरेको थियो। पार्थिव शरीरलाई अग्निले अनुग्रहण गर्दाको बेला १९ तोपको सलामीको गडगडाहट नवमण्डलमा फैलिएको थियो।

नेपालको इतिहासमा एक सर्वसाधारण नागरिकलाई राष्ट्रबाट प्रदान गरिएको यो नै प्रथम अपूर्व उच्च सम्मान र श्रद्घाञ्जली थियो। शवयात्रामा मलामीको ताँती देखेको भए सायद गणेशमान स्वयं पनि आनन्दमयी आश्चर्य मान्थे होला। शवयात्रामा असंख्य जनता स्वतस्फूर्त सरिक भए भने सडकको दायाँबायाँ र शवयात्राको बाटोमा पर्ने प्रत्येक घरका बरन्डा, झ्याल, ढोका, छाना, मठमन्दिर, छहारी, पार्क, डबली र रूख जताततै असंख्य जनसमुदाय उनको पार्थिव शरीरलाई अन्तिम बिदाइ दिन पर्खिबसेका थिए। वास्तवमा भन्ने हो भने आफ्नो प्यारो नेताको पार्थिव शरीरको एक झलक पाउन सकिने जुनसुकै स्थानमा मानिस पर्खिबसेका थिए। पार्थिव शरीर सेनाको ट्रकमा सजाइएको मृत्यु शय्यामाथि चिरनिद्रामा लीन थिए, गणेशमान।
०००
देशवासीले सिंहप्रति दर्शाएको श्रद्धा यही नै पहिलो अवसर भने पक्कै पनि थिएन। रोमाञ्चपूर्ण जीवनकालमा धैरैपटक, चाहे विजयोल्लासमा होस् वा हन्डरको बेला होस्, उनी जब–जब जनताबीच पुग्थे, सद्भावपूर्ण जनभीड लाग्थ्यो। उनका कथनहरू सुन्न र अभिवादन गर्न पनि भीड उर्लिने गथ्र्याे। जनताका लागि सिंह के थिए ? उनका लागि देशवासी के थिए ? जीवनको सन्ध्याकालमा आइपुग्दा उनी भन्ने गर्थे, ‘म जनताबाट शक्ति सञ्चय गर्दै उनीहरूको आकांक्षालाई वाणी दिने गर्छु।’ जनता सिंहलाई लौहपुरुष मान्थे। निडर र अटल रही, बिनाहिच्किचाहट दृढ भएर विरोधीमाथि गर्जने बेला एकत्रित भीड जोशले बुरुक्क हुन्थ्यो। अर्को क्षणमा नै आफ्नो तीक्ष्ण मतिले ती विरोधीउपर ठट्यौलीपूर्ण कटाक्ष प्रहार गर्दा श्रोतावर्गमा हाँसोको फोहोरा फुट्थ्यो। प्रजातन्त्रविरोधी वा बर्खिलापमा जाने जोकोही उनका विरोधी थिए। श्रोतादीर्घाबीच उनका त्यस्ता विरोधी बसेका भए जनरापबाट बच्न उनीहरू पनि सँगसँगै हाँस्ने गर्थे।
नेपालीका ‘सर्वमान्य नेता’ थिए, गणेशमान सिंह। अन्य नेताभन्दा शिखरमा उठी उनले सबै दललाई एकै थलोमा ल्याएर संयुक्त मोर्चा गठन गर्ने सहमति गरे। सिंहले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका लागि भएको २०४६ सालको ऐतिहासिक अहिंसात्मक जनआन्दोलनमा वामपन्थी दलहरूसमेतलाई आपूm र आफ्नो पार्टीसँग कार्यगत एकतामा सरिक गराए। जब कि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र भन्ने कुरा वामपन्थी सिद्धान्तबाहिरका कुरा थिए।

उनलाई सबैले ‘वीर गणेशमान’ भन्छन् किनकि उनका पराक्रमहरू विक्रान्तकारी हुन्थे। उनलाई ‘लोकनायक’ पनि भनिन्छ। उनले पटक–पटक भएका राजनीतिक परिवर्तनलाई नेतृत्व दिएकाले ‘क्रन्तिनायक’ पनि भनियो। परिवर्तनका संवाहक उनी आफूलाई ‘प्रजातन्त्रको वाचडग (पहरेदार), गार्डियन एन्जल’ मान्थे।
०००
किशोरावस्थामा टोलछिमेकका साथीभाइसँग खेल्दा स्थानीय पाका व्यक्तिहरू उनलाई सम्झाउने पारामा जिब्रो टोक्दै भन्थे, ‘काजी त्यत्रो उच्च खानदानको चिराग भएर पनि यसरी गुच्चा खेलेर बस्ने ? के सरदार वा काजी नबन्ने ?’ जवाफमा उनी नकार्दै टाउको हल्लाउँथे। ‘त्यसो भए के गर्नुहुन्छ त ?’ भन्दा ‘म जनताको सेवा गर्छु’ भन्ने उनको गर्विलो जवाफ हुन्थ्यो। ‘त्यो के भन्न खोज्नुभएको ?’ भनी उनीहरू कौतूहलपूर्ण जिज्ञासा राख्थे। तर जवाफ पाउँदैनथे। किनकि त्यस बेला स्वयं गणेशमान आपैंmलाई जनसेवाको वास्तविक अर्थ थाहा थिएन। ‘के जनसेवा भनेर, गरिबगुरुवालाई खानलाउन दिने भन्न खोज्नुभएको हो ?’ भनी उनीहरू सिंहलाई हौस्याउँदै उत्प्रेरित गर्थे। सिंहले बडो गम्भीरता एवं गर्वका साथ हुँकार्दै हो भनेर टाउको हल्लाउँथे।
बडा काजी रत्नमान सिंहका कान्छा भाइ खरदार हरिमान सिंहका पुत्र, मुलकी सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीको गर्भबाट विसं १९७२ कात्तिक २४ गते काजी खानदानकै प्रथम पुत्रका रूपमा उनको जन्म भएको हो।

पितामह खरिदार हरिमान सिंह र पिता मूलकी सुब्बा ज्ञानमान सिंहको ३० वर्षको अल्पायुमै स्वर्गारोहण भएको थियो। यस कारण बडा काजीको काँधमा घरमूली एवं राजकाज मामिलाको अभिभारा एकैसाथ आएको थियो। डिट्ठा जितमान सिंहका जेठा छोरा रत्नमान चौध वर्षको कलिलो उमेरमै गोश्वरा विभागको नौसिन्दा पदबाट नोकरी  पेसामा प्रवेश गरेका थिए। त्यस्तो मामुली स्तरको नोकरी प्रारम्भ गरी विशुद्ध लगनशील एवं कठोर परिश्रमका साथ कार्य गर्दै माथिल्लो ओहदासम्म पदोन्नति भएका थिए। सम्भवत: पिता, डिट्ठा (अदालतको न्यायाधीश) भएका कारण सरकारी सेवामा पदोन्नति हुन सजिलो भएको थियो। तर, उनी स्वयं पनि २५ वर्षको उमेर पुग्दानपुग्दै डिट्ठाको ओहदामा पुग्न सफल भएबाट उनले आफ्नो योग्यता प्रमाणित गरिसकेका थिए। सरकारी सेवामा प्रवेश गरेको ३५ वर्षपछि उनी सरदार ओहदामा पदोन्नति भएका थिए। त्यसको आठ वर्षपछि अर्थात् ५६ वर्ष हुँदा उनी काजी पदमा पदोन्नति भए। त्यस ओहदामा बहाली भएको केही वर्षभित्रै देशको तत्कालीन शासकको सेवामा हाजिर भएर प्रतिवेदन टक्य्राउने गहन जिम्मेवारी थपियो। निरन्तरको सेवा र क्षमताका कारण ७४ वर्षको उमेरमा निजामती सेवातर्पmकै सर्वोच्च ‘बडा काजी’ पदले उनलाई सुशोभित गरियो। पदीय गरिमाअनुसार नेपाली शाही सेनाको ‘पुरानो गोरख गण’ तर्पmका एक गुल्म सेना उनको सेवामा खटाइयो।

समाजमा उनको यश, प्रारब्ध, इज्जत प्रशस्त बढ्यो। तथापि बडा काजीमा एक्लोपन आएको थियो। उनका कान्छा भाइ खरिदार हरिमान सिंहको अल्पायुमै निधन भएको थियो। जेठा भतिजा मुलकी सुब्बा ज्ञानमान सिंह पनि ३० वर्षको अल्पायुमै बिते। उनीप्रति बडा काजीको ठूलो आशाभरोसा थियो। आफ्ना छोराहरू सरदार गुञ्जमान सिंह र मीर सुब्बा तीर्थमान सिंह दुवै उच्च ओहदामा पुगेकाले उनको दु:ख केही मत्थर भएको थियो। अप्ठ्यारो राजनीतिक परिवेशमा सरदार गुञ्जमान सिंह राजा महेन्द्रको प्रमुख सल्लाहकार भए। त्यसपूर्व २००७ सालमा भएको प्रजातन्त्रको प्रादुर्भावसँगै उनी संसद्को सचिवमा कार्यरत थिए। ८४ वर्षमा बडा काजीको स्वर्गारोहण हुँदा उनले अर्थमन्त्रीको कार्यभार सम्हालिरहेका थिए। उनको निधनमा सरकारी कार्यलय आधा दिन बन्द गरी उनको सम्मान गरिएको थियो।

सुभद्राकुमारी, जसलाई वात्सल्यतामा सानु नानी भनी बोलाइन्थ्योे, एक सम्भ्रान्त नेवार परिवारकी छोरी। उनका पिता पूर्णमान सिंह श्रेष्ठ र माता भुन्टीदेवी विशुद्ध नेवार समुदायका हुनाले देवीदेवताप्रति गहिरो श्रद्धा थियो। उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न देवालयको मर्मतसम्भार, शृंगारपटार गराउँथे। देवालयहरूको मर्मतसम्भारका लागि समेत प्रशस्त जायजेथाको व्यवस्था मिलाएका थिए। ती दम्पतीले गरेका त्यस्ता भावभक्तिपूर्ण कीर्तिमध्ये स्मरणीयमा भद्रकाली माईलाई चढाइएको सुनको जलपको चँदुवा अझै छँदै छ। गुह्येश्वरी मन्दिर परिसरभित्रको खाल्डो वरिपरिका खम्बाहरूमा सुनको जलपसहितको ताम्रपाताले मोडी शृंगार गराएको र साँखुस्थित बज्रयोगिनी देवीमा चढाइएको सम्पूर्ण आभूषण आदि विशेष हुन्। सानुनानीको विवाह काजी घरानामा भएकोमा उनका बाआमा यसलाई दैवीय कृपा मान्थे। ठोस चाँदीको दण्डीमा सुनको गजुर रहेको तासको छातासहितको म्याना (पालकी) लिएर आएको जन्ती देखेर दुलही र उनको परिवारलाई काजीले गर्विलो बनाइदिएको तत्कालीन समाजले महसुस गरेको थियो भनी सानुनानी नातिनातिनालाई गर्व र सन्तुष्टिका साथ बारम्बार सुनाउँथिन्।

उनका पति ज्ञानमान सिंहलाई औलो र उच्च रक्तचापले एकैसाथ च्याप्दा उनी मात्र नभई कलिला छोराहरू भएका काजी पनि निकै मर्माहित भए। काजी परिवारको युवा पुस्तामा सबैभन्दा जेठो भतिजा ज्ञानमानबाट काजीले निकै आशा गरेका थिए। काजीकी जेठी विधवा बुहारी सुभद्राकुमारी नावालिग छोराहरू गणेशमान (हीरा काजी) र शंकरमान (मोती काजी) लाई हुर्काउने जिम्मेवारी आइलाग्यो। त्यसमाथि सासूआमाको कडा अनुशासन र अन्तरंगदेखि सनातनी दृढताका धनी काजीको निर्देशनपूर्ण रेखदखमा गृहस्थी सम्हाल्नुपर्ने अभिभारासमेत थपियो। माइतीतर्फको सम्पन्न पृष्ठभूमि र मातापिताबाट प्राप्त उच्च संस्कारले उनमा यथेष्ट आत्मविश्वास थियो। यसका कारण कठिन घडीका चुनौती निर्भीकताका साथ सामना गर्ने आत्मबल जागृत भयो। उक्त चारित्रिक शक्ति सन्तानमा जानु अवश्यम्भावी एवं प्राकृतिक नै थियो, जुन कुरा पछिका दिनमा छोरा हीरा काजीको चरित्रमा मनग्गे प्रतिविम्बित भयो।

आहा क्या जीवनी थियो ! जनसेवाको धमिलो स्वप्न बोकेका कलिलो बालकबाट प्रारम्भ भएर सोभैm अप्रजातान्त्रिक तानाशाही शासक र त्यस प्रणालीअन्तर्गतका सरकारहरूविरुद्ध क्रान्ति छेडी अन्तत: रैती प्रजालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउने क्रान्तिको नेतृत्व प्रदान गर्न पुगेका थिए, गणेशमान सिंह। उनलाई ‘सर्वमान्य नेता’ को सर्वोच्चता त्यत्तिकै दिइएको थिएन। जाति, सम्प्रदाय, धर्म एवं राजनीतिक आस्था सबैबाट माथि उठेर उनले सबैको सम्मान गर्थे। जीवनपर्यन्त गरेको संघर्षको कदर गर्दै उनलाई सन् १९९३ मा ‘संयुक्त राष्ट्रसंघ मानव अधिकार पुरस्कार’बाट सम्मानित गरिएको थियो। गणेशमान त्यस्तो उच्च अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुने प्रथम एसियाली मूलका नागरिक थिए। त्यसभन्दा अघि सन् १९९१ को ‘उथाँ शान्ति’ पुरस्कारबाट पनि उनी सम्मानित भएका थिए।

अहिले पनि अधिकांश विश्वसमुदाय नेपालबारे अनभिज्ञ छन्। अझ देशका कतिपय भाग नेपाली स्वयंसमेतका लागि नौलो छ। इसापूर्व पाँचौं शताब्दीमा चिनियाँ यात्रु हुवान त्सांगले गरेको नेपाल यात्राको वर्णनले नेपालबारे चिनियाँ राजप्रासादमा केही जिज्ञासा बढाएको थियो। इसापूर्व तेस्रो शताब्दीमा नेपाली ऊनको चर्चाले भारतको मौर्य राजप्रासादमा उत्सुकता जगाएको थियो। अठारौं शताब्दीको प्रारम्भतिर कापुचिन भिक्षुहरूको आगमन नै नेपाललार्ई पश्चिमेली संसारसँग जोड्ने प्रथम त्यान्द्रो बनेको थियो। अठारौं शताब्दीको मध्यतिर नेपालले इष्ट इन्डिया कम्पनीसँग सम्बन्ध कायम गरेको थियो। इस्वी १८१४ देखि १८१६ सम्म इस्ट इन्डियासँग भएको भीषण युद्धपश्चात् पश्चिमेली दुनियाँमा नेपालको चिनारी सशक्त रूपबाट भयो। विश्वयुद्धमा गोर्खालीले देखाएका विक्रान्तकारी पराक्रमबाट नेपालीको बहादुरीको पहिचान र सम्मानको लहर विश्वभर फैलियो।

इस्वी १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले गरेको विश्व शिखर सगरमाथाको कीर्तिमानी आरोहणपछि त वाहवाही र अन्य विश्वमा नेपालको पहिचान मनग्गे भयो। त्यसउप्रान्त विश्वको सर्र्वोच्च शिखर सगरमाथा, अन्य विश्व समुदायबीच नेपाल चिनारीको एक बिन्दु बन्यो। भन्ने नै हो भने अधिकांशको ज्ञान त्यतिमै सीमित थियो। केहीका लागि त्यो त केवल एक हेलिप्याड मात्र थियो। जहाँबाट ती जिज्ञासुहरू र विद्वत्वर्ग अन्वेषणका लागि यस प्राचीन राज्यको इतिहास, भूगोल, कला, संस्कृति र विकासको अध्ययन गर्ने गर्र्थेे। सगरमाथाभन्दा अगाडि अन्वेषण सुरु गरेका त्यस्ता विद्वान् र अन्वेषकमध्ये सिल्भान लेभी, कर्कप्याट्रिक, ह्यामिल्टन र ल्यान्डन पर्छन्। त्यसपछि अन्य धैरैले उनीहरूलाई पछ्याउँदै नेपालबारे विभिन्न विषयमा अनुसन्धान गरे, लेख लेखे। देशको लामो र कठिन प्रजातान्त्रिक यात्राबारे भने अधुरो र अपूर्ण जानकारी मात्र प्रस्तुत गर्ने काम भएको छ। प्राचीन देशका रैती प्रजा सार्वभौमसत्तासम्पन्न नागरिक बनेको परिप्रेक्ष्यमा पर्याप्त व्याख्या भएको पाइँदैन।

(२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर सर्वमान्य नेता गणेशमान सिंहको २३औं पुण्यतिथिमा प्रकाशित महेन्द्रमान सिंहद्वारा लिखित ‘फरएभर इनकम्प्लिट दी स्टोरी अफ नेपाल’को प्राक्कथनको नेपाली अनुवाद। )- अनुवादक : शिवलाल श्रेष्ठ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.