बालविवाह गर्ने दुई जोडी पक्राउ
दैलेख : बालविवाह गरेको आरोपमा दैलेख प्रहरीले ४ दिनमा चार जनालाई पक्राउ गरेको छ। बाल विवाह गरेको आरोपमा दुई जोडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले बताए।
गत भदौ १० गते दैलेखको नौमूले गाउँपालिकामा बाल विवाह गरेको भन्ने सूचनाका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नौमूलेबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नौमूले गाउँपालिका–३ द्धारीस्थित भविराम सुनारको घरमा विवाह गरी बसेको अवस्थामा फेला पारी शुक्रबार पक्राउ गरेको हो।
उनीहरुलाई हाल बाल विवाहसम्बन्धि कसुर (बालविवाह) मुद्धामा बाल निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान थालिनेछ।
त्यसैगरी डुङ्गेश्वर गाउँपालिका-४ अवलपराजुलका २७ वर्षीय पूर्णबहादुर बुढाले डुङ्गेश्वर गाउँपालिका –३ चौखडा बस्ने १५ वर्षीया बालिकालाई गत भदौ ३० गते विवाह गरेको भन्ने सूचनाका आधारमा दुवैलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई डुङ्गेश्वर गाउँपालिका –४ अवलपराजुलस्थित पूर्णबहादुर बुढाको घरमा विवाह गरी बसेको अवस्थामा फेला पारी गत मंगलवार पक्राउ गरेको हो।
प्रहरीका अनुसार कानुन बमोजिम जाहेरी दरखास्त लिई दुवै जनालाई विवाह सम्बन्धि कसुर (बालविवाह) मुद्धामा दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान थालिएको छ।