बैतडीमा कोरोनाले एकजनाको मृत्यु
बैतडी : भारतबाट फर्किएर घर जाँदै गरेको बेलामा बाटोमै मृत्यु भएका बैतडीका एक पुरुषमा कोरोना पुष्टि भएको छ। शनिबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पुर्चौडी नगरपालिका ३ का ३५ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
मृत भेट्टिएका पुरुषको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा पठाइएको थियो। भारतको बैंग्लोरबाट फर्केर घर जाने क्रममा ती पुरुष शुक्रबार अपरान्ह पुर्चौडीकै लामाधारमा मृत भेट्टिएका थिए। ५ दिन अगाडि बैंग्लोरबाट हिंडेका ती पुरुष बिहीबार गौरीफण्टा नाकाबाट नेपाल भित्रिएका बताइएको छ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। शव व्यवस्थापनको लागि हनुमानध्वज गुल्मको टोली जिल्लाबाट घटनास्थलतर्फ हिंडिसकेको उनले बताए। मृतकका १ श्रीमती र १ पाँच वर्षीय छोरा रहेका छन्।
ती पुरुषमा कोरोना पुष्टि भएसँगै बैतडीमा कोरोना कारण मृत्यु हुने ती व्यक्ति पहिलो बनेका छन्। जिल्लामा हालसम्म ४ सय २ जनामा संक्रमण पुष्टि भइसकेको छ।