भक्तपुरमा स्वाब परीक्षण गराएकामध्ये १६.२७ प्रतिशतमा संक्रमण
भक्तपुर : भक्तपुरमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गराउन स्वाब दिएकामध्ये १६.२७ प्रतिशतमा संक्रमण पुष्टि भएको देखिएका छ। यो संख्या समग्र नेपालको तुलनामा दोब्बरभन्दा बढी हो।
नेपालमा पीसीआर प्रविधिबाट कोरोना परीक्षण गराउन स्वाब दिएकामध्ये ७.२९ प्रतिशतमा मात्रै संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबारसम्म नेपालमा कूल ९ लाख ६८ हजार एकसय ८५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ। जुन कोरोना परीक्षण गर्न स्वाब दिनेको ७.२९ प्रतिशतमात्रै हुन आउँछ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट कोरोना परीक्षण गर्न भक्तपुरमा १० हजार ८ सय एक जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये शुक्रबारसम्म एक हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन १६.२७ प्रतिशत हो। कार्यालयका प्रमुख कृष्ण मिजारले शुक्रबारसम्म ६ हजार ४ सय २७ पुरुष र ४ हजार ३ सय ७४ गरी १० हजार आठ सय एक जनाको स्वाब संकलन गरिएको छ।
जसमध्ये शुक्रबारसम्म ९ सय ९५ जना पुरुष र ७ सय ६३ महिला गरी एक हजार ७ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनको भनाइ छ।
भक्तपुरका १७ पुरुष र ७ महिला गरी २४ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भइसकेको छ। त्यस्तै शुक्रबारसम्म ४ सय ४६ पुरुष र ३ सय ४८ महिला गरी ७ सय ९४ जना कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज भएको कार्यालय प्रमुख मिजारले जानकारी दिए।
उनका अनुसार शुक्रबारसम्म भक्तपुरमा कूल संक्रमितको ५४.८४ प्रतिशत अर्थात ९ सय ४० जना सक्रिय संक्रमित रहेका छन्। जसमा ५ सय ३२ पुरुष र ४ सय ८ महिला रहेका छन्।
एकसय ६९ स्वास्थ्यकर्मी र एकसय ७६ सुरक्षाकर्मी संक्रमित
भक्तपुरमा सर्वसाधारणसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत कोरोना भाइरस संक्रमित भएका छन्। स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरका एकसय ६९ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको थियो। जसमध्ये एकसय २८ महिला र ४१ जना पुरुष स्वास्थ्यकर्मी रहेका छन्। यहाँ नर्सहरु बढी संक्रमित भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजार बताउँछन्। त्यस्तै चिकित्सकसमेत संक्रमित भएका छन्।
भक्तपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। प्रहरीतर्फ जनपद र सशस्त्र प्रहरी र नेपाली सेना गरी भक्तपुरका एकसय ७६ जना सुरक्षाकर्मीहरुलाई कोरोना भाइरस संक्रमण भएको कार्यालय जनाएको छ। जसअनुसार एकसय ५९ पुरुष र १७ महिला रहेका छन्।
सुरक्षाकर्मीहरुमध्ये सबैभन्दा बढी भक्तपुरको महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरीहरुमा संक्रमण पुष्टि भएको थियो। त्यस्तै चाँगुनारायण नपा १ दुवाकोटस्थित सशस्त्र प्रहरीको गुहेश्वरी गणका सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको थियो।