नौसेना परिचालन गरेर तनाव सिर्जना नगर्न दक्षिणलाई उत्तर कोरियाको चेतावनी
प्योङयाङ : उत्तर कोरियाले नौसेना परिचालन गरेर तनाव सिर्जना नगर्न दक्षिण कोरियालाई चेतावनी दिएको छ। केही दिनअघि दक्षिणका मत्स्य अधिकारीको हत्या भएको क्षेत्रमा उनको शव खोजी कार्य भइरहेका बेला त्यस क्षेत्रमा नौसेनाको गतिविधि नबढाउन चेतावनी दिएको हो।
आइतबार उत्तर कोरियाले नौसेनाको गतिविधिका कारण त्यस क्षेत्रमा तनाव बढाउने बताएको हो।
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले शुक्रबार दक्षिणका अधिकारीको गोली हानेर मारिएको भन्दै माफी मागेका थिए। त्यसपछि दक्षिण कोरियाले त्यसबारे विशेष अनुसन्धान अगाडि बढाउन दबाब दिँदै आएको छ। उक्त अनुसन्धान दुबै पक्षको संलग्नतामा संयुक्त रूपमा हुनसक्ने दक्षिणले बताएको छ।
दक्षिण कोरियाली सेनाले उत्तरी सेनाले उक्त अधिकारीलाई मारेपछि जलाएको आरोप लाउँदै आएको छ। दक्षिण कोरियाका अनुसार सामुद्रिक सीमा नजिकै पहिले उनको शरीरमा तेल खन्याएर जलाइएको हो।
राज्य नियन्त्रित उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले आइतबार अधिकारीलाई उद्दृत गर्दै शव फेला पार्ने बित्तिकै दक्षिण हस्तान्तरण गर्ने बताएको छ। त्यस्तै समाचारमा उक्त घटना ‘भयानक मामला जुन हुनु हुँदैन थियो’ भनिएको छ। तर यस विषयलाई लिएर सीमा क्षेत्रमा दक्षिणी नौसेनाले सामुद्रिक सीमा नाघिरहेको साथै त्यसले तनाव बढाउने समाचारमा भनिएको छ।
‘हामी दक्षिणी पक्षलाई पश्चिमी समुद्रमा रहेको सैन्य सिमांकन रेखा क्षेत्रमा हुन थालेका सैनिक गतिविधिलाई तुरुन्त रोक्न आग्रह गर्छौँ त्यसले तनाव बढाउने काम मात्र गर्छ’, उत्तरले भनेको छ।