एकै मञ्चमा गुञ्जिए ५० देशका राष्ट्र गान
बागलुङ : राष्ट्रिय गानसहित विश्वयात्राको अभियानमा रहेका बागलुङका गायक रामजी नेपालीले एकै मञ्चमा ५० देशका राष्ट्रिय गान प्रस्तुत गरेका छन् । स्वास्थ्य सुरक्षासहित सिमित अतिथी, पत्रकारको उपस्थिति तथा भर्चुअल (जुम, युट्युव र फेसबुक) मार्फत प्रत्यक्ष लाइभ गरिएको कार्यक्रममा गायक नेपाली करिब दुई घण्टा ५० देशका राष्ट्रिय गान गाएका हुन् ।
कोरोनाबाट टुटेको विश्वलाई जोड्न विश्वबन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाहका लागि विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न देशका राष्ट्रिय गान प्रस्तुत गरेको नेपालीले बताए ।
कार्यक्रममा नेपालसहित भारत, चीन, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायतको देशका राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । विश्वका २ सय ३२ देशमा पुग्ने नेपालीको महत्वकांक्षी लक्ष्य छ । १ सय ९४ देशको राष्ट्रिय गान गाएर विश्वका ७ अरब ७६ करोड मानिसलाई नेपालबारे जानकारी दिने अभियान र यात्रामा रहेका उनी कोरोना संकटका कारण अहिले गृह जिल्लामा छन् ।
कोरोना संकटअघि गायक नेपालीले विश्वयात्राको अभियानका क्रममा विभिन्न देशको राष्ट्रिय गान गाउँदै फ्रान्स, बेल्जियम, स्पेन, नेदरल्याण्ड र भारतको भ्रमण गरिसकेका थिए ।
बंगलादेश जाने क्रममा कोरोना भाइरसको भयावहपछि यात्रा रोकिएको छ । 'नेपालको राष्ट्रिय झण्डा बोकेर राष्ट्रगान गाउँदै विश्वका माझमा नेपाललाई चिनाउने बृहत अभियानको यात्रामा छु, ' नेपालीले भने, 'यो महत्वकांक्षी योजनाजस्तो लागेपनि मलाई देश प्रतिको दायित्वबोधले सम्भव बनाउन सक्छु भन्ने आत्मविश्वास छ ।'
यसलाई विश्वको राष्ट्रगानको भावनाले जोड्ने भएकाले सबैबाट सहयोग र सद्भाव प्राप्त हुने विश्वास समेत व्यक्त गरे । अब कोरोना सहजता पछि अरु देशको यात्रामा जाने उनले बताए । सन् २०१५ सालदेखि देशका पहिचानका लागि पृथक भूमिका र योगदान दिने सोचले विभिन्न देशको राष्ट्रिय गानसहितको विश्वयात्राको अभियानमा लागेको उनको भनाई छ ।
विभिन्न भाषा र भाकामा रहेको दर्जनौं देशका राष्ट्रिय गान गाउन सक्नु पृथक क्षमता भएको नेपालीका सांगीतिक गुरु जीवन आचार्यले बताए । 'गायक नेपाली ०४७ साल सेरोफेरोबाटै सामाजिक जागरण, सचेतनाका गीत गायनमा सक्रिय हुनुहुन्थ्यो,' आचार्यले भने, 'देश चिनाउने अभियानमा यस्तो अद्भुत प्रतिभाको भावनालाई हामी सबैले कदर, सम्मान र सहयोग गर्नुपर्दछ । यो समग्र जिल्ला र देशकै लागि गौरवको विषय हो ।'
कोरोना कहरले समस्या र सकसमा परेका विश्व समुदायलाई भर्चुअल माध्यमबाट सकरात्मक सन्देश सञ्चारका लागि कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ बागलुङका सचिव राम थापा ‘अविरल’ले बताए । जिल्लाका प्रतिभाशाली गायकले देश प्रतिको अगाध प्रेम प्रकट गर्ने गरी थालेको अभियानलाई कोरोना कहर पछि फेरी सुरु गर्ने संकेत र सन्देश पनि कार्यक्रम मार्फत दिएको सचिव थापाले बताए ।
राष्ट्रिय गान र विश्वयात्रामा सक्रिय नेपाली व्यवसायिक रुपमै गायनमा सक्रिय कलाकार हुन् । ०५२ सालमा 'घुम्न जाउँला कान्छी बागलुङ बजार' बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका नेपालीको ०५९ सालमा युवाहरुलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘सपनीमा तानेको गाँजा, अहिले मलाई लाइराछ नमजा' गीतले सर्वाधिक चर्चा बटुलेको थियो ।