कश्मीरी नेता भन्छन्: हामीले गान्धीको भारतलाई विश्वास गरेका हौँ मोदीको भारतलाई हैन
कश्मीर : कश्मीरका पूर्वमुख्यमन्त्री फारुख अब्दुल्लाले कश्मीरप्रति भारतको केन्द्र सरकारको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै आफूहरुले गान्धीको भारतलाई विश्वास गरेको तर मोदीको भारतलाई नगरेको बताएका छन् ।
कश्मीर मुस्लिम समुदायको वाहुल्य रहेको एउटै प्रदेश रहेकोमा त्यसलाई केन्द्र सरकारले छिनेकोमा उनको गुनासो थियो । साथै आफूहरुलाई पाकिस्तानी, आतंकवादी जस्ता आरोप लगाउने गरेको उनको भनाइ थियो । यस्तै फारुखले भारतको व्यवहारले गर्दा चीन सक्रिय हुने गरेको पनि बताएका छन् ।
'भारतमा एउटा मात्र मुस्लिम बहुसंख्या भएको प्रदेश थियो । त्यो पनि उनीहरुले सहन गर्न सकेनन् । उनीहरुले कश्मिरलाई सधैं पाकिस्तान देखे । हामीलाई पारीको मान्छे ठाने, आफ्नो मान्छे ठानेनन् । यी मानिस उतातिर भए हुन्थ्यो, पाकिस्तानतिर गइदिए हुन्थ्यो भन्ने धारणा देखियो,' फारुखले भनेका छन् ।
उनले अघि थपेका छन्, 'हो, हाम्रो धर्म उतैतिर मिल्छ । हाम्रा नदीनालाहरु उतैतिर बग्दछन् । तर हामीले भारतलाई विश्वास गरेका थियौं । तर यो प्रष्ट पारौं हामीले गान्धीको भारतलाई विश्वास गरेका थियौं, मोदीको भारतलाई हैन । गान्धीको भारतमा सबै मानिस बराबर अधिकारको भागिदार हुन्छ भनिएको थियो । अब त्यो रहेन । त्यो भावनाकै अन्त्य भयो ।'
कश्मीरलाई केन्द्रले गरेको व्यवहारबाट चीनलाई फाइदा हुने पनि उनको दावी थियो । फारुखले भनेका छन्, 'आज हेर्नुस्, देशको के हालत छ ? चिनियाँ सेना मार्च गरिरहेको छ । प्रधानमन्त्री मोदी भन्छन्– एक इञ्च जमिन चीनले छिनेको छैन । रक्षामन्त्री भन्छन्– चिनियाँ सेनाको बम, मिसाइल र गाडीहरु भारतीय भूमिमा छन् । उनी रुस र अमेरिकासँग सहयोग माग्दै हिँड्दैछन् ? यही हो राष्ट्रको अडान ?'
नरेन्द्र मोदी सरकारले संविधानको धारा ३७० खारेज गर्दै कश्मीरको स्वायत्तता खोसेकोप्रति उनले आपत्ति जनाएका थिए । साथै पछिल्लो समय त्यहाँ सेना परिचालन गरिएकोमा सरकारप्रति अविश्वास भएको बताए । फारुखले द वायरका लागि करण थापरलाई दिएको अन्तरवार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् ।
मुस्लिमलाई अल्पसंख्यामा पार्न केन्द्रबाट यस्तो गतिविधि गरिएको पनि फारुखको दावी थियो । त्यहाँका मुस्लिम समुदायको भावना भारतले कायम राख्न नसकेमा भारतको सबै सेना ल्याएर कश्मीरमा राखिए पनि कुनै न कुनै दिन विष्फोट हुने उनले ठोकुवा गरे ।