सबै राम्रो छ बा ?

सबै राम्रो छ बा ?

‘बा, छाती त दुखेको छैन नि ?’

‘बा, छाती त दुखेको छैन नि?’, बहिरंग विभागमा फलोअपमा आउनुभएका बालाई सोधें।

‘छैन छैन। अहिले ठीक छ’, बाले सहज तरिकाले भन्नुभयो।

७० वर्षका बा नियमित औषधि लेखाउन र हामीलाई भेट्न धुलिखेल अस्पतालको बहिरंग विभाग आइरहनुहुन्छ।

करिब ६ वर्षअघि बालाई एक्कासि छाती दुखेर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। बिहानै छातीमा असह्य पीडा भएर परिवारले एक घन्टाभित्रै ल्याएको थियो। आकस्मिक कक्षका चिकित्सक साथीहरूले तुरुन्त ईसीजी र रगत जाँच गराए। ईसीजी देख्नासाथ हृदयाघात भएको पक्का भएर तुरुन्तै उपचारका लागि तयार गरे। क्याथल्याबमा लगेर एन्जियोग्राफी गरेपछि देखियो– मुटुको एउटा प्रमुख रक्तनली ९५ प्रतिशत साँघुरिएको रहेछ। त्यसैले उक्त रक्तनलीबाट रक्तसञ्चार हुने मुटुको मांसपेसीमा आवश्यक रक्तसञ्चार नभएर इन्फार्कसन (मांसपेसीको मृत्यु) भएको रहेछ। जतिसक्दो चाँडो साँघुरिएको रक्तनलीलाई फुलाउन सक्यो भने धेरै हदसम्म मांसपेसीलाई बचाउन सकिन्छ। तत्पश्चात् नै बेलुन पठाएर साँघुरिएको भाग फुलाइयो। बेलुनले मात्र फुलाउँदा फेरि साँघुरिने हुनाले जाली (स्टेन्ट) फुलाएर राखियो। र त्यहाँबाट राम्रोसँग रक्त सञ्चारण भयो। बाको छाती दुखेको निकै कम भयो। मांसपेसीमा रक्तसञ्चार न्यून भएर दुखेको छाती पुनः रक्तसञ्चार भएपछि दुखाइ कम हुने नै भयो। २–३ दिनको अस्पताल बसाइपछि बा घर जानुभयो।

यस्तो रक्तनली फेरि साँघुरिन रोकथाम गर्न तथा सो ठाउँमा फेरि बन्द हुन रोक्न विभिन्न औषधि दिइयो। रगत पातलो हुने दुईथरी, चिल्लो कम गर्ने एकथरी, प्रेसर कम हुने र मुटुलाई राम्रो हुने दुईथरी सँगै अरू एकथरी पनि औषधिसहित बा बिदा हुनुभयो।

सो दिनदेखि नै बा नियमित अस्पताल आउनुहुन्छ।

‘अनि स्याँ–स्याँ हुने, मुटुको धड्कन बढ्ने पनि छैन नि ?’, मैले फेरि सोधें।

‘अलिअलि स्याँस्याँ त उकालो हिँड्दा आउँछ। तर आराम गरेपछि ठीक हुन्छ। त्यस्तो गाह्रो छैन।’

ब्लडप्रेसर जाँचें, नाडी छामें, छाती र मुटुको धड्कन सुनें– सबै राम्रो रहेछ।

‘सबै राम्रो छ बा।’

‘ए राम्रो भयो’, बा हल्का हाँस्नुभयो।

‘चुरोट त तान्नुभएको छैन नि ?’

‘छैन–छैन। कहाँ चुरोट खानु अब ? अहिले त कतिलाई छुटाउन लगाएको छु।’

‘हो र, कस्तो राम्रो गर्नुभयो।’

‘हो नि। त्यही चुरोटले यस्तो भएको होला। तपाईंहरू नै भन्ने गर्नुहुन्छ नि।’

‘हो बा चुरोट–खैनीले मुटु रोग ह्वात्तै बढाउँछ नि।’

‘हाम्रा पालामा त थाहा नपाएर खाएँ। अहिलेकाले किन खान्छन् कुन्नि ?’, अलि नराम्रो मानेर भन्नुभयो।

‘त्यही त। नखान पहल गर्नुपर्छ हामी सबैले’, मैले भनें।

एक छिन सबै कागज पल्टाएर सोधें, ‘रगत नजँचाएको कति भयो बा ?’

‘तीन महिना’, बाले भन्नुभयो।

रिपोर्ट पल्टाउँदै सोधें, ‘चिनी त बढेको छैन नि ?’

‘छैन भन्नुभएको थियो।’

‘अँ, छैन रहेछ। चिनीचाहिँ बढ्नु हुँदैन। प्रेसर पनि बढ्नु हुँदैन। चिनी, प्रेसर बढ्यो भने फेरि मुटुलाई खराब गर्छ।’

‘त्यसैले त बेलाबेलामा जचाउन आइरहन्छु।’

‘ठीक हो बा। अहिलेलाई रगत जाँच्नु पर्दैन, ईसीजी पनि पर्दैन। पछि जाचौँला।’

‘कहिले जाँच गर्ने त ?’

‘केही समस्या नभए त वर्ष दिनमै पनि हुन्छ। केही गाह्रो भएचाहिँ जाँच्नुपर्ला।’

‘हुन्छ, हुन्छ।’

मैले फेरि पुरानै औषधि लेखिदिएँ। अहिलेचाहिँ रगत पातलो हुने एकथरी, चिल्लो कम हुने एकथरी र प्रेसर, मुटुको एकथरी मात्र नियमित थियो।

‘यो औषधिचाहिँ नटुटाई खानुस् है ?’

‘यही औषधिले त राम्रो भइराखेको छ। खाइहाल्छु नि।’

‘बाको अनुशासन र बलियो आत्मबलले राम्रो भएको छ।’

‘त्यो त सबैलाई चाहिन्छ नि होइन र ? डाक्टर बाबु।’

‘हो बा।’

बाको उपचार समयमै गर्न पाइयो र बाले चुरोट छाड्नुभयो। नियमित औषधि सेवन गर्नुभयो। खानामा अनुशासित हुनुभयो र त आज बा फूर्तिलो हुनुहुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.