‘मेजर’मा सईको प्रवेश
मुम्बई : ‘दबंग–३’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री सई मान्जरेकरले एउटा अर्को बिग बजेट फिल्म भेट्टाएकी छन्। उनी फिल्म ‘मेजर’मा एक महत्त्वपूर्ण भूमिकामा देखिने भएकी छन्। ‘मेजर’ सहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतंककारी आक्रमणमा सहिद भएका थिए। यो फिल्म हिन्दी र तेलुगुमा रिलिज हुनेछ।
सईले आफ्नो यो प्रोजेक्टको जानकारी आफैंले इन्स्टाग्राम अकाउन्टमार्फत दिएकी हुन्। आफ्नो भूमिकाका बारेमा कुरा गर्दै उनले भनिन्, ‘मेरा लागि फिल्मको स्क्रिप्ट र सम्पूर्ण कथ्य प्रमुख कुरा हुन्। त्यसमा मेरो भूमिकाले कति प्रभाव पार्छ भन्ने कुरा म ख्याल गर्छु। कुनै पनि भूमिकालाई गहिराइबाट विश्लेषण गरेपछि मात्रै त्यसको मर्म थाहा हुन्छ। यो महत्त्वपूर्ण विषय हो। जब मलाई फिल्म ‘मेजर’का लागि प्रस्ताव गरियो, मैले यी सब कुरा देखेर तुरुन्त स्वीकार गरें।’
फिल्मका निर्देशक शशि किरणले आफ्नो फिल्मका बारेमा भने, ‘जति बेला यो घटना भएको थियो, त्यस समयमा हामी कोही पनि त्यहाँ थिएनौं। जुन कुरा समाचारमा देखाइयो, हामीले त्यही जान्यौं। हामी कल्पनामा जे देखाउँछौं, त्यसमा वास्तविकताको रंग भर्नु सबैभन्दा ठूलो चुनौती हो। यी सबै कुरा डकुमेन्ट्री फिल्म नभएर फिचर फिल्ममा देखाउनु धेरै चुनौतीपूर्ण हुन्छ।’
‘मेजर’को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले गर्दै छ। फिल्म आगामी वर्षको गर्मी महिनामा रिलिज गरिने बताइएको छ।