हलेगौडाको बस्ती पहिरोको उच्च जोखिममा
बेनी : म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हलेगौडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले सडक बगाएपछि सिंगा वडा तीन महिनादेखि सडक यातायातबाट सम्पर्क बिच्छेद हुँदा स्थानीयको दैनिकी कष्टकर भएको छ।
भकिम्लीको हलेगौडास्थित काठेपिपलबाट सुरु भएको पहिरो बस्तीको नजिकै पुगेपछि जोखिम बढेको छ। भिरालो पाखो चिरा-चिरा परेर गत असार अन्तिम सातादेखि सुरु भएको पहिरो खस्ने क्रम अझै नरोकिएको स्थानीय गेमप्रसाद घर्तीमगरले बताए।
‘करिब डेढ किलोमिटर दुरीको लम्बाई र एक किलोमिटर दुरीको चौडाइको पाखो छिया छिया भएको छ’ उनले भने ‘गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार बिस्थापित भएका छन्।’
हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन्। रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गंगबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाको परिवार बिस्थापित भएका छन्।
रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको बिस्थापित सोचिन्द्र थापाले बताए। ‘दिनमा दश÷पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ,’ उनले भने ‘सम्मो एउटै बारीको पाटा तल र माथि भएका छन्।’
नरबहादुर रोकाको कुखुरा फर्म भत्किएको छ। तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैंचा पहिरोमा बगेको छ। बेनी देखि दूधेखोला-हलेगौडा-डाडाखानी हुदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेको सहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ।
७३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिंगो वडा तीन महिनादेखि सदरमुकाम बेनीसँग यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताए। आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ति भएको छ।
भकिम्ली जोड्ने ५ वटा मध्य हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो। हाल चालू रहेको एउटा मात्रै थामडाडा-मरेक-छेपारे-मुसुङ-भकिम्ली सडकमा नियमित गाडी चल्दैन्। पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो। सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताए।
मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ। पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताए। घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयबासी यातायात सुबिधाबाट बञ्चित भएका छन्।
हेलगौडाको पहिरोले भकिम्लीको समग्र बिकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउँछन्। ‘यो पहिरोले हाम्रो बिकासको गतिलाई ब्रेक लगाएको छ,’ उनले भने ‘बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरी सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन सुरु गरेका छौ।’
भिरालो पाखोमा खनिएको सडकको भल ब्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाई छ। पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तिलाई समेत जोखिम बनाएको छ।
भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुन बताउछन्।