पीडाका पहाडमा वृद्धवृद्धा

पीडाका पहाडमा वृद्धवृद्धा

६५ वर्षभन्दा बढी उमेरका तर केयरहोममा बसेका अमेरिकीको एकचौथाइ जनसंख्यामा सामाजिक सम्पर्क एकदमै न्यून रहेको अनुसन्धानले देखाएको छ। भनिन्छ– सामाजिक सम्पर्कमा रहिरहनु आत्महत्यासम्म रोक्ने उपाय हो। तर भौतिक सुविधासम्पन्न देशमा हुने व्यस्त तालिकाका कारण वृद्धवृद्धा हुँदै गएपछि क्रमशः पारिवारिक एवं सामाजिक सम्बन्धबाट मानिस कसरी टाढिँदो रहेछ भन्ने यो एउटा उदाहरण मात्र हो। बुढेसकालमा पारिवारिक हेरचाह, सम्पर्क र सहयोगको महसुस बढी हुन्छ। मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले भनेका छन्, ‘अँध्यारो छाउन नदिनु नै जीवन रहेछ।’ तर ज्येष्ठ नागरिकका हकमा भने एकल प्रयासबाट उज्यालो सम्भव नहुन सक्छ। अमेरिकी केयरहोमको सन्दर्भ नेपालमा लागू हुनेमा शंका छैन।

नेपालको एउटा गाउँमा एउटी वृद्धा एक्लै बस्थिन्। ८८ वर्षीया उनका पति थिएनन्। दुई छोरा थिए। एउटा कामको सिलसिलामा राजधानी काठमाडौंमा र अर्को गाउँमै तर आमासँग छुट्टिएर बसेका। वृद्धा शारीरिक रूपमा थलिएपछि गाउँलेले सहयोग जुटाएर अस्पताल पुर्‍याए। चिकित्सकका अनुसार उनमा रक्तअल्पता देखियो र पिसाबमा संक्रमण भेटियो। हेमोग्लोबिनको मात्रा १०–११ हुनुपर्नेमा तीन मात्र भएकाले ग्यास्ट्रिकलगायत थुप्रै रोग पाइयो। लामो समयदेखि पोषणयुक्त खाना नपाएकै कारण यस्तो हुने रहेछ। पछिल्लो अवस्था थाहा पाएपछि उनका छोराहरू अस्पताल पुगे। गाउँले बाहिरिए। दाजुभाइ आमालाई हेरचाह र खर्च गर्नुपर्नेमा उल्टै एकापसमा झगडा गर्न थाले। वार्डमै चर्काचर्की पर्‍यो। निहुँ थियो– उपचार खर्च कसले व्यहोर्ने ? रोगले थलिएकी आमाको उपचार भएन। भने, ‘हामी अन्यत्रै लगेर आफैं केही गर्छौं।’ वार्डमा भर्ना भएकी आमालाई निकालेपछि उपचारको अपेक्षा गर्न सकिएला ?

‘कोही मर्न नसकेर जिउँछ। कोही मर्न नचाहेर जिउँछ। कोही मर्न नजानेर जिउँछ त कोही बाँच्न नजानीनजानी पनि जिउँछ। यहाँ मर्न कोही चाहन्न’, जीवन विज्ञानविशेषज्ञ एलपी भानु शर्माले भनेका कुरा ती वृद्धाका हकमा लागू भएको छ। मरेपछि स्वर्ग नै जान्छु भन्ने व्यक्ति पनि मर्न भने चाहन्न। जुनसुकै मूल्यमा मान्छे बाँच्न चाहन्छ, चाहे शरीर जति नै गलिसकेको किन नहोस् ! अध्यात्मले भन्छ, ‘जसको सम्बन्ध आमाबुबासँग राम्रो छैन÷हुँदैन, उसको कसैसँग पनि सम्बन्ध सुमधुर हुँदैन र भए पनि टुट्छ÷छिन्नभिन्न हुन्छ।’ बुझ्नेले महसुस गरेका होलान्– आमाबुबाको न्यानोपन, उहाँहरूसँगको प्रेमिल संसार। उहाँहरूका अनुहारमा झुल्किने हाँसो र खुसी सन्तानका लागि जीवनको ऊर्जा हो। तर यहाँ भइरहेछ ठीक उल्टो। ‘अस्वस्थकर जीवन जीवन होइन, बस्, पीडाको एक स्थिति हो’ गौतमबुद्धको यो भनाइले बसी खाने ती वृद्धा पीडाको पिङ मच्चाउन विवश छिन्। २०६८ सालको जनगणनाअनुसार नेपालको कूल जनसंख्याको नौ प्रतिशत अर्थात् २५ लाखभन्दा बढी ज्येष्ठ नागरिक छन्। विश्वको सन्दर्भ हेर्ने हो भने कूल ज्येष्ठ नागरिकमध्ये पाँचदेखि १० प्रतिशत दीर्घरोगी छन्। नेपालमा कति दीर्घरोगी छन् भन्ने तथ्यांक छैन तर सहजै अनुमान के गर्न सकिन्छ– ८८ बर्से उनीजस्ता लाखौं यस्तै पीडामा बाँच्न विवश छन्।

धर्मशास्त्रले भन्छ– आमा पृथ्वीभन्दा महान् छिन्। संसारभरिकै तीर्थसमान। बुबा स्वर्गभन्दा पनि उच्च। आमा र पृथ्वी स्वर्गभन्दा पनि सर्वोच्च। विगतको नेपाली समाज आमाबुबा पाल्ने समाज हो। संयुक्त परिवार समाजको पहिचान थियो। २०÷२५ जना भए पनि सबै मिलेर बस्थे। तर पछिल्ला दशक अझ विशेषगरी सहरमा आमाबुबा फाल्ने घटना बढेको छ। मिलेसम्म वृद्धाश्रम पुर्‍याएर छाडिदिने, समाजको लाजगालले त्यसो गर्न नसक्नेले घरमै राख्ने तर उपेक्षित व्यवहार गर्ने गरेका छन्। विगतमा गाउँ वृद्धवृद्धाका लागि स्वर्ग थियो। छोराबुहारी र नातिनातिना सँगै बस्थे। अहिले छोरो विदेश। अलिकति कमाएपछि बुहारी सहरमा घर बनाएर बस्ने। त्यसपछि बुहारी आफ्नै चाहनामा स्वतन्त्र हुन चाहन्छिन्, तर सहरको घरमा बसे पनि आमाका भने दुःखका दिन सुरु हुन्छन्। यसमा यस्तै केही बुहारी मात्र दोषी छैनन्, केही आमा पनि दोषी छन्। सासूले आफू हिजो बुहारी थिएँ र बुहारीले भोलि म पनि सासू बन्दैछु र मेरो हालत पनि यस्तै हुनेछ भनेर सोचे मात्र पनि सासू–बुहारीमा कटुता मात्र होइन, आमाछोरीको सम्बन्ध रहनेछ। यसले सामाजिक सन्देश पनि सही जानेछ। आफ्नो तागत हुँदा छोरो बिदेसिएपछि आमाले बुहारीलाई सासूको शान देखाउने र हेला गर्ने गर्छन्, जब नसक्ने हुन्छन् अनि बुहारीको पालो आउँछ। राजधानीभित्रकै अर्को सन्दर्भ, दुई छोराले पालैपालो आमा र बुबालाई १५÷१५ दिन पाल्ने सहमति गरेका छन्। जुन महिना ३१ गते आउँछ, त्यतिबेला आमा र बुबालाई पीडा हुन्छ। त्यो एक दिन के गर्ने ? कहाँ जाने ? मनोविज्ञानभित्रको द्वन्द्वमा दुवै पिल्सिएका कथा नेपाली समाजमा थुप्रै छन्।

गाउँलेका बलबुतामा अस्पताल पुर्‍याइएकी वृद्धा आमालाई उपचारै नगरी फर्काउने छोराहरूलाई के थाहा, ‘आमाको काखको मूल्य ?’

आदर्श समाजको परिकल्पना नेपालको सन्दर्भमा अलि परै होला। चाणक्यले ‘सन्तुलित मन बराबर कुनै तपस्या छैन। सन्तोष बराबर कुनै खुसी छैन। लोभ बराबार कुनै बिराम छैन। दया बराबर कुनै सदाचार छैन’ भनेका थिए। सम्पत्ति र पदको घमण्ड र भ्रममा बाँच्नेले ‘मृत्यु सत्य’ लाई किन बिर्सन्छन् ? गोजीमा कात्रो हुन्न भन्ने किन भुल्छन् ? अहंकार रहुञ्जेल पारिवारिक वा अन्य सम्बन्ध टुक्रिरहन्छ। अहंकारले प्रेमको हत्या गर्छ। तर जब अहंकार मर्छ तब प्रेम जन्मिन्छ। गन्तव्य बरु मानिसको निधनमा चाँडो भेटिन्छ न कि मानिसको अहंकारको मृत्युमा। आफूलाई यो अवस्थामा ल्याउने बुबाआमाको त्याग किन कुल्चिन्छन् ? किन बिर्सन्छ कोही आफ्नो बाल्यकाल ? अनि किन अनुमानसम्म लगाउन सक्दैनन् कोही आफ्नो वृद्धावस्था ? यसै पनि यो उमेरमा उनीहरू शारीरिकसँगै मानसिक रूपमा विक्षिप्त हुन्छन्। कतिपयले जीवनसाथी गुमाएर एकांकीपनको पीडामा पिल्सिनुपरेको हुन्छ भने कतिपय थुप्रै शारीरिक रोगसँग जुधिरहेका हुन्छन्। जीवनशैली परिवर्तनले आउने समस्या र आर्थिक अभावलगायतले वृद्धवृद्धा तनाव लिने, चिन्ता गरिरहने, उत्तेजित हुने र ससाना कुरामा रिसाउने हुन्छन्। सम्मान र हेरचाह खोज्ने बेलामा अपमान र हेलाँमा बाँच्नुपर्दाको अवस्था आखिर कहिलेसम्म ?

सरकारले पछिल्लो समय ‘मुलुकी देवानी संहिता, २०७४’ को परिच्छेद– ४ मा ‘आमा, बाबु तथा छोरा, छोरीको सम्बन्धसम्बन्धी व्यवस्था’ गरेको छ। दफा १२२ मा ‘आमाबुबालाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने’ कानुन बनाएको छ। यसमा (१) प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नुपर्नेछ। (२) प्रत्येक छोराछोरीले आमाबाबुलाई एकासगोलमा बसेको वा कानुनबमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसार आवश्यक हेरचाह, स्याहार–सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्नेछ। तर चोरलाई साँचोले रोक्दैन। सही मानिसलाई साँचो लगाइराख्नै पर्दैन। हो, ऐनकानुन आवश्यकै छैन, जब हरेक नागरिक सन्तुलित छ, प्रेममा बाँच्छ। हाँसो, खुसी र माया बाँड्ने परिवारका वृद्धवृद्धाका रोग आधा कम हुन्छ। तर घरमै रहेर पनि यी केही भएनन् भने समस्या ज्यूँका त्यूँ हुन्छन्। पहिलेको समाजले बुझेको थियो– आमाबुबा भगवान् हुन्, उनीहरूलाई सधैं खुसी राख्न सके सम्पूर्ण कर्म स्वर्ग बन्छन्। नत्र भने ज्येष्ठ नागरिकसँग सम्बन्धित दिवसहरू मात्र मनाइरहने गरी दिनहरू बित्दै जानेछन्। उनीहरूको जीवनमा सहजता आउने छैन। प्रतिदिन पीडाका पहाड अर्थात् रोग र समस्या थपिँदै गइरहेका हुन्छन्, जुन वृद्धवृद्धाका लागि समुद्र तर्नुसरह हुन्छ।

‘पीडा’ शब्द आफैंमा ‘पीडादायी’ लाग्छ। पहाड उक्लिनुमै चुनौती थुप्रै छन्। अझ पीडाको पनि पहाड उक्लिनु त चुनौतीको चुचुरो चुम्नुसरह हो। पीडामा पिरोलिएका वृद्धवृद्धालाई ‘सुख र खुसीको सिँढी’ लगाइदिनुको सट्टा पीडाकै पोखरीमा पौडी खेल्न लगाउनु छोराबुहारीको धर्मभित्र पर्दैन। केही वृद्धवृद्धा आफूलाई समयअनुसार परिवर्तन गर्न सक्दैनन् र चढ्छन् पीडाको पहाड। हठी स्वभाव त्यागेर उनीहरूले पनि समय, सन्दर्भ र पारिवारिक परिवेशअनुसार चलिदिने हो भने जीवन सन्तुलित हुनेमा दुईमत छैन। ‘सन्तुलन’ शब्द एक काम अनेक। खान, लाउन, बोल्न, प्रेम गर्नमा सन्तुलन भयो भने हरेकको जीवन आदर्श हुन्छ। हरेक नागरिकमा हरेक कुरामा सन्तुलन भयो भने माथिको अवस्था आउँदैन। तर प्रेम हराउनु भनेको मानिस असफल हुनु हो। प्रेम हुने मान्छेले अरूमा गल्ती देख्दैन। अरूको खुसीमा आफू प्रयोग भइदिनु ‘प्रेम’ हो भन्ने बुझेपछि जोसुकै ज्येष्ठ नागरिक मायाप्रेमको संसारमा लुटपुटिन पाउँछ। भनिन्छ, ‘प्रेमभाव भए ढुंगा पनि भगवान् हुन्छ, प्रेम हराएको ठाउँमा भगवान् पनि ढुंगा बन्छ।’ ‘अरूको लाख आमाको काख’, आहा ! यो उखान पनि यसै बनेको होइन नि। गाउँलेका बलबुतामा अस्पताल पुर्‍याइएकी वृद्धा आमालाई उपचारै नगरी फर्काउने छोराहरूलाई के थाहा, ‘आमाको काखको मूल्य ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.