अब नेपाली कांग्रेस कता ?

अब नेपाली कांग्रेस कता ?

आफ्नो गौरवशाली इतिहासमा नयाँ आयाम थप्न सक्ने नेतृत्व चयन गर्नु कांग्रेसको आवश्यकता हो।


लोकतन्त्र, राष्ट्रियता र जनताका हक अधिकारनिम्ति विगत ७० वर्षदेखि निरन्तर संघर्ष गरेर आएको नेपाली कांग्रेस यतिबेला नेताहरूबीचको आरोप–प्रत्यारोप, अस्पष्ट र गतिहीनताका कारण उसप्रति शुभेच्छा राख्ने बुद्धिजीवीले मात्र होइन, स्वयं कांग्रेसकै कार्यकर्ताले पनि नेताहरूसँग सोध्नुपर्ने अवस्था आएको छ, ‘अब नेपाली कांग्रेसको गन्तव्य के हो ?’ अर्को सोध्नुपर्ने प्रश्न हो, ‘जनताको ठूलो बलिदान र त्याग–तपस्याबाट ल्याएको लोकतन्त्रलाई कांग्रेसले कता लग्न खोजेको हो ?’ घटनाक्रम र इतिहासले स्पष्ट गरेको छ– कांग्रेस रहेन भने लोकतन्त्र रहँदैन र राष्ट्रियता पनि कमजोर हुन्छ। अनेक आरोह–अवरोह व्यहोर्दै आएको कांग्रेस यतिखेर इतिहासकै सबभन्दा कमजोर अवस्थामा पुगेको छ। माउ पार्टीको यो अवस्था छ।

प्रजातन्त्रका लागि संघर्ष, त्याग र बलिदानको प्रतीक रहेको नेपाल विद्यार्थी संघ गतिहीन अवस्थामा छ। यही हालत नेपाल तरुण दल र अन्य भ्रातृ र शुभेच्छुक संघहरूको छ। ७० लाख विद्यार्थीको भविष्य नै अन्धकार हुन थालेको छ। यो शैक्षिक सत्र नै समाप्त हुने लक्षण देखिन्छ। तर पनि नेविसंघ मौन छ यही अवस्था ट्रेड युनियन कांग्रेसको छ। कोरोनाका कारणले लाखौं मजदुर कामको खोजीमा रातको समयमा बत्तीमा पुतली पसे झैं ‘कोभिड– १९’ को ज्वालामा हाम फाल्दै लाखौं नेपाली कामदार यतिबेला भारत फर्किरहेछन्। यो भयावह अवस्थामा न माउ पार्टी कांग्रेस न त उसका भ्रातृ संघ बोल्छन्, भागबन्डालाई लिएर झगडा गरिरहेको कांग्रेसका नेता–कार्यकर्ता र भ्रातृ संस्था मौन छन्। उनीहरूका लागि भागबन्डा जय नेपाल भन्दै आफ्नो व्यक्तिगत सुखसुविधाबाहेक कुनैसँग मतलब छैन।

आगामी फागुनमा गर्ने भनिएको चौधौं महाधिवेशन नहुने पक्का भएको छ, त्यसपछि के गर्ने भन्नेमा केन्द्रीय नेतादेखि कार्यकर्ता विभाजित छन्। एकथरी भन्छन्– विशेष अधिवेशन गरौं। अर्काथरी भनिरहेछन्– फागुनको सट्टा एकाध महिना पर सारेर अधिवेशन गरौं। नियत कांग्रेसलाई बलियो बनाउने हो भने जे गरे पनि हुन्छ। कांग्रेसभित्रको यो विवादमा लोकतन्त्रविरोधी शक्ति हाँसिरहेछन्। हामीले जेल हालौं, कांग्रेसका विरुद्ध बन्दुक पड्कायौं र बम हान्यौं त्यति गर्दा पनि नसिद्धिएको कांग्रेस अहिले आफैं सिद्धिरहेछ। योभन्दा खुसीको कुरा के हुन्छ उनीहरूका लागि ? यो पनि सत्य हो– यो दुःखद् कुरा कांग्रेस कार्यकर्ता, शुभचिन्तक वा नेपालको राष्ट्रिय अस्तित्व रहिरहोस् भन्नेका लागि अर्को केही हुन सक्दैन। कांग्रेस बलियो भए मात्र लोकतन्त्र र राष्ट्रियता रहन्छ यो इतिहासले स्पष्ट गरेको हो।

कांग्रेसको ऐतिहासिक परम्परा हेर्‍यौं भने प्रजातन्त्र बलियो पार्न विशेष महाधिवेशन भएको छ। ०७ साल फागुन ७ गते राजा त्रिभुवनले घोषण गरे, ‘अब जनताका प्रतिनिधिले बनाएको संविधानद्वारा शासन सञ्चालन गर्ने हाम्रो इच्छा भएकाले वर्तमान सरकार भंग गरी प्रधानमन्त्री मोहनशमशेरको अध्यक्षतामा नेपाली कांग्रेससम्मिलित सरकार गठन गरिबक्सेका छौं।’ त्रिभुवनको यो घोषणापछि ०७ सालको क्रान्ति बन्द भयो र राणा–कांग्रेस सरकार बन्यो, तर कांग्रेसभित्रको विवाद र अन्य बाह्य कारणले संविधानसभाको चुनाव हुन सकेन। राजा त्रिभुवनको निधनपछि राजा भएका महेन्द्रले अनेक खेल खेल्दै पार्टीहरूको बदनाम गर्ने तर चुनाव नगर्ने रणनीति बनाए। यसैबीचमा कांग्रेस आफ्नो संगठन सुदृढीकरणमा लाग्यो। नेपालको इतिहासमा दूरगामी प्रभाव पार्ने गरी ०१२ सालमा कांग्रेसको वीरगन्ज अधिवेशन भयो। यसै अधिवेशनमा युगान्तकारी निर्णय लियो। पार्टी सोसलिस्ट इन्टरनेसनलको सदस्य भयो र कांग्रेसले आफूलाई ‘प्रजातान्त्रिका समाजवादी’ पार्टी घोषणा गर्‍यो। त्रिभुवनको घोषणाअनुसार संविधानसभाको चुनाव तुरुन्त होस् भन्ने प्रस्ताव पारित गर्‍यो। राजा महेन्द्रलाई चुनाव गराउनु थिएन। दलहरूलाई बदनाम गरेर यो मुलुकमा शासन गर्न योग्य आफू मात्र रहेको देखाउनु थियो।

पार्टीको सरकार गठन गर्‍यो चार–पाँच महिनापछि त्यसलाई अनेक आरोप लगाएर विघटन गर्ने रणनीति महेन्द्रले लिए। महेन्द्रको यो रणनीति बुझेर ०१४ साल जेठमा विराटनगरमा कांग्रेसले विशेष महाधिवेशन गर्‍यो र बीपी सभापति हुनुभयो। त्यही अधिवेशनले कात्तिकमा ‘सविनय भद्र अवज्ञा आन्दोलन’ गर्ने निर्णय गर्‍यो। यो सत्याग्रहले मुलुक नै ठप्प भएपछि निर्वाचन गर्न राजा बाध्य भए। ०१५ साल फागुन ७ गतेबाट निर्वाचन हुने घोषणा गरे। सत्याग्रह स्थगित भयो, तर केका लागि चुनाव महेन्द्रले स्पष्ट पारेका थिएनन्। अन्तिम समयमा संविधानसभा होइन, संसद्को चुनाव गर्ने घोषणा गरे। संसद्को चुनावमा भाग लिने–नलिने भन्नेमा नेपाली कांग्रेस र कांग्रेसइतरका पार्टीमा पनि विवाद भयो। बीपीले पार्टीको मुखपत्र नेपाल पुकारमा लेख लेख्नुभयो, ‘मेरो लक्ष्य भनेको सगरमाथा चढ्ने हो। कुन बाटो चढ्ने त्यो त्यति महत्वपूर्ण होइन। सगरमाथामा पुग्न मेरो उद्देश्य हो। राजा त्रिभुवनको ०७ सालको घोषणा थियो– संविधानसभाको चुनाव तर महेन्द्रले संसद्को चुनाव भने– जनताको अभिमत लिएर शासन गर्ने कांग्रेसको नीति भएको हुँदा संसद्को निर्वाचनमा कांग्रेसले भाग लिन्छ।’ कांग्रेसको यो घोषणापछि नेपाल कम्युनिस्ट पार्टीले पनि चुनावमा भाग लिने घोषणा गर्‍यो र ०१५ साल फागुन ७ गतेबाट सुरु भएको निर्वाचन दुई महिनासम्म चल्यो। जम्मा १०८ सिट भएको संसद्मा कांग्रेस ७४ सिटमा विजय भएर उसको सरकार बन्यो।

कांग्रेस रह्यो भने मात्र नेता हुने हुन्। अहिलेको ठूलो चुनौती भनेकै नेकपाको सर्वसत्तावादी रणनीतिबाट लोकतन्त्र बचाउने र मुलुकमा देखापरेका भ्रष्टाचार, सरकारको अकर्मण्यता र सर्वोपरि मुलुकको ‘भूसंवेदनशीलता’ जोगाउने हो।

उद्देश्य पार्टी मजबुत र लोकतन्त्र बलियो पार्ने र देशको विकास गर्ने हो भने जे गरे पनि कार्यकर्ताले स्वीकार गर्ने रहेछन् तर उद्देश्य आफू सभापति बन्ने र पार्टीलाई भागबन्डामा सीमित गर्ने हो भने जुनसुकै अधिवेशनको पनि काम छैन। अहिलेका सचेत कार्यकर्ता र बुद्धिजीवीका लागि ‘टीका लगाइ अधिवेशन’ को कुनै काम छैन।

कांग्रेस अकर्मण्य रहँदा जनताले ठूलो त्याग र तपस्या गरेर ल्याएको लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ। दसैंका बेला जहाँ भए पनि आफ्नै घर फर्कने नेपाली परम्पराविपरीत यतिबेला लाखौं नेपालीले काम र मामका लागि विदेश जानुपरेको छ। विकास निर्माणका काम शून्य छन्। सरकार एकपछि अर्को भ्रष्टाचारका सनसनीपूर्ण काण्डमा मुछिएको छ। दुईतिहाइको अवस्थामा रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो कार्यकालको ५० प्रतिशत अवधि पूरा गर्दा दशौंपटक मन्त्रिपरिषद् फेरबदल गरिसके र अब एघारौंपटक परिवर्तन गर्ने खेलमा छन्। किन मन्त्रिपरिषद् पुनर्गठन गर्ने ? यसको जवाफ छैन। संसद्मा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस प्रश्न गर्दैन।

कांग्रेस अकर्मण्य र आपसी कलहमा रहँदा संसद् प्रभावकारी हुन सकेको छैन। संसद् प्रभावकारी हुनु भनेको नै संसदीय समितिहरू प्रभावकारी हुनु हो। पाँचबर्से संसद्को आधा कार्यकाल पूरा हुँदा न भ्रष्टाचार नियन्त्रण गर्न संसद् सक्षम भएको छ न त जनताका पक्षमा गर्नुपर्ने काम सरकारबाट नहुँदा संसदीय समितिहरूले छलफल गरेर सरकारलाई बाध्य पार्न सकेका छन्। के भयो वाइडबडी र न्यारो बडी हवाईजहाज काण्ड ? अनि के भयो यति र ओम्नीको भ्रष्टाचार ? बालुवाटार जग्गा काण्डमा ठूलाठूला नेता मुछिएका समाचार सञ्चारमाध्यममा आए, तर ती सेलाएर गए। भ्रष्टाचारको छानबिन र कारबाही गर्ने संवैधानिक निकायलाई पंगु बनाएर राखिँदा कांग्रेसको बोली फुटेन। अहिलेको अवस्था हेर्दा मौनम् संमति लक्षणम् अर्थात् तैं चुप मै चुप जनता मर्छन् भने मरून्। ०६२÷०६३ को आन्दोलनमा हामीले जनतालाई भनेका थियौं– अहिलेसम्म पटकपटक साथ दिनुभयो, अब फेरि एकपटक हामीलाई साथ दिनुहोस्। यसपछि प्रजातन्त्रका लागि संघर्ष गर्नुनपर्ने व्यवस्था हामी ल्याउँछौं। खै ती वाचा पूरा भएको ? कांग्रेसले जनतालाई जवाफ दिनु पर्दैन ?

संसद्लाई यो अवस्थामा पुर्‍याउने नेकपाको रणनीति नै हो, अन्यथा ‘लोकतान्त्रिक गणतन्त्रको संविधान’ को शपथ खाएर आएको नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको एकदलीय सर्वसत्तावादको प्रशिक्षण लिने थिएन। लोकतान्त्रिक व्यवस्थामा विश्वास भएको भए तर कांग्रेसको लोकतान्त्रिक व्यवस्थाभन्दा भिन्न अर्को कुनै व्यवस्थाप्रति आस्था र विश्वास छैन। संसदीय व्यवस्थाका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेलसँगै संघर्ष गरेका राम, लक्ष्मण, लीला, ठगी, खगेन्द्र, गोकर्ण, शमशेरबहादुर, कामेश्वर कुशेश्वर र जगतप्रकाश जंग शाहलगायत हजारौं सपूतले गोली खाएका थिए। आज तिनको सपना के भयो ? प्रजातन्त्र समाप्त गर्ने खेलमा कांग्रेस मौन भएर बस्दा तिनको आत्माले के भन्ला ?

‘हरि अनन्त र हरिकथा अनन्त’ भनेजस्तै कांग्रेसका कथा र व्यथा पनि अनन्त छन्। कांग्रेसलाई फेरि मुलुकको मुख्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने मौका आएको छ चौधौं महाधिवेशनमा। अहिले प्रजातन्त्रमाथि देखा परेका चुनौती यसरी चारैतिर थपिएका छन् कि सात प्रदेशमध्ये ६ प्रदेशमा पूर्ण बहुमत र केन्द्रमा झन्डै दुईतिहाइको बहुमत हुँदा पनि नेकपाले जनताका हितमा काम गर्न सकेन। विगत ६÷७ महिनादेखि नेकपाका नेता लडिराखेका छन् तर जनता गरिबी, पछौटेपन, अन्याय र अत्याचारमा पिसिइरहेछन्। एकजना कम्युनिस्ट नेताले पनि भ्रष्टाचार भयो, जनता भोकमरीको मारमा परे भन्ने वक्तव्य दिएको छैन। ६ महिनाको उनीहरूबीचको झगडा सत्ताको भागबन्डाका लागि भन्ने स्पष्ट भएको छ।

जनताको ठूलो त्याग–तपस्यापछि आएको लोकतन्त्र बचाउने अन्तिम मौका आएको छ कांग्रेसका लागि। चौधौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको भावी नेतृत्वका लागि धेरैले इच्छा देखाएका छन्। लोकतान्त्रिक पार्टीमा अन्यथा मान्नुपर्ने होइन, दाबी गर्नु स्वाभाविक हो। तर यतिबेला मेचीदेखि महाकाली, तराई मधेसदेखि हिमाल पहाडसम्म कांग्रेसले छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ। मुलुकमा देखिएका चुनौतीको सामना गर्ने र आफ्नो गौरवशाली इतिहासमा नयाँ आयाम थप्न सक्ने नेतृत्व चयन गर्नु आजको कांग्रेसको आवश्यकता हो। अबको कांग्रेसको नेतृत्व तरुणहरूले लिनुपर्छ। नेतृत्व लिन सक्षम तरुणमा थुप्रै नेता छन्। नेतृत्व नपाउँदैमा कोही अयोग्य हुँदैन। अबको नेतृत्व विमलेन्द्र निधि, गगन थापा, प्रकाशमान सिंह र डा. शेखर कोइराला जोडीका हातमा गयो भने मात्र अहिले देखिएका विकराल समस्या समाधान गर्ने र जीवन्त, जुझारु र लोकतन्त्रको पहरेदार कांग्रेस बन्ने छ।

कांग्रेसको सुदीर्घ संघर्षमा धनराज गुरुङ, डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे आदि जल्दाबल्दा तरुण छन्। विगत २०÷२५ वर्ष तिनले कांग्रेसको राजनीति गरेका छन्, अनेक आरोह–अवरोह पार गरेका छन्। कांग्रेसको नेतृत्व लिन ती सबै सक्षम छन्। कांग्रेस रह्यो भने नै ती नेता हुने हुन्। अहिलेको प्रमुख चुनौती भनेकै नेकपाको सर्वसत्तावादी रणनीतिबाट लोकतन्त्र बचाउने र मुलुकमा देखा परेका भ्रष्टाचार, सरकारको अकर्मण्यता र सर्वोपरि मुलुकको ‘भूसंवेदनशीलता’ जोगाउने हो। कांग्रेस रह्यो भने मात्र मुलुक रहनेछ। प्रजातन्त्र बाँच्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.