प्रहरी हिरासतमा महिलाको मृत्यु
रौतहट : गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्रको हिरासतमा एक महिलाको बुधबार राती मृत्यु भएको छ । अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी ती महिला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउतको गरुडास्थित प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु भएको हो । उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी डीएसपी भरत श्रेष्ठले पुष्टि गरे।
के कारणले मृत्यू भयो भन्ने अनुशन्धान भइरहेको उनले जानकारी दिए । गुजरा नपाको कटानी बजारका २१ वर्षीय सम्राट तामाङ र राधिकालाई उनका श्रीमान सुमन राउतले शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेको भन्दै बुधबार साँझ वडाअध्यक्ष अशोक कुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।
रंगपुर प्रहरी चौकीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि राती नै दुबैको स्वास्थ्य जाँच गराइएको थियो । चन्द्रनिगाहपुर हिरासतमा महिलालाई राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवाकेन्द्रमा राख्न लगिएको थियो ।
मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको र लामो समयदेखि औषधि सेवन गरिरहेको प्रहरीलाई जानकारी गराएको बताइएको छ । स्वास्थ्य जाँच गर्ने क्रममा पनि आफू छारेरोग बिरामी भएको बताएको प्रहरीले जनाएको छ ।
गुजरा नपा २ का वडाअध्यक्ष थारुले राधिकाले लामो समयदेखि छारेरोगको उपचार गराइरहेको बताएका छन । हिरासतमा महिलाको मृत्यु भएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।