१८ दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक खुल्यो
बेनी : १८ दिनदेखि अवरुद्ध मुस्ताङ जोड्ने एक बेनी-जोमसोम सडकमा बिहीबार साँझदेखि सिधा यातायात सञ्चालन भएको छ। म्याग्दीको अन्नपूर्ण-३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो।
बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख असोक तिवारीले निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ ट्याक खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको जानकारी दिए।
‘घाँसा नजिकैको थाप्ल्याङमा खोलामा आएको बाढी पन्छाउन डोजर पठाएका छौं,’ उनले भने ‘भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थका समेत प्रयोग भएको छ।’
सडक अवरुद्ध हुँदा मुस्ताङमा आवत जावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो। सडक खुलेपछि सवारी साधनहरु गन्तब्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।
बिच बिचमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उनले बताए। यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो।
मुस्ताङबासीको जनजिवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौ मूल्यका स्याउ समयमै बजार पुर्याउनका लागि बेनी-जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।
आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकाहरुसँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उनको भनाई छ।