१९ दिनकी सुत्केरी पौवामा : जमिन भासिदा ३ सय घर जोखिममा
सन्धिखर्क : २० वर्षीय विमला नेपाली सुत्केरी भएको १९ दिन भएको छ। एक हप्तादेखि उनी शितगंगा नगरपालिका-१२ कोठियाको पौवामा बसेर बच्चाको स्याहारसुसार गरेकी छिन्। शुक्रबार दिउँसो जमिन भासिएर घर पहिरोले लगेपछि उनी बच्चालाई लिएर पौवामा बसेकी हुन्। ‘बस्दै आएको घर पहिरोले भत्कियो यहीँ बसेर ज्यान जोगाएका छौँ। बच्चालाई जेनतेन स्याहार गरेकी छु’। उनी भन्छिन्, ‘आफुले पौष्टिक आहार खानु पर्ने समय हो तर के गर्नु घर भत्किएपछि जेनतेन खरो धानेकी छु।’ आफैँले काम गर्न पनि सक्दिन्। अरुले दिएको राहातको चाउचाउ र बिस्कुटले ४ दिन खरो धानियो, पछि राहात आएपछि बाहिरै भात पकाएर घरकाले खान दिनुभएको छ।’
उनी मात्र हैन् २६ दिनकी सुत्केरी सुस्मा नेपाली पनि पौवामा बसेकी छिन्। जमिन भासिएर घर भत्किएपछि उनी पनि पौवामा बस्न बाध्य छिन्। शितगंगा नगरपालिकामा जमिन भासिएर पहिरो जाँदा ६१ घर परिवार विस्थापित भएका छन्। उनीहरु पाटी पौवा र खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।
नगरपालिकाको वडा नम्बर ११ र १२ मा जमिन भासिँएर पहिरो जाँदा सिंगो क्षेत्रनै जोखिममा परेको छ। झण्डै ३ सय घर पहिरोको जोखिममा रहेका छन्। उक्त स्थानमा जमिन धुजाधुजा भएर फाटेको छ। शितगंगा नगरपालिकाको वडा नम्बर १२ कोठियामैदान क्षेत्र र वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा त्यस क्षेत्रकै ३ सय घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।
‘गत शुक्रबार दिउँसो कोठियामैदान र ढुङ्गेसेरा क्षेत्रमा एक्कासी चारैतिरबाट जमिन भासिएर पहिरो गयो। गाँउदेखि माथि गएको पहिरोले केही घर बगायो तर अधिकांस घर भने पहिरो नआए पनि ढलेर नष्ट बने। १० मिटरको दुरीमा रहेका २ घर अहिले करिब ४० मिटरको दुरीमा पुगेका छन्।’ शितगंगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बाबुराम गैरेले भने। ‘पानी बग्ने खोल्साहरु अग्लो अबस्थामा छन भने अधिकांस बिजुलीका पोलहरु भुइमै लडेका छन्। बिजुलीका तारहरु चुडिएका छन्।’ उनले भने, ‘सम्मै रहेका खेतहरु अहिले भिरालो बनेका छन्। झट्ट हेर्दा भुकम्पले तहसनहस पारे जस्तो देखिन्छ।’
पहिरो गएको क्षेत्रका सबै गाउँलेनै त्रसित छन्। वडा नम्बर ११ को ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिदा ५ घर पुर्ण रुपमा भत्किएका छन्। १३ घर पहिरोको उच्च जोखिममा रहेको र झण्डै २ सय घरको सिंगो क्षेत्रनै पहिरोको जोखिममा रहेको शितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कपिल आलेले जानकारी दिए।
जमिन भासिँएर पहिरो जाँदा भएको यकिन क्षतिको विवरण संकलन गर्न र आवश्यक्ताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ। घर भत्किएका र पहिरोको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ।
पहिरोले मानवीय क्षति नगरेपनि घरहरु बगाएको छ। घरमा पालेका भैँसी, गाइृ, गोरु, बाख्राहरु यत्रतत्र बाँधिएका छन्। सबै गाउँले गाईभैँसी कहाँ बाँध्ने आफुहरु कहाँ ,कसरी बस्ने भन्नेमा चिन्तित छन् शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए। उनले सबै बस्तीलाई स्थानान्तरण गर्नुपर्ने बताए। पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन्। सबै गाउँको जमिन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नु पर्ने उनको भनाई छ।