प्रदेश ५ को राजधानी दाङ प्रस्ताव
बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश हुने तयारी भएको छ । प्रदेश सरकारले शुक्रबारको बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरण सम्बन्धी छलफल संसदमा सुरु भएको बताए । ' शुक्रबार कार्यविधि पेश हुन्छ, अब छलफल सुरु भयो भन्ने बुझ्नुस्,' उनले भने ।
नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ । शीर्ष तहमा निर्णय भइसकेकाले प्रदेश संसदीय दलले पनि प्रस्ताव पारित गर्न लागेको श्रेष्ठले बताए ।
राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ । विपक्षी दलले भने यस बारे बोलेको छैन। राजधानीका विषयमा सांसदहरु विभाजित थिए । शीर्ष तहमा निर्णय भएपछि भने एकमत देखिएका छन् ।