व्यस्त मान्छेहरू ! मेरो मलामी नआउनू

व्यस्त मान्छेहरू ! मेरो मलामी नआउनू

मेरो सपना थियो, म मर्दा एकदमै धेरै मलामी होऊन्। सारा देशवासीलाई मेरो मृत्युको खबर थाहा होस् र उनीहरूलाई दुःख लागोस्। मरण त्यसरी होस्। गल्लीमा कुकुर मरेजस्तो मृत्यु नहोस्। 

अहिले लाग्छ, मेरो सपना सधैं सपनामै रहोस्। कुकुरको मृत्युमा मान्छे दुःखी नहोला तर उसलाई चिन्ने अरू कुकुर दुःखी होलान् नि। हामीले कुकुरलाई कहिल्यै सम्मान गरेनौं है ? जन्मने, बच्चाबच्ची पाउने, मर्ने काम मात्रै गर्नु, आफ्ना लागि मात्रै बाँच्नु भनेको तुच्छ जिन्दगी हो। कुकुरको जिन्दगी जिउने ? मान्छे भएर पशुजस्तो जिउने ? अरे ! मनुष्य, तिमीलाई आफूले देखेको जिन्दगीमा मात्रै विश्वास छ है ? अरूको आँखाबाट कहिले हेर्न आउला ? कुकुरहरूले पनि जिन्दगी राम्रो बनाउन र उनीहरूजस्तै कुकुरका लागि राम्रो भविष्य निर्माणका लागि केही पहल नगरेका होलान् र ? हामीले मानिसको कल्याण सोच्छौं भने पशुहरूले आफ्नो र आफ्नो जातिको। यसरी हेर्दा हामी र उनीहरूबीच के फरक भयो ? हामी स्वघोषित सर्वश्रेष्ठ प्राणी पो हौं कि ?
भागदौडको दुनियाँ छ। मान्छेलाई बीस सेकेन्ड म्यासेज रिप्लाई गर्ने फुर्सद छैन। जिउँदो हुँदा म्यासेजको रिप्लाई नगर्नेहरू म मरेपछि मेरो जलेको लासलाई हेरेर बीस मिनेटसम्म भावुक हुन सक्लान् ? मान्छेको भौतिक शरीर लास हेर्दै आर्यघाटमा हुन्छ तर उनीहरूको मन छुटेको कामको हिसाब गरेर अत्तालिइरहेको हुन्छ। फलानोको मृत्यु भएर पशुपति आर्यघाट गएको थिएँ, त्यही भएर फलानो काम छुनै पाएको छैन। यो काम झनै गरेको छैन। बर्बादै भयो। मर्नेहरू आफू मरेर जान्छन् तर जिउनेलाई किन अप्ठ्यारो बनाउँछन् ? यस्तो प्रतिक्रिया पक्कै आउनेछ। म जलेर धुवाँ भएर उडिरहँदा कति गाह्रो होला यस्तो कुराकानीले। हावाले पक्कै मेरो लासको धुवाँसँग मान्छेहरूको कुरा गर्नेछ। ओहो ! मेरो मलामी नआउनू ल। व्यस्त मान्छेहरू।

यतिसम्म कि मेरो लास जलेर खरानी भइन्जेल हेरिरहने मान्छे पनि कोही नहोस्। आँसु खसालेर दुई मिनेटसम्म भावुक हुने पनि कोही नहोस्। मेरो मृत्युको कारण कोही कसैको समय किन बर्बाद गर्ने ? म बरु एक्लै मरुम्। गुमनाम। लासवरिपरि झिँगा होस्। गिद्धले लुछ्दै होस्। वा लोप हुन लागेको बाघले मलाई खाएर केही समय आफ्नो आयु लम्ब्याओस्। होइन भने धुर्त स्यालले दुईचार दिनको आहारा बनाएर मीठो मानेर खाओस्। बचेखुचेका टुक्राहरू माटोमा मिलेर सुन्दर लज्जावती झार उम्रियोस्। त्यो झारलाई देखेर बच्चाहरू मलाई नमस्ते गर्‍यो भन्दै उफ्रिऊन् तर कदापि व्यस्त मान्छेले मेरो लास कहिल्यै नदेखोस्। मेरो मृत्यु थाहा नपाओस्। कम्तीमा बच्चाहरू हतार थाहा पाउने गरी ठूला भइसकेका हुने छैनन्, लज्जावती झारसँग खेलमा रमाउँदा।

अहिलेको समयमा भेटुम् न भन्नेहरू मलाई अजीव आत्मा लाग्छन्। त्यो पनि बिनाकाम ! भृकुटीमण्डपमा चियागफ गर्न। कर्पोरेट दुनियाँमा आफ्नो अस्तित्व दाबी गर्नु नै छैन उनीहरूलाई। कस्तो बेकामे साथीहरू ! मलाई सम्झिएर पक्कै दुःखी हुन्छन्। आर्यघाटमा लासको धुवाँ हेरेर बात मारिएको रहेछ भने मेरो मृत्युले झन् उनीहरूलाई विरक्त बनाउला। तर, त्यस्तो नहुनु ल। अब तपाईंहरूले आफ्नो अस्तित्व पनि दाबी गर्नुपर्छ ल। एकछिन पनि नटोलाईकन, कसैसँग कुरा नगरीकन निरन्तर काममा खटिरहनुपर्छ। मेरा यस्ता बेकामे साथीहरूलाई निरन्तर काम गर्नुभन्दा निरन्तर गफ गर्नुमा र अरूको दुःखमा च्वःच्वः गर्दैमा मज्जा आउँछ। म कहिलेकाहीँ चाहेर पनि उनीहरूसँग भेट्न सक्दिनँ। उनीहरू मलाई मुडीको ट्याग लगाइदिन्छन्। अनि आफ्नो अप्ठ्यारो बिर्सेर मलाई सहजता प्रदान गर्छन्।

भागदौडको दुनियाँ छ। मान्छेलाई बीस सेकेन्ड म्यासेज रिप्लाई गर्ने फुर्सद छैन। जिउँदो हुँदा म्यासेजको रिप्लाई नगर्नेहरू म मरेपछि मेरो जलेको लास हेरेर बीस मिनेटसम्म भावुक हुन सक्लान् ? मान्छेको भौतिक शरीर लास हेर्दै आर्यघाटमा हुन्छ तर उनीहरूको मन छुटेको कामको हिसाब गरेर अत्तालिइरहेको हुन्छ।

मैले भेटम् भनेपछि सबै काम छोडेर भृकुटीमण्डप सवार हुन्छन्। यस्ता साथीहरू एउटा हातको पाँच औंला जत्ति पनि छैनन्। यिनीहरू नै मेरो मृत्युको खबर नपाउनाले दुःखी हुनेछन्। दुःखले गर्दा चियाका कपहरू रित्याउनेछन्। आफ्नो अमूल्य समय भृकुटीमण्डपको पन्ध्र रुपैयाँको चियामा पोखाउने छन्। उफ् ! उनीहरूको जिन्दगी। हप्ता दिनभर मरिमेटेर काम गरेर एक दिन राम्रो रेस्टुराँमा कफी खान पनि जाँगर गर्दैनन्। उनीहरूको सदाबहार डायलग— यत्तिकै ठीक छ।

प्रेमी/प्रेमिकाका हात समातेर कफी अर्डर गर्छन्। एक कप कफी राम्रोसँग सक्किन पाएको हुँदैन, छुट्टिन हतार हुन्छ। नछुटेर के गर्नु ? कामहरू छुटिरहेको हुन्छ। आनन्दले दुई÷चार मिनेट प्रेमिकाको हात समात्ने फुर्सद कहाँ ? यस्ता बेफुर्सदी मान्छेहरू मेरो मृत्युमा मलामी आउने ? हुन्न। हुन्न, हुँदै हुन्न। मेरो मृत्युको साक्षी मात्र म हुनेछु र प्रकृति हुनेछ अनि हुनेछन् कहिल्यै नचिनेका घाटेहरू। मेरा बेकामे साथीहरू पनि प्रगति गर्नुपर्‍यो भनेर व्यस्त रहलान्। उनीहरूलाई म अल्झाउन चाहन्नँ। यसै पनि उनीहरूले आफ्नो गति सुस्त राखिरहेकै हुन्छन्। सुस्तेहरूलाई के बोलाइरहनु ? (यो पढेर मन दुखाउनेछन्। नदुखी त कहाँ चेत्छ र मान्छे ?)

पुँजीवादी समाजमा सबैभन्दा ठूलो कुरा धन हो। जाबो मन त किन्न सकिहालिन्छ नि। मान्छेको माया, इमोसनहरू सबैसबै किन्न सकिन्छ। पैसाअनुसार जस्तो भन्यो त्यस्तै गर्लफ्रेन्ड किन्न सकिन्छ। लिलामीमा छ मान्छेको मन। धन्न, मैले मेरो काम नलाग्ने मन लिलामीमा राखेको छैन। फेरि काम नलाग्ने चीजप्रति कसलाई चासो ? कसले किनोस्। फुर्सद पनि हुनुपर्‍यो, त्यसरी छानीछानी किन्नलाई। हातैले छामेर, ओल्टाईपल्टाई गरेर किन्न। विभिन्न वेबसाइटमा बिक्रीमा राखिएको मनको फोटो हुन्छ। टक्क हेर्‍यो अनि आँखालाई जुन राम्रो लाग्छ, अर्डर गर्‍यो। पुँजीवादी समाजमा समय भन्नु पैसा हो तर एक मिनेटको समयलाई कति पैसा बनाउने भन्ने कुरा तपाईंको साधनामा भर पर्छ। भृकुटीमण्डपतिर एक महिनामा आधा महिना चिया खाँदै आनन्दले गफ गरेर बिताएर कहाँ पैसा बन्छ ? ठूला गफ गरेर हुन्छ ? कर्पोरेट दुनियाँले गफ होइन, काम हेर्छ काम।

म कर्पोरेट दुनियाँलाई सबैभन्दा काम नलाग्ने मनुष्य हुँ। पुँजीवादी समाजले मलाई देखेर उल्लीबिल्ली पार्छ। राति निद्रा लागेर निद्राका दबाई लिनुहुन्छ वा दुःख, पीर, तनावले हैरान भएर मनोचिकित्सकलाई भेटिरहनुपर्छ वा पैसाको अभाव हुँदा बैंक सम्झनुपर्ने वा ब्याजसहित साँवा दिने सर्तमा ऋण लिनुपर्ने अवस्थामा हुनुहुन्छ भने तपाईं कर्पोरेट दुनियाँको अंश भइसक्नुभएको संकेत हो। मन खोलेर रुन पनि मनोचिकित्सक चाहिने। साइक्याट्रिकको औषधिको भरमा आफ्ना इमोसनहरू कन्ट्रोल गर्नुपर्ने। धनी भएर पनि यो हदको गरिबी। कर्पोरेट दुनियाँले तपाईंलाई एक्लै रहन सिकाउँछ। एक्लै मेहनत गर्न। एक्लै अगाडि बढ्न। नशामा डुबेर जीवन बर्बाद पार्नुभन्दा पैसा कमाउनमा आफ्नो समय र मेहनत बर्बाद गर्नु धेरै राम्रो कुरा हो।

मलाई वास्तवमै कसैको एक मिनेट फोकटमै सकाउन मन छैन। मेरो गन्थनमन्थनमा अल्झाउन मन छैन। यत्ति हो, व्यस्त मान्छेहरू मेरो मृत्युमा मलामी नआउनू !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.