अनुराधामा हुइयाँवाद
विजय मल्लको अत्यन्त चर्चित उपन्यास ‘अनुराधा’बारे गरिएका अधिकांश टिप्पणी तथ्यमा नभई कपोलकल्पित अनुमानमा आधारित देखिन्छन्। यस उपन्यासको मूल अभीष्ट सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित सिद्धान्तको प्रयोग भनेर व्याख्या गर्ने गरेको पाइन्छ। फ्रायडका कतिपय सिद्धान्त मानवीय एवं व्यावहारिक दृष्टिले मात्र नभई मनोविज्ञानकै दृष्टिले पनि त्रुटिपूर्ण एवं भ्रमपूर्ण छन्, आपत्तिजनक छन्। उनले आफ्नो भौतिक एवं मानसिक परिवेशअनुरूप प्रतिपादन गरेका कारण उनका कतिपय सैद्धान्तिक मान्यताहरू हाम्रा सन्दर्भमा मात्र अस्वाभाविक लागेका होइनन्। पश्चिमी सामाजिक एवं मनोवैज्ञानिक परिवेशमै पनि उनका कतिपय सैद्धान्तिक व्याख्याको आलोचना भइरहेका छन्, त्यसका लागि बहस गर्ने ठाउँ प्रशस्त छन्।
नेपाली समालोचनामा अनुराधा उपन्यासका विषयमा गरिएका चर्चा तथा टिप्पणीहरू पूर्णतया सतही एवं त्रुटिपूर्ण मात्र नभई कपोलकल्पित पनि देखिन्छन्। यीमध्ये कतिपय टिप्पणी अनुराधा उपन्यास नै नपढी लेखिएका छन् भने कतिपय फ्रायडीय सिद्धान्तको अध्ययन नै नगरी सुनेकै भरमा गरिएका छन्। हास्यास्पद कुरा फ्रायडीय सिद्धान्तको हवाला दिएर अनुराधाको चर्चा गर्नेमध्ये कतिपयले अनुराधा उपन्यासै नपढी चर्चा गरेको स्थिति प्रस्ट देखिन्छ। यसको पुष्टिका लागि केही उदाहरण तल उल्लेख गरिन्छ —
(१) ‘उपन्यासमा काठमाडौंको सम्भ्रान्त जागिरे परिवारकी पुलपुलिएकी कान्छी छोरी हो अनुराधा। उसका पिता उपत्यकाबाहिर जागिर गर्छन्। ऊ कालिम्पोङको कन्भेन्ट स्कुलमा पढ्छे र बिदाको बेला पितासित जागिर भएकै ठाउँमा गएर बस्छे’ ...अनुराधामा पिताप्रति अधिक आकर्षण छ’ (नेत्र एटम, ‘अनुराधा ः मनोविश्लेषणको प्रयोगशाला’, अन्नपूर्ण पोस्ट्) भनेर भ्रमपूर्ण उल्लेख पनि गरिएको छ तर अनुराधाका बाबु उपत्यकाबाहिर जागिर गर्ने व्यक्ति नभएर कालिम्पोङ, कलकत्ताबाट ह्लासासम्म व्यापार पैmलिएको अन्तर्राष्ट्रिय स्तरका व्यापारी हुन्।
(२) ‘रत्नमान नामक एउटा उच्च ओहदा र सम्पन्नतायुक्त व्यक्तिलाई सौतामाथि छोरी दिएर विवाह गर्ने नियतले स्वयंवरको रूपमा रचित त्यस पूजामा रहेको षड्यन्त्र अनुराधालाई थाहै हुँदैन’ (राजेन्द्र सुवेदी, नेपाली उपन्यास ः परम्परा र प्रवृत्ति) भनेर अत्यन्त त्रुटिपूर्ण एवं भ्रामक विवरण दिइएको पाइएको छ। अनुराधालाई सौतामाथि दिइएको होइन। प्रस्तुत उपन्यासमा रत्नमानको पहिलो बिहे भइसकेको भन्ने पुष्टि हुनु त परै जाओस् संकेतसम्म पनि पाइँदैन। यसैले सुवेदीले यस्तो निराधार विवरण के आधारमा लेखेका हुन् कुन्नि ?
३. अनुराधा आमासँग नबसी बाबुसँग बसेर हुर्केकी, बाबुकी अत्यन्त मन परेकी कान्छी छोरी हो (दुर्गाबहादुर घर्ती, मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान) भनेर चर्चा गरिएको पाइए पनि ऊ बाबुसँग बसेर हुर्केकी होइन। १८ वर्षको उमेरसम्म कालिम्पोङको बोर्डिङमा बसेर पढेकी अनुराधा त्यसपछि पढ्न लखनौ गएकी छ। त्यसबेला उसका बा र दाइ ह्लासामा भएको कुरा अनुराधा स्वयंले बताएकी छ।
अनुराधा उपन्यासको चर्चा गर्ने अधिकांश व्यक्तिले अनुराधालाई पितृरति ग्रन्थीले ग्रसित भनेर व्याख्या गरेका छन्—
(१) ‘अनुराधामा प्रारम्भदेखि नै पितृरति ग्रन्थी विकास भएको हुँदा उसलाई दिदी र आमाले ईष्र्या गर्छन्’ (कृष्णहरि बराल र अन्य, उपन्यास सिद्धान्त र नेपाली उपन्यास)।
यो भनाइ पनि अत्यन्त हास्यास्पद एवं त्रुटिपूर्ण देखिन्छ। अनुराधाले भोगेका सुविधाहरू आफूले भोग्न नपाएकाले अनुराधाका दिदीहरूमा ईष्र्याको भाव उत्पन्न हुनु केही मात्रामा स्वाभाविकै मान्न सकिए पनि नेपाली समाजको व्यावहारिक पक्ष हेर्दा बिहे भएर गइसकेका दिदीहरूले सबैभन्दा कान्छी बहिनीलाई छोरीसरहको व्यवहार गर्ने गरेको पनि हामीले देखेकै छौं। ल भैगो, दिदीहरू त उही पुस्ताका भएकाले ईष्र्या भएको कुरा मानिदिँदा पनि सिंगो मानवीय संवेदना नै दुर्घटित हुने गरी यसप्रकार गरिएको दीर्घकालीन ईष्र्यालाई यथार्थका रूपमा स्विकार्न सकिँदैन।
आमाका पक्षबाट हेर्दा अनुराधामा प्रारम्भदेखि नै पितृरति ग्रन्थी विकास भएको हुँदा आमाले ईष्र्या गरेको भन्नु अत्यन्त गैरजिम्मेवार, निन्दनीय एवं आपत्तिजनक अभिव्यक्ति हो।
फ्रायडीय मनोविश्लेषण सिद्धान्तमा व्यक्तित्व विकासका मुख्य ५ मनोलैंगिक चरणमध्ये तेस्रो चरण मानिएको (तीन वर्षदेखि पाँच वर्षसम्म) लिंगप्रधान अवस्थामा बालबालिका विपरीत लिंगको अभिभावकसँग आकर्षित हुन्छन् र यो आकर्षण यौनमा केन्द्रित हुन्छ भन्ने दृष्टिकोणको प्रस्तुति पाइन्छ। यसअनुरूप उक्त अवस्थामा छोरीले आमाको ईष्र्या गर्छन् भनेर उल्लेख गरिएको छ, तर आमाले छोरीको ईष्र्या गर्छन् भन्ने सिद्धान्तको निर्माण त परै जाओस् यस्तो पनि हुनसक्छ भन्ने प्राक्कल्पनाको संकेतसम्म पनि आजसम्म कुनै मनोवैज्ञानिकले गरेका छैनन्।
अझ व्यावहारिक यथार्थलाई हेर्ने हो भने सन्तान जन्मिसकेपछि एउटी आमा तनमनले सन्तानमै समर्पित हुने हुँदा केही मात्रामा बाबुले सन्तानप्रति ईष्र्या राख्न सक्ने स्थितिलाई नकार्न सकिन्न। आमा सन्तानको स्याहारसुसारलाई बेवास्ता गर्दै लोग्नेले चाहेका बेला समर्पित हुन नसकेका स्थितिमा बरु बाबुचाहिँ आफ्ना सन्तानप्रति ईष्र्यालु हुन सक्ने सम्भावना अधिक रहन्छ। मनोविश्लेषणकै हवाला दिएर छोरीलाई प्यार खोसुवाको रूपमा हेर्ने भनेर एउटी आमाको आलोचना गर्नेहरूले क्षणिकै भए पनि अधिकांश बाबुमा देखिन सक्ने यस प्रकारको ईष्र्याजन्य व्यावहारिक यथार्थलाई मनोविश्लेषणको कुन सिद्धान्तअन्तर्गत व्याख्या गर्लान् ?
व्यक्ति मनोविज्ञानलाई आधार मानी अपवादका रूपमा यसको पुष्टि गर्न खोजे पनि कुनै पनि आमा आफ्नो मुटुको टुक्राप्रति कुनै हालतमा पनि निरन्तर रूपमा यतिविघ्न कठोर हुनै सक्तैनन्। अझ कतिपय अवस्थामा छोराछोरीलाई माया नगरेको कारण देखाएर लोग्नेसँग सम्बन्ध विच्छेद गर्न तयार हुने आमा विश्वभरि नै देखिएका यथार्थ हुन्।
आमा सन्तानको स्याहारसुसारलाई बेवास्ता गर्दै लोग्नेले चाहेका बेला समर्पित हुन नसकेका स्थितिमा बरु बाबुचाहिँ आफ्ना सन्तानप्रति ईष्र्यालु हुन सक्ने सम्भावना अधिक रहन्छ। मनोविश्लेषणकै हवाला दिएर छोरीलाई प्यार खोसुवाको रूपमा हेर्ने भनेर एउटी आमाको आलोचना गर्नेहरूले क्षणिकै भए पनि अधिकांश बाबुमा देखिन सक्ने यस प्रकारको ईष्र्याजन्य व्यावहारिक यथार्थलाई मनोविश्लेषणको कुन सिद्धान्तअन्तर्गत व्याख्या गर्लान् ?
अनुराधामा पितृरति ग्रन्थीको विकास भएकै थियो भनेर मानिदिँदा पनि यसबाट उत्पन्न समस्याबाट पीडित हुने अनुराधा स्वयं हो, उसका आमा र दिदीमा समस्या देखिने होइन। अनुराधामा विकसित भनिएको पितृरति ग्रन्थीले उसका आमा र दिदीलाई मानवीय संवेदना शून्य बनाएर ईष्र्यालु हुँदै अत्यन्त अमानवीयताको पराकाष्ठा देखाउने क्रियाकलाप गर्ने बनायो भन्ने व्याख्या त एउटा व्यक्तिलाई सर्पले टोक्दा त्यस विषको प्रभावले अर्काे व्यक्तिको मृत्यु हुन्छ भन्ने भ्रमको पुष्टि गर्न खोजिएको असफल दुष्प्रयास मात्र हो। अनुराधामा विकसित भनिएको पितृरति ग्रन्थीले उसका आमा र दिदीलाई यति कठोर बनाएको भन्ने कुतर्कलाई कुनै पनि मनोविज्ञानले पुष्टि गर्न सक्तैन र यस्ता कुतर्कलाई समर्थन गर्न पनि सकिन्न। फ्रायडीय सिद्धान्तको हवाला दिएर गरिएको ‘अनुराधामा भएको पितृरति ग्रन्थीले उसका आमा र दिदीलाई ईष्र्यालु बनाएको’ भन्ने अनर्गल टिप्पणी गर्ने विद्वत्वर्गलाई मनोविश्लेषणात्मक सिद्धान्तबाटै यसखाले व्याख्याको पुष्टि गर्न म चुनौती दिन्छु।
जन्म दिने आमा र सहोदर दिदीहरूले समेत ईष्र्या गर्ने गरी बाबुको लाडप्यार पाएकी भनेर व्याख्या गरिए पनि अनुराधाप्रति उसका बाबुको व्यवहार पनि उदेकलाग्दै छन्। कालिम्पोङमा एक वर्ष सँगै बस्दा पनि बाबुले उसलाई औषधी उपचार गर्ने व्यवस्था नमिलाउनु, बेवारिसे अवस्थामा एक्लै काठमाडौं जान लाग्दा नरोक्नु, अनि रोगी छोरीलाई आफूले चिन्दै नचिनेको कोमलमानकहाँ एक्लै छोडिदिएर आउनुजस्ता मानवताविहीन, संवेदनाविहीन, वात्सल्यविहीन क्रियाकलापलाई चाहिँ हाम्रा विद्वान्हरूले मनोविश्लेषणको कुन सिद्धान्तअन्तर्गत व्याख्या गर्लान् ?
अनुराधाकी आमाले बाबुसँग बस्न नपाएका कारण अनुराधाको ईष्र्या गरेको भनेर टिप्पणी गरिएको पाइए पनि उसकी आमा अनुराधाका कारण लोग्नेसँग बस्न नपाएकी होइन, लोग्नेको कारोबार अथवा उनीहरूको घरगृहस्थीकै कारणले हो भनेर अनुराधाकी आमाले राम्ररी बुझेको हुनुपर्छ।
यी सबै सन्दर्भ हेर्दा अनुराधालाई पतिको प्यार खोसुवा सम्झेर आमा ईष्र्यालु भएकी भनेर गरिएको व्याख्या पनि स्वतः गलत देखिन्छ। आफ्ना सन्तानलाई माया गर्ने लोग्नेप्रति एउटी आमा सधैं कृतज्ञ हुन्छे। लोग्नेले छोराछोरीलाई प्यार गर्दा छोराछोरीसँग प्रतिद्वन्द्विताको भाव कुनै पनि आमाले राख्दैनन्। यो विश्वजनीन यथार्थ हो।
(२) ‘अनुराधामा रत्नमानप्रति बदलाको भावना उत्पन्न हुन्छ र ऊ छुरी लिएर उसको हत्या गर्न जान्छे। पितृरति ग्रन्थीले गर्दा (रत्नमान र बाबुको तादात्म्य रहेकाले) उसको हत्या गर्न नसकेको (कृष्णहरि बराल र अन्य, उपन्यास सिद्धान्त र नेपाली उपन्यास) भन्ने टिप्पणी पनि उदेकलाग्दो नै देखिन्छ।
अनुराधाले रत्नमानको हत्या गर्न नसक्नु ऊभित्र रहेको पितृरति ग्रन्थीका कारण नभई घरभित्रको वातावरण भएको तथ्य उपन्यासमा यसरी स्पष्टसँग उल्लेख गरिएको छ—
‘मैले अनुमानै गरेकी थिइनँ कि यतिका मानिस त्यहाँ हुन सक्तछन् र म यतिकाको सामुन्ने हत्याको कार्य कसरी पूरा गर्न सक्तथें ! मेरो हौसला क्रमशः डगमगाउँदै गइरहेको थियो।’
यसरी कृतिमै भौतिक एवं मानसिक परिवेशको उल्लेख यति स्पष्ट रूपमा हुँदाहुँदै पितृरति ग्रन्थीका कारण हत्या गर्न नसकेको भनेर व्याख्या गर्नु कति जायज हुन्छ ?
प्रस्तुत उपन्यासबारे गरिएको अर्को हास्यास्पद व्याख्या रत्नमानको खलनायकत्वकरण र कोमलमानको आदर्शीकरण पनि हो। रोगी र बेवारिसे अवस्थामा हुँदासमेत अनुराधाको रूपसौन्दर्यबाट मोहित भएर कोमलमानले अनुराधाको जन्मदाता बाबु स्वयं आफ्नी छोरी लिन आउँदासमेत नपठाई जबर्जस्ती आफैंसँग राखेको छ। अपरिचित तथा होशसमेत नभएकी अर्काकी रोगी छोरीको रूपसौन्दर्यमै मोहित भई जबर्जस्ती आफैंसँग राख्ने कोमलमानचाहिँ अनुकूल पात्रको रूपमा चित्रण गरिनु र जल्दोबल्दो बेलाकी एउटी शिक्षित, रूपवती एवं स्मार्ट युवतीलाई प्रचलित परम्परा एवं कानुनअनुसार औपचारिक ढंगले बिहे गर्न खोज्ने रत्नमानचाहिँ प्रतिकूल पात्रमा व्याख्या गरिनु पनि अतिवाद नै हो।
डाइरेक्टरसम्म भएको पुरुषले विवाहमण्डपमा भएको त्यत्रो अपमान तथा बिहेभोजमा भएको अनुराधाको अपमानपूर्ण अनुपस्थितिबाट उत्पन्न घोर बेइज्जतीलाई सहँदै सामाजिक एवं कानुनी सन्दर्भबाट आफ्नी भइसकेकी विवाहिता पत्नीसँग आफ्नो घरभित्र गोप्य कोठामा समेत जबर्जस्ती नगरी हरतरहले उसको मन जित्न खोजेको स्पष्ट हुँदाहुँदै उसलाई खलनायकको उपमा भिराइदिएर उसको आलोचना गर्न नेपाली समालोचकहरूलाई कुन विवेकले दियो होला ? अनुराधा सामाजिक एवं औपचारिक ढंगबाट उसकी पत्नी भइसकेकी अवस्थामा समेत मन जितेर उसलाई प्राप्त गर्ने आकांक्षा राख्नु निन्दनीय हो त ? अनुकूल परिस्थितिमा मात्र नभई प्रतिकूल परिस्थितिमा समेत रत्नमानले अनुराधाको साथ नछोडेको कुरा अनुराधा स्वयंले यसरी बताएकी छ—
‘रत्नमानसिंहले मलाई बौलाउँदा खेरि पनि मिल्काएको रहेनछ। मलाई हिन्दुस्तानमा औषधि गराउन लगेको रहेछ।’ आफ्नो व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा धरापमा पारिदिने, घर भाँडिदिने तथा ज्यानमै दागा धर्ने एउटी दुष्ट केटीलाई एउटा तत्कालीन पुरुषले यसरी सद्भाव देखाएको छर्लंग हुँदाहुँदै रत्नमानलाई खलनायकका रूपमा चित्रण गर्ने नेपाली समालोचकहरूको जबर्जस्ती प्रयास पनि अतिवादी विश्लेषणको पराकाष्ठा नै हो। यस सन्दर्भबाट हेर्दा केही नेपाली समालोचकले कृति गम्भीरतापूर्वक पढेर आफ्नो विवेक प्रयोग गर्नुको साटो हुइयाँको पछि लाग्नु नै सहज मानेको स्पष्टै देखिन्छ।
साहित्यमा चित्रित सम्पूर्ण सन्दर्भ यथार्थको धरातलमा आधारित हुनुपर्ने अपेक्षा गर्नु कहिलेकाहीँ अतिशयोक्ति पनि लाग्न सक्ला। यथार्थको धरातलबाट निकै पर रहेर अति काल्पनिक ढंगले लेखिएका आख्यानात्मक कृति लोकप्रिय भएका उदाहरण विश्वसाहित्यमा प्रशस्तै छन्। त्यस्ता सन्दर्भ ऐयारी, जासुसी आख्यानका लागि मात्र उपयुक्त हुन्छन्। कुनै एउटा सिद्धान्तलाई प्रयोग गर्ने अभीष्टले लेखिएको कृतिका हरेक सन्दर्भ यथार्थको कसीमा खरो उत्रनु अनिवार्य हुन्छ। अन्यथा कृति मात्र नभएर प्रतिपादित सिद्धान्तसमेत असफल हुने सम्भावना प्रबल रहन्छ। अनुराधा उपन्यासका सन्दर्भमा पनि भएको यही नै हो। जन्मदाता आमाबाबुलगायत सिंगो परिवार नै यतिसम्म त्रूmर एवं प्रतिद्वन्द्वी हुनसक्ने सम्भावना देखाइएको कुनै पनि साहित्यिक कृति पूर्व, पश्चिम कतै पनि लेखिएको अहिलेसम्म मेरो जानकारीमा छैन।
समग्रमा भन्नुपर्दा मनोविश्लेषणको प्रयोगशाला बनाउने धुनमा निर्लिप्त हुँदाहुँदै सृष्टिकै सबैभन्दा पवित्र एवं संवेदनशील सन्दर्भ मातृत्व, पितृत्व तथा पारिवारिक सद्भाव नै कलंकित बन्न पुगेको औपन्यासिक दुर्घटना हो अनुराधा उपन्यास। यसैगरी यो उपन्यास फ्रायडीय सिद्धान्तको गलत एवं भ्रमपूर्ण व्याख्या गर्दै फ्रायडीय मनोविश्लेषणको फ्रेमभित्र गलत तरिकाले कोच्न खोजिएको नेपाली समालोचकको दुष्प्रयास हो। यसरी सबै सन्दर्भबाट असफल हुन पुगेको कृतिलाई ‘मनोविश्लेषणको यति व्यापक र सुन्दर प्रयोग भएको अर्काे नेपाली उपन्यास छैन’ भन्नु त झन् हुइयाँवादको पराकाष्ठा नै हो।