पुरुषत्वपीडित पुरुष !

पुरुषत्वपीडित पुरुष !

आज दाजुको बिहे। रत्यौली खेल्दै बसेका आमा हजुरआमाहरूले गीतका भाकामा अझै सुन्दर टुक्का थपे, मादल अझै बेस्सरी घन्कियो। सबैले ‘लु कान्छो आयो कान्छो आयो यसलाई नचाइहाल’ भन्दै तानिहाले। दाइको बिहे त्यसमाथि मन पर्ने गीत र मादलको ताल, सक्दो राम्रो नाचे। एकछिनपछि आगन्तुकको हाँसोले गीतको भाका र मादलको आवाज सबै छोपिदियो, नाच्ने मेसो मिलेन। त्यो कस्तो हाँसो थियो, बुझ्न नखोजी लाज र अप्ठ्यारो मान्दै घरभित्र पसें।

स्कुल पढ्दा स्कुलभरिकै मन पर्ने अनुहार झन्डै तीन वर्षपछि बहिनीका साथीको समूहमा देखें। बहिनीले यी साथी हाम्रैमा बस्छन्, आज ठाउँ मिलाइदिनू है दादा भन्दा मन चंगा भएको थियो। मिलाइदिएँ पनि। तर पनि अघि हाँसेको सम्झेर मन खिन्न भइरह्यो। प्यारो लाग्ने मान्छे छेउकै कोठामा हुँदा पनि उत्साहित हुन सकिनँ। बोल्न जाऊँ कि भनी सोचें तर मनै लागेन। बहिनीको कोठामा ठूलो हाँसो सुनियो। बिहेमा आँखा जुध्दा अदिति मुस्कुराइरहेकी थिई। अहिले पनि मेरै कुरा काटेजस्तो लागेर सुनें। तर, जे सुनें नमीठो कुरा सुनें,

‘ओइ त्यो त कस्तो केटीले जस्तो नाचेको ?’

‘मेरो दाइ हो यार। त्यस्तो नभन न तिमीहरू।’
‘दाइ हो कि दिदी ? हाहाहाहा...।’
‘दिदीजस्तो त मलाई नि लाग्छ तर दाइ नै हो...।’
‘आज अदितिलाई हेर्‍या हेर्‍यै’थ्यो हैन अदिति ?’
‘अँ मलाई त कस्तो नपुंसकले हेर्‍याजस्तो लाग्यो, हिँडाइ नि त्यस्तै।’
‘दाइ नै हो के अलि बिस्तारै बोल। पल्लो कोठामा छ सुन्ला।’

पढाइ र उमेर बढ्दै गर्दा केटी हेर्न र बोल्न असाध्यै लाज लाग्थ्यो। साथीसँग केटीबारे गफ गर्न रमाइलो लाग्थ्यो। मेरा सामुन्ने केटीका कुरा गर्न उनीहरू हिचकिचाउँथे। म आउनासाथ छलफलको विषय बदल्थे। ‘यसले फेरि त्यही केटीलाई सुनाइदेला है’ भन्दै मैलाई हाँसोको पात्र बनाउँथे। जे सुनेनि पचाउने प्रयत्न गर्छु। पढाइबाहेक नाच्न, गाउन, खाना बनाउन, घर सजावट र सरसफाइ आदिमा रुचि छ। ‘कमजोर छस्’ भन्छन्। सोझो गर्दा कसैले टेढो नै गरे पनि पाखुरा ठेल्न जाने हिम्मत आउँदैन। कोही पाखुरा ठेल्नै गए पनि त्यो हिम्मतिलो हो जस्तो लाग्दैन। कि म स्वयं हिम्मत भन्ने शब्दलाई फरक बुझिरहेछु ?

मेरो रुवाइलाई पनि समस्याजसरी देखाइन्छ। अहिले त आमानजिक निराश अनुहार लिएर गए ‘कति पिन्चे भा’को ? अल्लि छोरो बन्’ भन्दै झर्किनुहुन्छ। मन दुखेका बेला आँसु खस्नु त प्राकृतिक होइन र ? मेरो पुरुषत्व कसरी जोडिन पुग्यो ? बुबालाई ममा हर्मोनल डिसअडर छ भन्ने लाग्छ। दाइलाई भाइ हो भनी चिनाउनै लाज लाग्छ। बहिनी पनि साथीसँग परिचय गराउन अप्ठ्यारो मान्छे। मेरो भएकै पहिचान त पुष्टि गर्न यति मुस्किल छ। ती प्रकृतिले नै समाजका लागि पहिचान अन्योलमा पारिदिएकालाई कति कठिन होला आफ्नो पहिचान प्रस्तुत गर्न ?
महिलालाई बुझ्न कठिन हुन्छ भन्छन्, जानेरै भनेका हुन्जस्तो लाग्छ। म जति नै नजिकिन खोजे पनि महिलाबाट तिरस्कृत हुन्छु। दुईवटा कारण छन्, पहिलो त म ‘पुरुष’ ! महिला सतर्क हुने नै भए। पितृसत्तात्मक मूल्यमान्यताले चलाएको समाज र विगतमा पुरुषले जमाएका अनैतिक हैकमका कारण महिलाको सोचाइमा मानिस पुरुष हुनु नै उसको मुख्य अवगुण बनेको छ। उसले प्राकृतिक रूपमा पाएको लिंग सामाजिक रूपमा जन्मसिद्ध अवगुण ठान्छन् महिला। महिला भनेर कहिल्यै अपमान गरिनँ। पुरुष भएकै कारण छुँदा उनीहरूलाई घोच्छ कि जस्तो, हेर्दा पोल्छ कि जस्तो व्यवहार गर्दा नमीठो लाग्छ।

पुरुषले बिहे गरेर श्रीमतीको शरीर सुनले ढपक्कै ढाकिदियो, ऊ मर्द। बेरोजगारीका कारण श्रीमतीको कमाइले उसले घर चलाए, कस्तो नामर्द ! श्रीमतीले घरखर्चको हिसाब नबुझाए समाजकै अगाडि कुट्यो, ओहो कस्तो मर्द। राति अबेर खुट्टै नटेकी घर आउँदा श्रीमतीले कुटे, छ्या कस्तो नामर्द !  त्यसले त पाँचवटी केटीलाई एकैपालि गर्लफ्रेन्ड बनायो, आहा ! क्या मर्द। त्यो त एउटै केटीको मायामा पागल भयो, छ्या कस्तो नामर्द।

प्रेम–सम्बन्धमै पनि पुरुषले महिलालाई भरोसायोग्य, अहिंसात्मक र नैतिकवान् छु भनी प्रमाणित गर्नुपर्छ। पुलिंगी शब्द प्रयोग गरेर सम्बोधन गरिनु म महिलाबाट तिरस्कृत हुनुको पहिलो कारण हो। दोस्रो, महिलालाई हामी पुरुष भएर पनि समस्या अनि उनीहरूले सोचेजस्तो ‘पुरुष’ नभएर पनि समस्या। महिला र पुरुष सामाजिक, आर्थिक र राजनीतिक सबै क्षेत्रमा समान हुनुपर्छ भन्दै प्रस्तुति दिने एउटै कक्षामा पढ्ने केटी साथी कसैले प्रेम प्रस्ताव राखे, ‘छ्या, त्यो त मर्दजस्तो पनि छैन, मलाई त अल्लि रफ एन्ड टफ, अल्लि हेन्डसम र बोल्ड केटा मन पर्छ’ भन्दै टिप्पणी दिन थाल्छे। कतै गएर कम्मर मर्काई नाचौं, कस्तो केटीले जस्तो नाचेको भन्दै मजाक बनाउने पनि महिला नै। त्यही मजाक बनाउँदा आफूले आफ्नै अपमान गरेको बुझ्ने महिलाचाहिँ कति होलान् ? हामी पुरुष पुरुषजस्तो अथवा मर्द बन्न नसक्नु तिरस्कृत हुनुको दोस्रो कारण हो।

नारीवादले असमानताका अनेक कारण प्रचार गरे पनि सामान्य मानिने असामान्य र चुरो कारण हो पुरुष मर्द बन्न खोज्नु, पुरुषलाई मर्द बन्न बाध्य बनाइनु। पुरुषको मर्दांगिनी महिलासँग निश्चय जोडिएको छ। अनि मर्दको परिभाषाभित्र जसले जे राखिदिए पनि स्वतन्त्रता छ। यसको क्षेत्र र सीमा कतै उल्लेख छैन—
– पुरुषले बिहे गरेर श्रीमतीको शरीर सुनले ढपक्कै ढाकिदियो, ऊ मर्द। बेरोजगारीका कारण श्रीमतीको कमाइले उसले घर चलाए, कस्तो नामर्द !
 – श्रीमतीले घरखर्चको हिसाब नबुझाए समाजकै अगाडि कुट्यो, ओहो कस्तो मर्द। राति अबेर खुट्टै नटेकी घर आउँदा श्रीमतीले कुटे, छ्या कस्तो नामर्द !
– त्यसले त पाँचवटी केटीलाई एकैपालि गर्लफ्रेन्ड बनायो, आहा ! क्या मर्द। त्यो त एउटै केटीको मायामा पागल भयो, छ्या कस्तो नामर्द।

लिंगले मात्र म पुरुष हुँ तर पुरुष हो भनी मेरो पुरुषत्वलाई समाजमा चिनाउने पहिचान छैन, जुन समाजले खोजेको छ। म आफ्नो पहिचान भएर पनि पहिचान नै नभएको खोक्रो पुरुष हुँ, समाजका लागि। भविष्यमा श्रीमतीलाई सुनले ढाकेर पालौंला भन्ने चाहना छैन तर आफूले घरको काम सम्हालेर उनलाई अफिस पठाउने रहर भने छ। म ‘इन्टोभर्ट’ भए पनि पत्नी ‘एक्स्टोभर्ट’ होस् भन्ने कामना छ। म दिउँसभर घरको काम गरूँला, छोराछोरी हेरूँला, साँझ उनी आउँदा आफैंले खाना पस्की खुवाऊँ, उनका लुगा धुन पनि समस्या नमानूँ, तर यी सबै काम गर्दा उनले मलाई नामर्दचाहिँ नबुझून्। कोही होलान् त यी प्रस्ताव स्वीकार्ने महिला ?

आँखामा आइसकेका आँसु नखसाली बस्न सक्नु, मीठो पकाउन जान्नु तर श्रीमतीलाई मीठो खुवाइनस् भन्दै कराउनु, सीप र क्षमता भएकी श्रीमतीलाई पाल्ने लोभ देखाई घरभित्रै सीमित गर्नु, सिक्न र देखाउन सक्ने कला मर्दांगिनीमा खोट लाग्छ कि भनेर देखाउन नखोज्नु, पाएको एउटा जीवन पनि यसरी आधाआधा जिउनु नै समाजका अनुसार मर्द हुनु हो भने म मर्द होइन। हुन सकिनँ, हुनु पनि छैन, के मलाई स्वीकार्न सक्नुहुन्छ ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.