प्रदेश ५ राजधानी विवाद : रुपन्देही कांग्रेसको भेला बुटवलमा
बुटवल : प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको तयारी गरेको छ। रुपन्देही कांग्रेसले बुटवलमा भेला गरेर आन्दोलनको मोडालिटी तय गर्ने जनाएको छ। बुटवलको एक होटलमा कांग्रेसको बैठक अहिले चलिरहेको छ।
यस्तै सत्तारुढ नेकपाको बुटवल उपमहानगर कमिटीले पनि प्रदेश सरकारलाई प्रस्ताव सच्याउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। अध्यक्ष बाबुराम पन्थीले बहुसंख्यक जनताको विपक्षमा र आर्थिक व्ययभार थपिने गरी राजधानी नयाँ स्थानमा नतोक्न विज्ञप्तिमार्फत आग्रह गरेका छन्।
यस्तै तिलोत्तमा नगरपालिकाले प्रदेश सरकारको राजधानी प्रस्तावले जनताको अपमान भएको बताउदै निर्णय सच्याउन र रुपन्देही नै राजधानी कायम गर्न आग्रह गरेको छ। नगरप्रमुख वासुदेव घिमिरेले करोडौंमा बनेका संरचना छाडेर नयाँ स्थानमा जानु गलत भएको बताएका छन्।
राजधानी बुटवलबाट सार्न लागिएपछि रुपन्देहीका संघ संस्था र राजनीतिक दलले आन्दोलनको तयारी गरेका छन्। बुटवलमा बैठक गरेर कसरी आन्दोलन गर्ने भन्ने मोडल बनाइरहेको होटल व्यवसायी समुन्द्र जिसीले बताए।