'बझाङका लागि नियमित उडान तालिका छिट्टै दिन्छौं'
बझाङ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी बझाङ र बैतडीमा रहेका हवाइ मैदानको निरीक्षण गर्न आएका संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बझाङका लागि नियमित उडान तालिका छिट्टै दिने बताए। तिनै जिल्लाका हवाई मैदानको स्तरउन्नती भएर कालोपत्रे भइसकेपछि परीक्षण उडान लिएर उनी सुमित एयरको जहाजमा शनिबार बझाङ आएका थिए । मन्त्री भट्टराईले बझाङ वासीलाई विश्वास दिलाउँदै नियमित उडानका लागि छिट्टै तालिका सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे।
परीक्षण उडानको क्रममा मन्त्री भट्टराई लगायत मन्त्रालयका सचिव र नागरिक उड्यन प्राधिकरणका प्रमुख सहितको टोली जिल्ला आएको थियो। सोही अवसर पारी देबल हवाई मैदानमा जिल्लाबासीका तर्फबाट एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बझाङ जिल्लाको हवाई मैदानको रनवे पनि लामो भएको र हवाई मैदान पनि उपयुक्त स्थानमा भएकाले अब कुनै पनि जहाज अवतरण हुनका लागि समस्या नभएको बताए। उनले विगत ६ वर्ष अगाडि आफू बझाङ आउँदा बाटोमा हिउँ परेर हतारमा फिर्ता हुनु परेको स्मरण गर्दै बझाङका लागि धनगढी बझाङ र नेपालगञ्ज बझाङ उडान भर्नु पर्नेमा जोड दिए।
गाडीबाट आउन जान लामो बाटो भएकोले सुत्केरी महिला साथै बिरामीलाई समस्या परेको आफूले पनि जानकारी पाएको हुँदा जहाजको नियमित उडान अति नै आवश्यक भएको बताए। मन्त्रीहरुको स्वागत कार्यक्रममा जिल्लाबासीका तर्फबाट यहाँको हावाई जहाजको नियमित आवश्यकताका साथै अन्य पर्यटकीय स्थलको जानकारी दिंदै यस्ता स्थललाई सरकारले प्राथमिकता दिनु पर्ने भन्दै नेकपा पाटी अध्यक्ष मिनबहादुर कुँवरले ज्ञापनपत्र बुझाएका थिए। २०३२ सालदेखि नियमित उडान भएको देबल विमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो।
विमानस्थल कालोपत्रे भइसकेपछि अब सरकारले बझाङका लागि नियमित उडान भर्न आवश्यक रहेको प्रतिनिधिसभा सदस्य भैरबबहादुर सिंहले बताए। उनले भने, 'बझाङबाट तिब्बत मानसरोबर पुग्न सबैभन्दा छोटो नाका भएकाले भारतको राजधानी दिल्लीदेखिका तीर्थ यात्रीलाई मानसरोबर जान सहज हुने हुँदा धनगढी बझाङ नियमित उडान हुनुपर्छ।' दुई वर्षदेखि कालोपत्रेको काम भइरहेको देबल विमानस्थलको सबै काम सकिएको छ। कालोपत्रेका लागि झण्डै ५ करोड ५० लाखको लागत रहेको थियो।