अब बर्दिबासमै होटल मेनेजमेन्ट पढाइ
बर्दिबास : प्रदेश–२ का मुख्य शहर बजार होटलको हब बन्दै छ। कोरोडौं लगानी रहेको होटलका लागि दक्ष जनशक्तिल पाउनै मुश्किल छ। त्यसको व्यवस्थापन गर्न सक्षम हात र दिमाग हुने जनशक्ति नहुँदा व्यवसायीले सोचेको फड्को मार्न सकिरहेका छैनन्। यस्तै समस्याको सामना गर्दै आएका प्रदेश २ का होटल तथा पर्यटन व्यवसायीको दिन फेरिने भएको छ। होटलले सीपयुक्त जनशक्ति पाउने भएका छन्।
महोत्तरीको बर्दिबासमा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश–२ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास सुरु गर्न शाखा कार्यालय स्थापना गरेको छ। शाखाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक समारोहका बीच कार्यालयको उद्घाटन गरेका छन्।
होटल मेनेजमेन्टको पठन पाठन सुरु भएपछि प्रदेश २ का होटल व्यसायी उत्साहित भएका छन्।‘पढेरे आएका जनशक्तिले हाम्रा होटल अब अझै व्यवस्थित हुने होटल व्यवसायीको विश्वास छ’, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरालाल गौतमले भने,‘महँगो तबल तिरे पनि श्रम बजारमा होटल व्यवस्थानमा लागि प्रदेश २ मा दशजनशक्ति पाउन हामीलाई कठिन परिरहेको छ। हाम्रो समस्या समाधारका लागि सरकारले होटल मेनेजमेन्टको पढाइ सुरु गर्नु खुशीको कुरो हो।’ एक हजार २ भन्दा बढी होटल प्रदेश २ मा संचालनमा छन्। यी होटलबाट १८ हजार मानिसले रोजगारी प्राप्त गरिरहेका छन्।
मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको मन्त्री पोखरेलले उल्लेख गर्दै भने,‘सरकारले प्राविधिक र ब्यवहारिक शिक्षामा जोड दिने नीति लिएको छ।’ शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उदेश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ।
मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीयतह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको छ। जीवनोपयोगी ब्यवहारिक शिक्षा बढाउन अब जडिबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता बिषय समावेस गरिएको छ।
पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश–२ स्तरीय बर्दिबास शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास सुरु गर्ने जनाएको छ। यसका लागि एसएलसी (कक्षा–१२) मा कम्तीमा ‘डि+’ अङ्क ल्याइ उतीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ। यसपाली ८० जना यो लेभलको अध्ययनका लागि छनौट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिबेन्द्र मल्लिकले जानकारी दिए।
यसका अतिरिक्त छोटो अवधीका सीपसम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ। नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपाली होटल ब्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ। यसपाली प्रदेश–२ को बर्दिवास, प्रदेश–१ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दिपककुमार थापाले बताए।