प्रदेश ५ को राजधानीका लागि यस्तो छ अंकगणित
कांग्रेसले विपक्षमा ह्विप नलगाए नेकपाका सांसदले ह्विप अटेर गर्दा पनि राजधानीका पक्षमा दुई तिहाई पुग्छ।
बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ बनाउने सरकारको प्रस्तावमा नेकपाका १४ सांसदले असहमित जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। यी सांसदमध्ये ८ जना सांसद ह्विप नमान्ने योजनामा छन्। तर त्यसो हुँदा समेत प्रदेशको राजधानी भालुवाङ हुने निश्चित भएको छ।
नेपाली कांग्रेसले सरकारले प्रक्रिया मिचेर प्रस्ताव ल्याएको भन्दै विरोध गरिरहेको छ। रुपन्देही कांग्रेस आन्दोलनमा छ। तर कांग्रेस संसदीय दलले भने पक्ष वा विपक्षमा ह्विप जारी गरेको छैन। कांग्रेसले ह्विप जारी नगरेपछि भालुवाङको पक्षमा ६ मत पर्ने निश्चित छ। कांग्रेसका १९ सांसदमध्ये ६ जना राप्ती पारिका छन्।
प्रदेशसभामा ८७ मतमध्ये दुई तिहाईका लागि ५८ मत मात्रै भए हुन्छ।
नेकपाकै ६१ सांसद रहेका छन्। ८ जना सांसदले ह्विप नमाने ५३ मत पर्नेछ। यसमा राप्तीपारिका कांग्रेसका ६ जना सांसदले मत दिएपछि दुई तिहाई पुग्नेछ। त्यसमाथि राष्ट्रिय जनमोर्चाका १ जना सांसद र जनता समाजबादीका दुई जना सांसद राप्ती पारिका छन्। समाजबादीले समेत ह्विप जारी गरेको छैन। सांसदहरुले पक्ष विपक्षमा स्वतन्त्र रुपमा मतदान गरे भने दुई तिहाईभन्दा बढी मत भालुवाङका पक्षमा हुने देखिएको छ।
लुम्बिनी क्षेत्रका सबै नेकपा सांसदले बहिष्कार नगर्दासम्म भालुवाङको प्रस्ताव संसदबाट फेल हुँदैन। सबै सांसद ह्विप उलंघनको पक्षमा नदेखिएपछि राजधानी सार्ने निर्णयका विरुद्धको आन्दोलन शिथिल हुँदै गएको छ।
लुम्बिनीबाट प्रतिनिधित्व गर्ने नेकपाका केन्द्रीय नेताहरु समेत अंकगणितको हिसाव गरेर बसेका छन्। नेकपाका महासचिव विष्णु पौडेलले विपक्षमा दरिलो मत नदेखिएपछि आन्दोलनमा सहभागी नभएको नेताहरुको बुझाइ छ। ‘अखण्ड लुम्बिनीको आन्दोलनमा बामदेव गौतमलाई बोकेर रुपन्देही आउने नेता हो उहाँ, तर अहिलेको मत फरक भयो', नेकपाका एक प्रदेश सांसदले भने, ‘कांग्रेस र समाजवादीले बुटवलको पक्षमा ह्विप जारी नगरेपछि माहोल फरक बन्यो। सडकमा उत्रिएर मात्रै संसदको प्रक्रिया रोकिंदैन।’
महासचिव पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग राजधानीको विषयको निर्णय पुर्नविचार गर्न माग गरेका थिए। आइतबार बालुवाटारमा यही विषयमा मुख्यमन्त्री शंकर पोखरेल र पौडेलबीच भनाभन समेत भएको बताइएको छ। यसअघि समेत मुख्यमन्त्री पोखरेलले पौडेलको नामै किटेर प्रदेश राजधानीको विषयमा मान्छे उचाल्ने काम रोक्न सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए। त्यसयता राजधानीको मुद्धा झन पेचिलो भएको थियो।
मुख्यमन्त्री पोखरेललाई लुम्बिनी क्षेत्रका केही नेकपा सांसदका बलियो समर्थन र कांग्रेसका सांसदको आडले राजधानीको प्रस्ताव ल्याउन सहज भएको हो। पोखरेलले यसलाई बृहत लुम्बिनी निर्माणको चरण भनेका छन्। आज बिहान सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले अखण्ड लुम्बिनीकै बृहत स्वरुप १२ जिल्लामा फैलिएको बताएका छन्।
प्रदेशसभामा अंकगणित दुईतिहाईको पक्षमा जसरी पनि पुग्ने भएपछि वहिष्कारको तयारीमा रहेका नेकपा सांसदहरु समेत पक्षमै उभिनेछन्। ‘जसरी पनि दुई तिहाई पुगेपछि पार्टीको निर्णय उलंघन गर्नुको औचित्य भएन', ती सांसदले भने, ‘तर हाम्रो अडान अन्तिमसम्म पनि बुटवलकै पक्षमा हुनेछ।’
अहिले नेकपा संसदीय दलको बैठक चलिरहेको छ। आजै १२ बजे प्रस्तावमाथि छलफल हुनेछ। छलफल सकिएको १८ घण्टा संसोधनका लागि समय दिइनेछ। सांसोधनको प्रस्ताव पेश भए या नभए पनि मंगलबार सरकारको प्रस्तावमाथि संसदमा मतदान हुनेछ। नेपाली कांग्रेस र संघ संस्थाहरुले आज प्रदेशसभा घेराउ गर्ने तयारी गरेका छन्। लुम्बिनी बन्द आह्वान भने फिर्ता भएको छ।