राष्ट्रिय सभा सदस्यसहित १३ जनामा कोरोना संक्रमण
सन्धिखर्क : अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित समुदायस्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा बढी समाजमा घुलमेल हुनेहरु जिल्लास्तरीय उच्च तहका वर्गमा कोरोना संक्रमण देखिएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा, लगायत १३ जनामा संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा गएका पहिरो प्रभावितहरुको राहात तथा पुनरस्थापनामा खटिएकामा कोरोना देखिएको अनुमान गरिएको छ । यसअघि आश्विन ६ गते देखि परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन राहत उद्वार र पुनरस्थापनामा खटिएकै बेला जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत ७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसको दुई दिनपछि गरिएको स्वाब परिक्षणमा सोही विपद व्यवस्थापनमा सँगै खटिएका १३ जनामा समेत संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।