७२ घण्टापछि ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किए
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ७२ घण्टाको अस्पताल बसाइपछि सोमबार राष्ट्रपति भवन ह्वाइट हाउस नाटकीय ढंगमा फर्किएका छन्। कोरोना भाइरस संक्रमण भएपछि उनलाई शुक्रबार सैनिक अस्पताल भर्ना गरिएको थियो।
‘खतराबाट बाहिर नआइसकेको’ भन्ने चिकित्सकको चेतावानीलाई वास्ता नगरी ट्रम्प ह्वाइट हाउस फर्किएका हुन्। उनले कोरोनाबाट नडराउन समेत सबैलाई आग्रह गरेका छन्।
‘कोभिडदेखि नडराउनुस्’, अस्पतालबाट फर्किनु पहिले ट्वीटरमा लेखेका थिए, ‘यसलाई आफ्नो जीवनमा हावी हुन नदिनुस्।’
ट्रम्पले अस्पतालबाट बाहिरिदा सेतो मास्क लगाएका थिए। ह्वाइट हाउसको बाल्कोनीमा पुगेपछि तुरुन्तै सो मास्क खोलेर खल्तीमा राखेका थिए।
ट्रम्पको रगतमा अक्सिजनको मात्रा कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
अब उनले चाँडै राष्ट्रपतीय चुनावको अभियानमा लाग्ने बताइएको छ।