पञ्चले कानुन हातमा लिएपछि...
बर्दिबास : बलात्कार घटनामा पीडकसँग पीडितको मिलापत्र गराएको अरोपमा प्रदेश–२ बाट १२ जना पञ्च पक्राउ परेका छन् । असोज १ गते यता सप्तरीबाट ३, सिरहाबाट ८ र धनुषाबाट १ गरी १२ जना पक्राउ परेका नम्बर–२ प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए । आर्थिक दण्डजरिवाना गरी गाउँमै घटना मिलाएको आरोपमा उनीहरुमाथि मद्दा चलाइएको हो ।
जघंन्य अपराधमा पञ्चैती गर्नेहरु विरुद्ध प्रहरी कठोर भएर प्रस्तुत भएको डीआइजी सिंहले बताए । 'जघन्य अपराधका घटनामा मिलापत्रले पीडितलाई झन पीडा दिन्छ, 'उनले भने ।
सामान्य झैंझगडा बाहेकका घटना गाउँमै पञ्चैयती गराएको खण्डमा प्रहरीलाई हस्तक्षेप गरी उनीहरुलाई कारवाही गर्न प्रहरी हेटक्वारकै निर्देशन छ । महिला हिंसा, बलात्कार, हत्या जस्ता जघंन्य अपराधका घटनामा पनि पञ्चैत गरेर मिलापत्र गराउन पञ्चहरु पछि पर्दैनन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म प्रदेश २ का आठवटै जिल्लामा बलात्कारका ७६ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७४–०७५ मा प्रदेशका आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका थिए । त्यस्तै २०७५/०७६ मा दुई सय ९६ र २०७६–०७७ मा दुई सय ८५ वटा बलात्कारका मुद्दा प्रहरीले अनुसन्धान गरेको थियो ।
यो त भयो प्रहरीमा दर्ता भएका घटनाको एक तथ्यांक । धेरैजसो गाउँका घटना प्रहरीसम्म आइपुग्दैनन् । पञ्चहरुले गाउँमा मेलाउँदै आएका छन् । बलात्कारीहरुलाई फाँसी दिनुपर्ने माग राख्दैं सोमबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नाराजुलसहित प्रदर्शन गरिएको छ । 'पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’, बलात्कारीलाई फाँसी दें जस्ता नारा लगाउँदै युवाहरुले जिल्ला प्रहरी कार्यालय धनुषा अघि प्रदर्शन गरे । बलात्कार विरुद्ध युवा संगठन नाम समूहले गरेको प्रदर्शनमा ओली सरकारको चर्को आलोचना गरेका थिए ।
बलात्कारीलाई फाँसीको सजाई माग गर्दै गरिएको प्रदर्शन ।
'संविधान संसोधन गरेर बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरिनुपर्ने संगठनकी अध्यक्ष गुञ्जा रायले सरकारसँग माग गरिन् । बलात्कारीलाई कडा कारवाही नहुँदा यस्ता घटना बढ्दै गएकोप्रति समाजिक अभियन्ता सरोज रायले चिन्ता व्यक्त गरे ।
'पीडकहरुलाई राजनीतिक बलमा प्रहरी प्रशासनले संरक्षण दिइहेको छ, 'अभियानी सरोज मिश्रले दावी गरे । प्रदेश २ सरकारले बेटी पढाउ, बेटी बचाउ नारा लिएर कानमा तेल हालेर सुतेको जनकपुरकी बिजेता झाले व्यङ्ग गरिन् । नेवि संघका महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झाले आफ्नो देशमा बढ्दै गरेको बलात्कार घटनालाई गृहमन्त्री रामबहादुर बादलले अरु देशसँग तुलना गरेकोमा आक्रोस व्यक्त गरे ।
बलात्कारका घटना केवल संख्या वा अनुपात होइन्, त्यसमा जीवन, समाजको चरित्र,, सभ्यता, आत्मसम्मान र राज्यको क्षमता जोडिएको हुन्छ । एक छिन पीडितको ठाउँमा उभ्याएर सोच्नुपर्ने अभियान्ताको भनाइ थियो ।
मधेशका गाउँ–गाउँमा देशको कानुन होइन, पञ्चको ‘कानुन’ प्रयोग हुने गरेको छ। कानुनभन्दा व्यवहार ठूलो भन्ने मान्यताले गाउँमा चोरी, लागूऔषधका घटना मात्र होइन, कथित बोक्साबोक्सी, बालविवाह, बहुविवाह, बलात्कारजस्ता संवेदनशील घटनामा रातारात पञ्चैती बसेर निर्णय हुने गरेको छ।
नेकपा प्रदेश कमिटी सदस्य तथा पूर्व संविधान सभा सदस्य निशा साहले गाउँमा हुने पञ्चैतीमा पीडितमाथि न्याय भन्दा अन्याय बढी हुने गरेको बताउँछिन् । उनले भनिन् ‘पञ्चहरुले पीडितहरुलाई प्रहरीको ढोकासम्म जानै दिदैंन ।’ भलादमीहरुको भेषमा देखिने पञ्चहरुले पीडितहरुको भावनामा ठेस पुर्याउने गरेको उनको ठहर छ।
पीडकहरु ठूलाठालू तथा बोलबाला हुने र समान्ति प्रवृत्तिका पात्रहरु पञ्चको भेषमा उभिदा पीडितहरु अन्यायमा पर्ने गर्दछ । ‘पीडितहरु प्रहरी कार्यालयमा पुग्न सहज वातावरण निर्माणका लागि एउटा अभियानको खाँचो छ,’उनले भनिन् ।