हरिवंश दम्पत्तिमा कोरोना संक्रमण
काठमाडौं : कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
अभिनेता आचार्यले मंगलबार फेसबुकमार्फत दम्पत्तिलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन्। स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले बताएका छन्।
‘यहाँहरुको माया, आशीर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं’, हरिवंशले फेसबुकमा लेखेका छन्, ‘कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ।’
आचार्यले आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गर्न अनुरोध गरेका छन्। 'हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला', उनले भने ।