पञ्‍चको मुट्ठीमा कानुन !

पञ्‍चको मुट्ठीमा कानुन !

जनकपुरधाम : अन्याय गर्नेविरुद्ध पञ्चैती गरेर निसाफ दिलाउने भएकोले पञ्चलाई तराईका गाउँहरूमा ‘पञ्च परमेश्वर’ को रूपमा पनि लिइन्छ। सोझो अर्थमा पञ्चलाई मधेसमा अर्को ‘भगवान्’ नै मानिन्छ। तर, पछिल्लो समय ‘पञ्च परमेश्वर’ले कानुनलाई मुट्ठीमा लिएर लाखौंमा बलात्कारजस्ता घटना मिलाउँछन्। अलिकति पीडितलाई दिन्छन्। बाँकी पञ्चहरूआफैं भाग लगाउँछन्। घटना मिलाएको दण्डको रुपैयाँले गाउँमा भोज पनि खुवाइन्छ। प्रदेश २ मा बलात्कार घटनामा पञ्चात गराउने १२ जना पञ्च हालै प्रहरी खोरमा जाकिएका छन्।

पहिले सामान्य वादविवाद, झैंझगडा, बाटोघाटोको विवाद हुँदा गाउँमै बसेर मेलमिलाप गराउँथे। अब त्यो रहेन। अहिले कमिसनको लोभमा महिला हिंसा, बलात्कार, हत्याजस्ता जघन्य अपराधलाई पनि गाउँमै मिलाएर पञ्चहरूले दबाउने गर्छन्। पीडित बालिका र महिलाको अस्मितालाई पैसामा साट्न पछि पर्दैनन्, पञ्चहरू। जबरजस्ती करणीका घटनालाई दबाउन पञ्चको भूमिकामा जनप्रतिनिधिहरूले पनि थपथाप गर्ने देखिएका छन्। पञ्चहरू जघन्य अपराधका घटना मिलाउन प्रहरीको कार्यालयसम्मै पुग्छन्।

पीडा भुल्न मृत्युको सहारा

नारीको अस्मितासँग पञ्चहरूले खेलवाड गर्दा सप्तरीमा गत भदौ ३० गते एक किशोरीले आत्महत्या गरिन्। बलात्कारको घटना मिलाउन गाउँमा पञ्चैती भयो। आफ्नो पीडामा गाउँलेको सहयोग पाउने पीडित बालिकाले अपेक्षा गरेकी थिइन्। तर, त्यसो भएन।

पञ्चहरूले ५५ हजार रुपैयाँ पीडकबाट पीडितलाई क्षतिपूर्ति दिलाउने निर्णय गरे। प्रहरीमा उजुरी दिन जानबाट रोक लगाउँदै गरिएको फैसलामा पीडितले असन्तुष्टि जनाइन् र मृत्युको बाटो रोजिन्। घटनालगत्तै दुई जना आरोपित र चार जना पञ्चलाई प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ।

बलात्कार लुकाउन १० लाखको खेल

छिमेकीको घरमा बोलाएर सिरहामा हालै मुकेशकुमार साहले किशोरीको बलात्कार गरे। विष्णुपुर–१ का मुकेशले गत असोज १२ गते किशोरीमाथि जबर्जस्तीकरणी गरेका थिए। उनको अपराधलाई पञ्चहरूले ५ लाखमा मिलाए। प्रहरीमा दर्ता हुनुपर्ने घटना मिलाएको खबर थाहा पाएर जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी शालिग्राम शर्माको नेतृत्वमाप्रहरी टोली गाउँमा पुग्यो।

अनुसन्धानको क्रममा पीडकसँग ५ लाख र घटना भएको घरबालासँग ५ लाख गरी १० लाखको तमसुक कागज गराएको भेटिएको डीएसपी शर्माले बताए। उनले भने,‘ बलात्कार आरोपी र पञ्चात गरेर मिलाउन खोज्ने ८ जना पञ्चहरूलाई पक्राउ गरेका छौं।’ जरिवाना गरिएको १० लाखमध्ये ५लाख पीडितलाई दिने र ५ लाख पञ्चहरूले भाग लगाउने योजना बनाएको प्रहरी स्रोतले बतायो।

पञ्चको भेषमा जनप्रतिनिधि !
सप्तरीको विष्णुपुर गाउँपालिका–६ का वचवा सरदार र कोभिया सरदारले स्थानीय एक महिलामाथि बलात्कारको प्रयास गरे। गत असोज ११ गते राति उनीहरूले मदिरा सवन गरेर यौन तृष्णा मेटाउन ३६ वर्षीया महिलाको ओछ्यानमै पुगे र बलात्कार प्रयास गरे। रातको १ बजेकाले बिहान कुरा बुझ्ने भन्दै कोभियालाई गाउँलेले वडासदस्य रामकुमार रायको जिम्मा लगाए।

बिहान बसेको पञ्चैतीमा कोभिया उपस्थित भए तर  बचवा आएनन्। यो पञ्चैती वडा कार्यालयमै बस्यो। कुरा मिलेन। पीडकविरुद्ध उजुरी दिन पीडित महिला प्रहरीमा पुगेपछि मिलापत्र गराउनवडाअध्यक्ष बहादुर सदा र वडासदस्य प्रहरीमै पुगे।

सचिव छुटाउन २० लाखको लोभ
जबरजस्ती करणीको आरोपमा वडासचिव मिथिलेश यादव पक्राउ परेका छन्। महोत्तरीको भंगहा नगरपालिका—९ स्थित मुसहरी टोलकी दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडासचिव पक्राउ परेका हुन्। यस घटनामा २० लाख लिएर मिल्न गाउँका पञ्चहरूले पीडितलाई दबाब दिइरहेका छन्। पीडित महिलाले बलात्कारीसँग मिलापत्र नगर्ने चेतावनी दिएपछि उनीहरू फर्केर गए। त्यस लगत्तै भंगहा प्रहरीचौकीले सचिवलाई पक्राउ गरेको महोत्तरीका एसपी टीकाबहादुर केसीले जनाए।

‘अफर’ नस्विकारेपछि ज्यान मार्ने धम्की
गत असोज ९ गते धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा बलात्कृत किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की आयो। १५ वर्षकी बालिकाको बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन दबाब दिए। एक महिनाअघि चार जनाले ती बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। आरोपी दुई जना पुर्पक्षका लागि थुनामा छन्। राजनीतिक दलका नेतासहित आठ जनाको समूहले उक्त घटना ढाकछोप गर्न पञ्चैती राखेका थिए।

यस्तो छ बलात्कारको तथ्यांक
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–०७५ मा प्रदेशका आठ जिल्लामा १ सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। त्यस्तै २०७५/०७६ मा २ सय ९६ र २०७६–०७७ मा २ सय ८५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। चालू आव २०७७–०७८ को हालसम्म ७६ वटा बलात्कार मुद्दा दर्ता भएको तथ्यांक छ। यस्ता धेरै घटनाहरू प्रहरीसम्म नआइपुग्दै पञ्चहरूले गाउँमै मेलाउँदै आएका छन्।

बलात्कारीलाई फाँसीको माग
बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै सोमबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नारा, जुलससहित प्रदर्शन गरिएको छ। ‘पोलपोलमा सरकार, टोलटोलमा बलात्कार’, बलात्कारीलाई फाँसी दे जस्ता नारा लगाउँदै युवाले जिल्ला प्रहरी कार्यालय धनुषाअघि प्रदर्शन गरे। बलात्कारविरुद्ध युवा संगठनले गरेको प्रदर्शनमा ओली सरकारको चर्को आलोचना भएको थियो।

‘संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको सजाय व्यवस्था गरिनु पर्छ’ , संगठनकी अध्यक्ष गुञ्जा रायले सरकारसँग माग गरिन्। बलात्कारीलाई कडा कारबाही नहुँदा यस्ता घटना बढ्दै गएको प्रति सामाजिक अभियन्ता सरोज रायले चिन्ता व्यक्त गरे। ‘पीडकहरूलाई राजनीतिक बलमा प्रहरी प्रशासनले संरक्षण दिइरहेको छ ,’ अभियन्ता सरोज मिश्रले दाबी गरे।

 प्रदेश २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ नारा लिएर कानमा तेल हालेर सुतेको जनकपुरकी विजेता झाले व्यंग्य गरिन्। नेविसंघका महोत्तरी जिल्ला अध्यक्ष आशुतोष झाले देशमा बढ्दै गरेको बलात्कार घटनालाई गृहमन्त्री रामबहादुर थापा बादलले अरू देशसँग तुलना गरेकोमा आक्रोश व्यक्त गरे।

गाउँको आफ्नै कानुन
मधेसका गाउँगाउँमा देशको कानुन होइन, पञ्चको ‘कानुन’ चल्छ। कानुनभन्दा व्यवहार ठूलो भन्ने मान्यतासहित गाउँमा चोरी, लागूऔषधका घटना मात्र होइन, कथित बोक्साबोक्सी, बालविवाह, बहुविवाह, बलात्कारजस्ता संवेदनशील घटनामा रातारात पञ्चैती बसेर निर्णय हुने गरेको छ।

नेकपा प्रदेश कमिटी सदस्य तथा पूर्वसंविधान सभा सदस्य निशा साहले गाउँमा हुने पञ्चैतीमा पीडितमाथि न्यायभन्दा अन्याय बढी हुने गरेको बताउँछिन्।‘पीडितहरू प्रहरी कार्यालयमा पुग्न सहज वातावरण निर्माणका लागि एउटा अभियानको खाँचो छ,’उनले भनिन्।

पञ्चैतीविरुद्ध प्रहरी कठोर
जघन्य अपराधमा पञ्चैती गर्नेहरूविरुद्ध प्रहरी कठोर रूपमा प्रस्तुत भएको नम्बर–२ प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी धीरजप्रताप सिंहले बताए। ‘जघन्य अपराधका घटनामा मिलापत्रले पीडितलाई झन् पीडा दिन्छ’, उनले भने। सामान्य झैंझगडा बाहेकका घटना गाउँमै पञ्चैती गराएको खण्डमा प्रहरीलाई हस्तक्षेप गरिएको ठानी उनीहरूलाई कारबाही गर्न प्रहरी हेटक्वाटरकै निर्देशन रहेको उनले बताए।

बलात्कार घटनामा मिलापत्र गराएको आरोपमा सिरहाबाट पक्राउ परेका पञ्चहरु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.