शे–फोक्सुण्डो निकुञ्जमा ड्रोनबाट गस्ती
डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा चोरी शिकारीलाई रोक्न ड्रोन क्यामेराबाट गस्ती गरिने भएको छ। नोपलको सबैभन्दा ठुलो निकुञ्ज शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँदको समयमा हुने चोरी शिकारी रोक्न अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरी तस्करहरुको निगरानी राख्ने जनाइएको छ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने नेपालकै गहिरो फोक्सुण्डो तालमा आयोजित १६ औं जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकले यस्तो निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जनाकारी दिए। प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलका अनुसार बैठकबाट हिउँदको समयमा अत्याधिक चिसोको कारण निकुञ्जका पोष्टहरु गाभिने भएकाले ड्रोन प्रविधिबाट अनुगमन गर्दा चोरी शिकारी र तस्करको बारे सहजै जानकारी लिन सकिने दावी गरे।
फोक्सुण्डो तालको किनारमा बसेको बैठकले निुकुञ्जको सुरक्षार्थ रहेको नेपाली सेनाको गुल्ममा थप सुरक्षाबल माग गर्ने, यार्सागुम्बा संकलनमा निर्देशिका सच्याउन केन्द्रमा पहल गर्ने, बन्यजन्तु अपराध नियन्त्र इकाइको संयन्त्रलाई संघियता अनुसारको बनाउन राष्ट्रिय निकुञ्ज विभागमा लेखी पठाउने लगायतका महत्वपूर्ण निर्णय गरिएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जनाकारी दिए।
जाडो समयमा स्थानीय समेत करिब छ महिनाका लागि पशु चौपाय सहित चिसो छल्न बेशी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगी हुने हुँदा आधुनिक प्रविधिबाट गस्ती सुरु गरिने निकुञ्जको दावी छ। नेपालमै पहिलो पटक ३ हजार ६ सय मीटर उचाइमा जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठक बसेको प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले जिकीर गरे।
वन्यजन्तु अपराध नियन्त्रण इकाइ तत्कालीन राष्ट्रिय निकुञ्ज विभागको महानिर्देशक हुँदा कृष्णप्रसाद आचार्यले स्थापना गरेका थिए भने फोक्सुण्डो तालमा भएको संस्थापक आर्चाय आफैं उपस्थित रहेका थिए। निकुञ्ज क्षेत्रमा चोरी निकाशी बढेकाले निरन्तर रुपमा संरक्षण गरिराख्न सबैको भुमिका जरुरी रहेको वन सचिव कृष्णप्रसाद आचार्यले बताए।
आर्चायले ठुलो भुगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक भएको बताए। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा संघ तथा कर्णाली प्रदेशबाट स्विकृत विकास योजनाहरु राष्ट्रिय निकुञ्ज विभागको अनुमति लिएर मात्रै सञ्चालन गरिने सबैको हित अनुरुप हुने विश्वास रहेको आर्चालय बताए। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पा र मुगु जिल्लामा फैलिएको नेपालकै सबैभन्दा ठुलो निकुञ्ज हो।