नेमकिपाका निर्वाचित वडा सदस्य नै नेकपा प्रवेश

नेमकिपाका निर्वाचित वडा सदस्य नै नेकपा प्रवेश

भक्तपुर : भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित वडा सदस्यसहित एकसयभन्दा बढी नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

भक्तपुर नगरपालिका १ वडामा निर्वाचित वडा सदस्य विश्वराज शिल्पकार, नेमकिपाका पूर्वजिल्ला सदस्य रामेश्वर बोहरा, नेमकिपा भक्तपुर नगरपालिका १ वडा समितिका सचिव रमेश न्याइच्याई र कार्यकर्ता सुनिल ग्वाछाको नेतृत्वमा बुधबार ती नेता तथा कार्यकर्ताह सत्तारुढ नेकपा प्रवेश गरेका हुन्।

वडा सदस्य शिल्पकार २०५३ सालको स्थानीय निर्वाचनमा पनि नेमकिपाको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। वडा सदस्य शिल्पकारले नेकपा प्रवेश गर्नुअघि असोज १५ गते भक्तपुर नपा प्रमुख सुनिल प्रजापतिलाई आफ्नो पदको राजीनामा बुझाएको जानकारी दिए।

पूर्वजिल्ला सदस्य बोहरा नेमकिपाको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी सांस्कृतिक संघका पूर्वअध्यक्षसमेत हुन्। उनलाई गएको स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा नेमकिपाले वडा अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो।

त्यस्तै नेकपा (नेकपा) प्रवेश गर्ने रमेश न्याइच्याई नेमकिपाको किसान आन्दोलनका अग्रणी नेता स्व. ज्ञानबहादुर न्याइच्याईका छोरा हुन्। स्वर्गीय नेता न्याइच्याई भक्तपुर नगरपालिकाको प्रधानपञ्च, प्रमुख हुँदै पुनः वडा अध्यक्ष बनेका थिए। नेमकिपाको इतिहास बोकेका नेता न्याइच्याईकै छोराले नेमकिपा परित्याग गर्नुलाई भक्तपुरको राजनीतिमा अर्थपूर्ण रुपमा लिइएको छ।

नेमकिपा परित्याग गरेकाहरुलाई नेकपा (नेकपा) का केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सचिव आनन्दप्रसाद पोखरेलले पार्टी प्रवेश गराएका थिए।

यसरी पार्टी प्रवेश गर्नेहरुमा कान्छाकाजी खत्री, विष्णुप्रसाद शिल्पकार, आशाराम गोथे, गणेशकुमार मचामसी, रमिला कार्कीलगायत रहेका छन्। त्यस्तै जनता समाजवादी पार्टीको भक्तपुर नगर समितिका अध्यक्ष रमेश बल्लसमेत बुधबार नै नेकपा (नेकपा) प्रवेश गरेका छन्।

उक्त अवसरमा नेकपा (नेकपा) का केन्द्रीय सदस्य पोखरेलले नवप्रवेशीहरुलाई नवप्रवेशीको रुपमा व्यवहार नगरी पार्टीको नीतिअनुसार पहिलेदेखि काम गरेको आधारमै मूल्यांकन र जिम्मेवारी दिइने आश्वासन दिए।

उनले नेमकिपाको संकीर्णतावाद, व्यक्तिवाद, क्षेत्रीयतावादबाट माथि उठेर नेकपा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको साहस र हिम्मतलाई सलाम गर्दै स्वागत गरे। नेकपा (नेकपा) का अर्का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापतिले नेमकिपाको नेतृत्व र विचार सही नीतिले अघि नबढ्दा निरन्तर खुम्चिँदै आएको जिकिर गरे।

उनले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुको मूल्यांकन गरी सही ढंगले जिम्मेवारी दिने बताए। कार्यक्रममा नेकपा (नेकपा) का अर्का केन्द्रीय सदस्य एवं भक्तपुर सहइन्चार्ज सोमप्रसाद मिश्र, भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले नवप्रवेशीहरुको क्षमताको कदर गरेर उचित जिम्मेवारी दिइने स्पष्ट पारे। 

उनीहरुले हिजो पार्टी फरक फरक भए पनि झण्डा कम्युनिष्ट नै भएकाले नेकपाभित्र कुनै भेदभाव नहुने जिकिर गरे। त्यस्तै नेमकिपा परित्याग गरी नेकपा (नेकपा) प्रवेश गर्नेमध्ये रामेश्वर बोहरा, रमेश न्याइच्याई, विश्वराज शिल्पकार र सुनिल ग्वाछाले पार्टीको सिद्धान्त र विचारसँग बेमेल नभई पार्टीको गलत कार्यनीतिको कारण नेमकिपा परित्याग गरेको बताए।
उनीहरुले पार्टीको विकृतिविसंगति सच्याउन माग गर्दै फरक मत राख्दासमेत उल्टै आफूहरुलाई नै कारबाहीको कोर्रा लगाउने कार्य भएको सुनाए।
नेकपा पार्टी प्रवेश कार्यक्रममा सहभागी नेकपा (नेकपा) केन्द्रीय तथा जिल्ला नेता। तस्बिर : ईश्वरकाजी खाइजू
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.