दुई अध्यक्षको हठले भक्तपुरमा राप्रपा समायोजन पेचिलो

दुई अध्यक्षको हठले भक्तपुरमा राप्रपा समायोजन पेचिलो

भक्तपुर : साविक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का दुई अध्यक्षको हठले भक्तपुरमा पार्टी समायोजन पेचिलो बनेको छ ।

एकता भएको राप्रपाको केन्द्रले देशभरका ७७ वटा जिल्लामा बुधबारभित्र पार्टी समायोजन सक्न निर्देशन दिएको थियो । सोहीअनुसार भक्तपुरका दुई अध्यक्षले आफै समायोजित राप्रपाको जिल्ला अध्यक्ष बन्नुपर्ने हठले गर्दा निर्धारित समयभित्र यहाँ पार्टी समायोजन हुन नसकेको हो ।

यहाँ राप्रपा संयुक्तका अध्यक्ष रामशरण लामिछाने र राप्रपा भक्तपुरका अध्यक्ष माधव खत्री दुवैले समायोजित पार्टीको अध्यक्ष हुनुपर्ने दाबी गरेका थिए । 

भक्तपुरमा रहेका एकीकृत पार्टीका केन्द्रीय सदस्यले दुवै अध्यक्षलाई सहमतिमा ल्याउने पटकपटक प्रयास गरे पनि सफलता हात लागेन । 

भक्तपुरमा एकीकृत राप्रपाका आठजना केन्द्रीय सदस्य रहेका छन् । जसमा राप्रपा संयुक्तका रवीन्द्रप्रताप शाह, रामेश्वर थापा, दिनेश श्रेष्ठ, रामहरि थापा र सानुकाजी हेक्का गरी ५ जना छन् । राप्रपाबाट भने युवती कार्की, नरगोविन्द शंखदेव र रामसुन्दर विष्ट गरी ३ जना रहेका छन् ।

उनीहरुले जिल्ला तहबाटै पार्टी समायोजन टुंग्याउन पहल गरेका थिए तर दुवै अध्यक्षले आआफ्नो दावी नत्यागेपछि केन्द्रले तोकेको समयभित्र पार्टी समायोजन हुन सकेन ।

संयुक्तका अध्यक्ष लामिछानेले भक्तपुरमा आफूहरुको संगठन बलियो भएकाले अध्यक्ष छोड्ने कुरै नहुने जिकिर गरे । सांगठनिक रुपमा कमजोर हुँदा पनि राप्रपाले अध्यक्ष छोड्न नमानेको उनको भनाइ थियो ।

‘भक्तपुरमा पार्टी संगठन हाम्रो बलियो छ’, लामिछानेले भने, ‘त्यसैले अध्यक्ष हामीले छोड्ने कुरा भएन ।’ उनले दुइटै पार्टीको जिल्ला समितिको संयुक्त बैठक बसेर टुंग्याउन खोज्दा पनि राप्रपा पक्ष आउँदै नआएको आरोप लगाए ।

उता राप्रपा भक्तपुरका अध्यक्ष खत्रीले सबैलाई समेट्ने तथा अटाउने गरी प्रक्रिया अघि नबढ्दा सहमतिमा पुग्न नसकिएको सुनाए ।

उनले समायोजित पार्टीको नेतृत्वको सम्बन्धमा विवाद भएको स्वीकार गरे । ‘समायोजित पार्टीको नेतृत्वमा विवाद भएकाले समायोजन अल्झेको हो’, खत्रीले भने, ‘छलफल चलिरहेको छ । यो महिनाभित्र टुंग्याउँछौं ।’

पार्टी समायोजन प्रयासमा क्रियाशील केन्द्रीय सदस्यहरुले पनि सकेसम्म जिल्लाबाटै समाधान खोजिने गरी पहल भइरहेको बताए । पार्टी केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले पार्टी फुटेर फेरि एक हुने क्रममा केही असमझदारीहरु बाँकी रहेकाले समायोजनमा केही विलम्ब भएको बताए।

उनले विभाजित पार्टीको नेतृत्वमा रहिसकेकालाई एकैबाजी नेतृत्वबाट टाढा रहन गार्‍हो हुने भएकाले पनि समायोजनमा समस्या भएको स्पष्ट पारे । ‘समायोजित पार्टीको अध्यक्षमा दुईजनाले दावी गर्दा समस्या आएको हो’, केन्द्रीय सदस्य शाहले भने, ‘तैपनि जिल्लाबाटै समायोजन टुंग्याउँछौं ।’

त्यस्तै अर्का केन्द्रीय सदस्य रामेश्वर थापाले पनि समायोजित पार्टीको नेतृत्वमा मात्रै विवाद भएकाले चाँडै समायोजन टुंग्याइने सुनाए । जिल्लाबाट समायोजन टुंग्याउन नसकिए केन्द्रले दिने निर्णय अन्तिम हुने उनले स्पष्ट पारे ।

केन्द्रले जिल्ला समितिहरुबीच समायोजनमा सहमति नभए पार्टी फुट्नुअघि २०७३ सालमा भएको जिल्ला अधिवेशनबाट अध्यक्ष निर्वाचितलाई अहिले समायोजन हुने पार्टीको अध्यक्ष मान्न सकिने गरी परिपत्र पठाएको थियो । तर भक्तपुरमा उक्त विकल्पमा पनि सहमति नभएको एक केन्द्रीय सदस्य बताउँछन् । उक्त विकल्पमा राप्रपाका अध्यक्ष खत्री सहमत नभएको उनको भनाइ थियो ।

खत्रीले पार्टीमा सहमित गर्न अहिलेसम्म आफूले मात्रै त्याग गर्दै आएकाले योपटक समायोजित पार्टीको अध्यक्ष आफूलाई दिनुपर्ने अडान लिएको ती नेता बताउँछन् । उनका अनुसार नेता खत्रीले पार्टी टुक्रा हुँदा आफूले राप्रपाको मूलधार जोगाएर राखेको जिकिर गरेका थिए ।

‘हिजो पार्टी एकीकरण हुँदा र निर्वाचनमा उम्मेदवार तय गर्ने बेलादेखि पटकपटक मैलेमात्रै त्याग गर्दै आएको छ’, नेता माधव खत्रीको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘त्यसैले अहिले अरु नेताले त्याग गरेर मलाई समायोजित पार्टीको अध्यक्ष दिनुपर्छ ।’

संगठन र जनमतको आधारमा भक्तपुरमा राप्रपाभन्दा राप्रपा संयुक्त नै बलियो छ । त्यसको आधारमा राप्रपा अध्यक्ष खत्रीलाई समायोजित पार्टीको सहअध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बन्न पटकपटक आग्रह गरिँदा पनि स्वीकार नगरेको नेता संयुक्त अध्यक्ष लामिछाने बताउँछन् ।

एकीकृत राप्रपाले आउँदो चैतमसान्तभित्र जिल्ला अधिवशेन गर्नुपर्ने कार्यतालिका बनाएको छ तर विश्वव्यापी कोरोना भाइरस संक्रमण महामारी फैलिएकाले उक्त मिति संशोधन हुनसक्ने बताइएको छ ।

केन्द्रले असोज २१ भित्र जिल्लाजिल्लामा पार्टी समायोजन टुंग्याउन निर्देशन दिए पनि हालसम्म १९ वटा जिल्लामा मात्रै समायोजन प्रक्रिया टुंगिएको केन्द्रीय सदस्य शाहले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा ललितपुरमा मात्रै समायोजन प्रक्रिया टुंगिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.