भक्तपुरमा कोरोना संक्रमित ३ हजार नजिक
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार नजिक पुगेको छ।
बिहीबार एकैदिन एकसय ५९ थपिएपछि भक्तपुरमा संक्रमितको संख्या २ हजार ८ सय ९७ जना पुगेको हो। जसअनुसार एकहजार ६ सय २२ पुरुष र एकहजार २ सय ६५ जना महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो।
स्वास्थ्य मन्त्रालयले बिहीबार भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरी जम्मा एकसय ३५ जनालाई संक्रमण पुष्टि भएको जनाएको थियो तर भक्तपुरमा एकसय ५९ जना संक्रमितको विवरण प्राप्त भएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।
उनका अनुसार ८० पुरुष र ७१ महिला गरी एकसय ५१ जनाको ठेगाना प्रस्ट खुले पनि ४-४ महिला र पुरुष सम्पर्कविहीन छन्।
उनले बिहीबार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा ३० महिला र २४ पुरुष गरी ५४ जना नयाँ संक्रमित थपिएको बताए। मध्यपुर थिमि भक्तपुरमै सबैभन्दा बढी संक्रमित देखापरेको नपा हो। यहाँ बिहीबारसम्म संक्रमितको संख्या एकहजार ६८ पुगेको छ। त्यस्तै बिहीबार थपिएकासँगै मध्यपुर थिमिमा सक्रिय संक्रमितको संख्या ४ सय २६ पुगेको मिजारले जानकारी दिए।
उनले मध्यपुर थिमिका ६ सय २६ जना संक्रमित डिस्चार्ज भएको बताए। मध्यपुर थिमिका ११ पुरुष र ५ महिला गरी १६ जना संक्रमितको मृत्यु भइसकेको छ।
मध्यपुर थिमिपछि बिहीबार सूर्यविनायक नपामा २७ पुरुष र १८ महिला गरी ४५ जना संक्रमित थपिए। यससँगै यहाँ संक्रमितको संख्या ६ सय ८२ पुगेको छ।
बिहीबारसम्म सूर्यविनायकका २ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन्। यहाँका ४ पुरुष र २ महिला गरी ६ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।
त्यस्तै बिहीबार भक्तपुर नपामा २२ पुरुष र १६ महिला गरी ३८ जना र चाँगुनारायण नपामा ७-७ महिला र पुरुष गरी १४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार भक्तपुर नपामा बिहीबारसम्म संक्रमितको संख्या ८ सय १५ पुगेको छ। यहाँ सक्रिय संक्रमितको संख्या भने ३ सय ९७ रहेको छ। यहाँका ४ सय ८ जना संक्रमित डिस्चार्ज भएका छन्। त्यस्तै ७ पुरुष र ३ महिला गरी १० जना भक्तपुरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।
चाँगुनारायण नपामा भने बिहीबारसम्म संक्रमितको संख्या २ सय ९४ पुगेको छ। यहाँका एकसय ६१ जना संक्रमित डिस्चार्ज भएका छन्। बिहीबारसम्म यहाँ एकसय ३२ जना सक्रिय संक्रमित रहेका छन्।
चाँगुनारायण नपाका एकजना पुरुषको मात्रै संक्रमणको कारण मृत्यु भएको छ।