स्वास्थ्य सुविधा कटौती
विराटनगर : प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोसी अस्पतालमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा दिँदै आएको सुविधा कटौती गरिएको छ । विगतमा अस्पतालले ६० वर्षदेखि ७० वर्षसम्म ५० प्रतिशत र ७० वर्षमाथिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।
अस्पतालको असोज ४ गतेको बैठकले ज्येष्ठ नागरिकलाई दिँदै आएको स्वास्थ्य सेवा कटौतीको निर्णय गरेको हो । बैठकले बिरामीको अवस्था हेरेर मात्र छुट गर्न सकिने र ज्येष्ठ नागरिकलाई ओपीडी टिकट मात्र निःशुल्क गर्ने निर्णय गरेको छ । अस्पतालले सेवा कटौती गरे पनि अस्पतालमा ज्येष्ठ नागरिकका लागि चार वटा बेड स्थापना गरेको छ । अस्पतालका मेसु डा. चुमनलाल दासले सामाजिक सेवाअन्तर्गतका मापदण्डअनुसार निर्णय गरेर सेवा दिने बताए ।
उनले अस्पतालले दिँदै आएको सुविधा निरन्तर दिए कर्मचारीलाई तलब खुवाउनसमेत अप्ठ्यारो हुने भएकाले निर्णय गरेरे सुविधा कटौती गरिएको बताए । गत वर्ष मात्रै झन्डै करिब डेढ करोड समाजिक तथा सेवाको शीर्षकमा उपचार खर्च भएको थियो । चाहिने व्यक्तिलाई सेवामा कुनै कमी हुन नदिने र सुविधाका नाममा हुने अत्यधिक खर्चलाई रोकेर अस्पतालको विकासमा लगाउने लागेको उनले बताए ।
राज्यले निःशुल्क सेवाका लागि बजेट नपठाएको उनले दाबी गरे । अस्पतालले स्थानीय तहको सिफारिसअनुसार सामाजिक सेवा एकाइले छुटसम्बन्धी निर्णय गर्ने प्रावधान गरिएको जनाएको छ । मेसु दासका अनुसार लामो समयदेखि अस्पतालको आम्दानी घटेको छ । अस्पतालमा विकास समितिका २ सय ६७ जना र दरबन्दीका २ सय ४९ जना कर्मचारी छन् ।
प्रदेश १ का १४ जिल्लासहित प्रदेश २ का सप्तरी र सिरहाका बिरामी दैनिक हजारको सख्यामा आउने गरेका छन् अस्पतालले हरेक सुविधा दिन थालेपछि बिरामीको चाप बढेको थियो ।