अस्ट्रेलियामा ‘आमा’
काठमाडौं : फिल्म ‘आमा’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार दसैंको छेको पारेर आगामी कात्तिक ४ र ५ गते अस्ट्रेलियाको तासमानिया हलमा फिल्म प्रदर्शन हुनेछ।
अस्ट्रेलिया सरकारले हालै सामाजिक सुरक्षाको मापदण्ड आत्मसात् गर्दै हलहरू सञ्चालन गर्ने निर्णय गरेको थियो। खनालले भने, ‘अन्य धेरै देशमा पनि प्रदर्शनका लागि कुरा भइरहेको छ। केही दिनभित्र टुंगो लाग्ला।’ ‘आमा’को अस्ट्रेलिया प्रदर्शनको व्यवस्थापन हाल अस्ट्रेलियामै रहेका फिल्मका सहनिर्माता सन्तोष अधिकारीले मिलाएका हुन्।
शर्मिला पाण्डे निर्माता रहेको ‘आमा’को लेखन पनि निर्देशक खनालकै रहेको छ। काठमाडौं र रामेछापमा छायांकन गरिएको फिल्म आमा–छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको छ। सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुसाल, टीका पहारीलगायतका कलाकारको अभिनय छ। निर्देशक खनाल ‘आमा’पछि फिल्म ‘चिसो मान्छे’ निर्माणको तयारीमा छन्। कोरोना कहर सकिनासाथ फिल्मको छायांकन गर्ने योजना रहेको उनले बताए।