डेंगुका बिरामी ओझेलमा

डेंगुका बिरामी ओझेलमा

कोरोना महामारीका बेला स्क्रब टाइफस र डेंगुका बिरामी बढेका छन्। भरतपुर अस्पतालमा विगत दुई महिनामा ६९ स्क्रब टाइफस र २४ डेंगुका बिरामी पुष्टि भए। गण्डकी प्रदेशका ११ जिल्लामा सबैभन्दा बढी म्याग्दीमा डेंगुका ६४ र स्क्रब टाइफसका ४३ बिरामी फेला परेका छन्। के सुदूरपूर्व के सुदूरपश्चिम चारैतिर डेंगुका बिरामीमा बढोत्तरी छ।

  एउटा भनाइ छ, लन्डन नजलेसम्म बाँकी बेलायत पूरै डढे पनि कसैले वास्ता गर्दैन। हाम्रो नेपालमा पनि काठमाडौंलाई नदुखुञ्जेल बाँकी मुलुकको पीडा कसैले महसुस गर्दैन। त्यसैले काठमाडौंमा डेंगुको महामारी नदेखिँदासम्म उपत्यका बाहिर संक्रमण हँुदा पनि काठमाडौं तात्दैन, जुन हरेक रोगमा देखिँदै आएको छ। जहाँ पिउने पानी अभाव छ, त्यहाँ फोहोरमैलाको उचित व्यवस्थापन छैन, पानी नछोपेर सञ्चित गर्नाले लामखुट्टे र डेंगुका बिरामी बढेका छन्।

 डेंगु : एक भाइरल रोग

डेंगु विषाणुको टाइप १, टाइप २, टाइप ३ र ४ भाइरसको तीव्र संक्रमणले डेंगु रोग लाग्छ। लोकभाषामा ‘हाडतोड ज्वरो’ भनिने डेंगु रोग तीन दिनमै नरम हुने भएकाले तीनदिने ज्वरो पनि भनिन्न्छ। चिकित्साशास्त्रका अनुसार जीवनकालमा यसको संक्रमण एकपटक मात्र हुन्छ। विषाणुको संक्रमणपश्चात् लक्षण नदेखाउने वा छुट्ट्याउन नसकिने ज्वरो, डेंगु ज्वरो (डीएफ), डेंगु हेमोरेजिक ज्वरो (डीएचएफ) वा रगतको प्लाज्मा बाहिरिएर डेंगु शक सिन्ड्रोम (डीएसएस) प्रकारको हुन्छ। भाइरसले प्लेटलेटलाई आक्रमण गरी रगत जम्ने प्रक्रिया अव्यस्थित गराई बाह्य तथा आन्तरिक रक्तस्राव बनाउँछ। क्लासिक डेंगु सामान्य प्रकारको हो र आफंै निको हुन्छ भने डेंगु हेमोरेजिक ज्वरो वा डेंगु शक सिन्ड्रोममा उचित उपचार नगरे मृत्यु हुन्छ।

डेंगु ज्वरो सबैभन्दा पहिले सन् १७८५ मा दक्षिण अफ्रिकामा पाइएको थियो। बितेको ५० वर्षमा रोगको संक्रमण ३० गुणाले बढेको छ। नेपालमा पनि विगत पाँच वर्षमा १३ गुणाले संक्रमण बढेको छ। संसारका १२८ बढी देशका ३.९ अर्ब मानिस रोगको जोखिममा छन्। हरेक वर्ष झनडै ३९ करोडमा रोगको संक्रमण हुन्छ र २० हजार बढीको मृत्यु हुने गर्छ।

 सार्ने माध्यम : भीआईपी लामखुट्टे

डेंगु विषाणुबाट संक्रमित पोथी लामखुट्टे एडिस एजिप्टी र एडिज अल्वोपिक्टसको टोकाइबाट डेंगु लाग्छ। कृत्रिम स्थानमा पाइने एडिज एजेप्टाइको टोकाइ नै प्रम¬ख कारक, कृत्रिम र प्राकृतिक दुवै स्थानमा पाइने एडिस अल्वोपिकटस लामखुट्टेको टोकाइबाट पनि कहींकतै सरेको पाइन्छ। सफा पानीमा बस्ने भएकाले यस लामखुट्टेलाई भीआईपी लामखुट्टे भनिन्छ। लामखुट्टेबिना मानिसबाट मानिसमा डेंगु रोग सर्दैन र सबै लामखुट्टेले टोक्दैमा पनि रोग लाग्दैन। बाघजस्तै टाटेपाटे देखिने भएकाले एसियन टाइगर पनि भनिने यस लामखुट्टेले सूर्योदय भएको दुई घन्टापछि मध्यान्तरसम्म वा दिउँसो टोक्छ।

डेगुं फैलाउने लामखुट्टेले जिका, चिकनगुनिया, यलो फिवरसमेत सार्छ। लामखुट्टेले टोकेपछि मानिसलाई टोकेको स्थानमा चिलाउँछ। संक्रमित मच्छरको आयु ३० दिनको हुन्छ भने जमेको सङ्लो पानीमा अन्डा, लार्भा र प्युपा हुन १० दिन लाग्छ। पानी सुके पनि अन्डा वर्ष दिनसम्म रहिरहने भएकाले रोग नियन्त्रण गर्न मुस्किल पर्छ। जापनिज इन्सेफलाइटिस गराउने लामखुट्टेले कसैलाई टोके मर्छ भने डेगुं सार्ने लामखुट्टेले धेरै कम्तीमा १० जनालाई टोकेपछि अघाउँछ।

लक्षण

आर्थिक, सामाजिक र शैक्षिक रूपले विपन्न वर्ग अत्यधिक पीडित हुने यस रोगमा लामख¬ट्टेले टोकेको अर्थात् भाइरस पसेको पाँचदेखि आठ दिनमा अल्छी लाग्ने, टाउको दुख्ने, आँखा पाक्ने, रुघाखोकी लाग्ने लक्षण देखिन्छन्। ज्वरो, बिमिरा र टाउको वा शरीर दुख्ने डेंगुका त्रिभूज हुन्। बढी पीडित हुनेमा बालबालिका र वृद्धवृद्धा हुन्।

एक्कासि चिसोको अनुभूतिका साथ कम्पन हुने, उच्च ज्वरो आउने, तीव्र टाउको दुख्ने, आँखाको पछाडिको भाग, खुट्टा, मांसपेसी र जोर्नी दुख्न थाल्छ। टाउको र आँखा दुख्ने, टाउको तथा आँखाका नानीको चालले सुरु गराउने तथा बढाउने गर्छ। आँसु आउने, निद्रा नलाग्ने, भोक नलाग्ने, मुख नमीठो हुने, स्वाद हराउने, तीतो स्वाद आउने, वाकवाकी लाग्ने, बान्ता हुने, चक्कर लाग्ने र कमजोरी महसुस हुन्छ। मुटुको चाल कम, मानिस चिन्तित, छालामा राता दाना, बिमिरा, फोका र डाबर देखिन्छ र क्रमशः हराउँछ। नाक, गिँजा, योनि र आन्द्राबाट रक्तस्राव हुने गर्छ।

डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले यसको टोकाइबाटै जोगिन तथा लामखुट्टे निर्मूल गर्न जरुरी छ।
 

संक्रमणको कडारूपमा ज्वरो आएको एक सातासम्म निको नभई रक्तस्रावका लक्षण देखा पर्छन्, जसलाई डीएचएफ भनिन्छ। रक्तस्राव भई रक्तस्रावका धब्बा देखिने रगतको कमी भई अनुहार फुस्रो देखिने, पेट असाध्यै दुख्ने, पसिना आउने, पेट दुख्ने, ढाड दुख्ने, मुख नीलो हुने, शरीरमा पानी जम्मा हुने, रगतमा अल्बुमिनको मात्रा घट्ने, दिसा कालो हुने र कलेजोमा असर पर्न सक्छ। जीवन्त अंगमा असर परी डीएसएस हुन सक्छ। प्लाज्मा लिकेजका कारणले यस फेजमा पेट, छातीमा पानी जम्ने, कडा रक्तस्राब हुने, कलेजो, मिर्गौला, मुटु, स्नायु प्रणालीजस्ता अंगमा नकारात्मक प्रभाव पार्छ। तीनदेखि सात दिनमा देखिने पहिलो २४ देखि ४८ घन्टाको अवधि डेगुं संक्रमितका लागि सबैभन्दा उच्च जोखिमको समय भएकाले यसलाई क्रिटिकल फेज भनिन्छ। यस फेजमा बिरामीको उपचार नभए मृत्युसमेत हुन सक्छ। समयमै उपचार पाएमा मृत्युदर एक प्रतिशतभन्दा कम हुन्छ।

उपचार

स्वास्थ्यलाभ गरिरहेका सामान्य डेगुंका बिरामीले हरेक चार घन्टामा पिसाब लाग्ने गरी पानीलगायत झोल पदार्थ सेवन गर्दा रोगको लक्षणमा धेरै राहत मिल्छ। उपचारको गाइडलाइनमा रगतमा प्लेटलेटको संख्या ५० हजारभन्दा कममा भएपछि प्लेटलेट चढाउने गरिन्छ। आन्तरिक रक्तस्रावको जोखिमका कारणले एस्प्रिन, आइबुप्रोफेन प्रयोग गर्न सल्लाह दिइँदैन। निर्जलीकरण रोक्न बढी मात्रामा कम्तीमा पाँच चिया गिलास पानी, झोलिलो खानेकुरा, तरल पदार्थ र आराम गर्न लगाउनुपर्छ। संक्रमण भाइरल भएकाले यसको रामवाण औÈधि र उपचार हुँदैन। दुई हप्तामा आफंै निको हुन्छ। जटिलता रोक्न लाÔणिक उपचार मात्र गरिन्छ।

रोकथाम

कुनै किसिमको पानी जम्ने ठाउँ, प्राकृतिक–अप्राकृतिक भाँडालाई बग्ने बनाउने, पुर्ने, सुकाउने, गाड्ने वा जलाउने गर्नुपर्छ। घरका झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पंखा, एयरकुलर, एयरकन्डिसन प्रयोग गर्नुपर्छ। जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घरबाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलम प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी लामो बाहुला भएको सेतो हलुका रङको कमिज र पैन्ट लगाउनुहोस्। जनचेतनामा अभिवृद्धि गर्नुपर्छ।

अन्त्यमा, डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि हामीकहाँ छैन। मानिसबाट मानिसमा नसर्ने भएकाले डेंगु रोग सार्ने प्रमुख कारण संक्रमित लामखुट्टेको टोकाइ भएकाले लामखुट्टेको टोकाइबाटै जोगिनु तथा लामखुट्टे निर्मुल गर्नुपर्ने समग्रमा रोकथाम हो। तसर्थ धन र जनको क्षति न्यूनीकरण गर्न सरसफाइ र जनचेतना लिन र दिन तीनै तहका सरकार र हामी आफैं विभिन्न तह र तप्काबाट लाग्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.