राजदूत नियुक्ति, विदेशी अभ्यास र नेपाल

राजदूत नियुक्ति, विदेशी अभ्यास र नेपाल

कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त घोकेको तर अभ्यास गर्ने सीप र चातुर्य नभएको व्यक्ति राजदूत हुन सक्दैन।


नेपाली बृहत् शब्दकोशका अनुसार राजदूतको अर्थ ‘एक मित्रराष्ट्रको प्रतिनिधि भएर अर्को मित्रराष्ट्रमा आवासीय वा अनावसीय स्तरमा खटिएको व्यक्ति, प्राचीनकालमा एक राजाको सन्देश अर्को राजाकहाँ पुर्‍याउने दूत।’ अंग्रेजीमा पनि यस्तै अर्थ लाग्छ। प्राचीनकालमा जब राजा नै संविधानभन्दा माथि हुन्थे, देश, सरकार राजाकै स्वविवेकमा अडिन्थ्यो। ती राजाको दूतलाई राजदूत भनिन्थ्यो। अहिले सरकारको दूत, सरकार जनताबाट निर्वाचित हुने हुँदा राजदूत मुलुकको दूत अथवा जनताको दूत।

राजदूत एक व्यक्ति मात्र हैन, सिंगो राष्ट्रको प्रतिनिधि हो, मुलुकको ऐना हो। नेपालीको मुहार हो, आवाज, अन्तर्राष्ट्रिय छाया हो। हाम्रो राजदूत पृथ्वीको छानो सगरमाथाको अग्लाइ हो। विश्व शान्तिका प्रतीक बुद्धको दूत हो। अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि, राष्ट्रको गौरव, नेपाल र नेपालीको शिर माथि उठाउने क्रेन हो, सिलेक्टिभ ब्रेन हो। नेपाल विश्व कूटनीतिक मञ्चमा प्रवेश गरेको चार बीसभन्दा बढी वर्ष भएको छ। यो भूमण्डलीकरणको युगमा इतिहास रटेर भन्दा वर्तमानसँग डटेर, कर्तव्यमा खटेर अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा देश र जनताको शिर उँचो राख्ने अन्तर्राष्ट्रिय सम्बन्धसँग गाँसिएको गहन पद हो राजदूत।

विगत र वर्तमान

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मात्र विदेश मामिला हेर्ने विभाग गठन गरिएको पाइन्छ। सन् १७६९ मा पृथ्वीनारायणले स्थापना गरेको जैसीकोठा नै विदेश मामला हेर्ने पहिलो संस्था मानिन्छ। पृथ्वीनारायण शाहलाई पहिलो परराष्ट्रमन्त्री मान्न सकिन्छ। त्यो बेला राजा नै सर्वेसर्वा हुने हुँदा अहिलेजस्तो परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्री हुने व्यवस्था थिएन। पृथ्वीनारायण विदेश मामलामा चतुर थिए। त्यो बेला नै ‘नेपाल दुई ढुंगाको तरुल हो’ भन्ने परराष्ट्र नीति बनाएका थिए, जुन अहिले पनि त्यत्तिकै सान्दर्भिक र व्यावहारिक छ। विदेश मामिला स्वयं राजा र पछि राणाकालमा राणा शासकले हेर्दथे। राजदूतको औपचारिक व्यवस्था थिएन।

राणा प्रधानमन्त्री जुद्धशमशेरका पालामा पहिलोपटक सन् १९३४ अप्रिल ६ अर्थात् विसं १९९० चैत २४ गते बेलायतका लागि राजदूत नियुक्त गरियो। जुद्धशमशेरका छोरा बहादुरशमशेर विदेशका लागि पहिलो नेपाली राजदूत हुन्। त्यो बेला बेलायतमा प्रधानमन्त्री राम्स म्याकडोनाल्ड थिए। नेपालले दोस्रो राजदूतावास भारतको दिल्लीमा खोल्नुअघि १३ वर्षसम्ममा बहादुरशमशेर पछाडि राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाका तीन छोरा कृष्णशमशेर, सिंहशमशेर र केशरशमशेर पालैपालो राजदूत बनेर लन्डन पुगेका थिए। अंग्रेज उपनिवेशबाट भारत स्वतन्त्र भएपछि नेपालले दिल्लीमा १९४७ मा राजदूतवास खोलेको थियो। भारतका लागि पहिलो नेपाली राजदूत सिंहशमशेरलाई नियुक्त गरिएको थियो। दोस्रो राजदूत सन् १९५१ मा विजयशमशेरलाई नियुक्त गरिएको थियो। जो अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका छोरा र वर्तमानमा राप्रपाका नेता पशुपतिशमशेरका पिता हुन्।  

सन् १८१६ मा नेपालको पहिलो कूटनीतिक सम्बन्ध बेलायतसँग भए पनि त्यसपछिका १३१ वर्षसम्म नेपालले अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न सकेन।

विसं २००७ सालको प्रजातन्त्र आगमनसँगै नेपालको बाह्य मुलुकसँगको कूटनीतिक सम्बन्ध तीव्र गतिमा विस्तार भयो। अहिले नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशसँग स्थापित भएको छ भने ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र चार मुलुकका ६ सहरमा महावाणिज्य दूतावास छन्। बढ्दो अन्तर्राष्ट्रिय सम्बन्धका कारण अहिले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्ति गरिएका छन्।

द्वैध जिम्मेवारी

राजदूतसँग आफूले काम गर्नुपर्ने मुलुक र आफ्नो मुलुकका द्वैध जिम्मेवारी हुन्छन्। पठाइने मुलुकको दूत भए पनि आफ्नो मुलुक र सेवारत रहने मुलुकको जिम्मेवारी लिनपर्ने द्वैध प्रकृतिको पद हो– राजदूत। त्यसैले व्यक्ति पठाइने मुलुकले पनि पत्याउने हुनुपर्छ। एकातिर आफ्नो देशको आन्तरिक राजनीति, छिमेक नीति, रणनीति आदिको ज्ञान हुनुका साथै सम्बन्धित देशमा आफूले गर्नुपर्ने कामको स्पष्ट खाका हुनुपर्छ। सम्बन्धित देशको आन्तरिक राजनीति, भूराजनीति, भूगोल, प्राकृतिक स्रोतसाधन, वातावरण, धर्म, संस्कृति, कूटनीति, आर्थिक, व्यापारिक, प्राविधिक विकासक्रम र गतिका साथै सम्बन्धित देशको भेषभूषा, चालचलन, रीतिरिवाजबारेमा समेत थोरैधेरै जानकार हुनुपर्छ।

विश्व रंगमञ्चमा चम्किएका दुई विशाल देशका बीचमा रहेको सानो मुलुक नेपालको कूटनीतिक चातुर्य तीक्ष्ण हुनुपर्छ। अर्कातिर परराष्ट्र मन्त्रालयको कूटनीति शीतयुद्धकालीन छायाबाट मुक्त हुन सकेको छैन। परिवर्तित विश्व राजनीतिअनुसार यसको पनि पुनर्संरचना आवश्यक छ।

अंग्रेजी भाषामा कूटनीतिक किसिमले बोल्न र लेख्न सक्ने हुनुपर्ने अनिवार्य आवश्यकताका अतिरिक्त सकेसम्म सम्बन्धित देशको भाषामा पनि दक्खल राख्ने व्यक्ति चयन गरिनुपर्छ। सम्बन्धित देशमा रहेर काम गर्दा स्वदेशको स्वार्थ हरदम शिरमा राख्नुपर्छ।

विदेशी अभ्यास

राजदूत नियुक्ति विदेशमा बढी महत्वका साथ लिइन्छ। बेलायतमा राजदूत पद खाली हुनुभन्दा एक वर्षअघिबाटै राजदूतको खोजी गरिन्छ। सम्बन्धित बाह्य मुलुकका बारेमा कति ज्ञान छ, त्यहाँ गएर के काम गर्ने, किन जाने, राष्ट्रलाई लाभ हुने केके काम गर्ने, दुई देशबीचको सम्बन्ध कुन उचाइमा कसरी पुर्‍याउने, सम्बन्ध बिग्रिन लागेको छ भने कसरी सुधार्ने आदि विषयमा प्रस्ताव मागेर स्वतन्त्र निकायको अध्ययन र मूल्यांकन गरेर राजदूतमा सिफारिस गरिन्छ।

छिमेकी मुलुक भारतमा राजनीतिकभन्दा बढी क्यारियर डिप्लोम्याटलाई प्राथमिकता दिइन्छ। चयन गरिने व्यक्तिलाई कूटनीतिक प्रशिक्षण दिइन्छ। कूटनीतिक सेवामा प्रवेश गरेपछि एक वर्ष सम्बन्धित मुलुकको भाषा, संस्कृति, इतिहास, आन्तरिक र भूराजनीतिको ज्ञान प्राप्त गर्नुपर्ने र त्यसपछि कूटनीति सेवा सम्बन्धित एक वर्ष अध्ययन गर्नुपर्ने र क्यारियर डिप्लोम्याटका रूपमा सेवा प्रवेश गर्ने व्यवस्था छ। सिंगापुरले भने विषयगत वार्ता गर्न सो मुलुकबाटै सम्बन्धित मन्त्रालयका विज्ञ व्यक्तिलाई राजदूत तोक्ने गर्छ। धेरै देशले कुनै विषय वा मुद्दाले बाटो बिराउन थालेको अवस्थामा सो विषयविज्ञ, निर्णय क्षमता र चातुर्य राख्ने व्यक्ति खोजेर सम्बन्धित मुलुकमा राजदूत बनाई पठाइन्छ। सम्बन्धित मुलुकसँग आफ्नो राष्ट्रको कति सहकार्य छ, कति कुरा आफ्नो राष्ट्रहितका पक्षमा ल्याउनु छ, उक्त मुलुकसँग सहकार्य गर्दा अन्तर्राष्ट्रिय पहुँचको वृद्धि कति हुन्छ आदि विश्लेषण गरेर मात्र दूतावास खोलिन्छ। विषयगतविज्ञलाई राजदूत बनाई पठाइन्छ। हरेक राष्ट्रमा राजदूत चयनको एक मापदण्ड हुन्छ र त्यसलाई संवेदनशील किसिमले अवलम्बन गरिन्छ।

नेपाल सन्दर्भ

नेपालमा करियर डिपलोम्याटभन्दा राजनीतिक व्यक्ति बढी राजदूत नियुक्त गरिन्छ। औपचारिक रूपमा राजदूत नियुक्ति गर्न थालेको ८६ वर्षको अवधिमा सयौंपटक राजदूत नियुक्ति गरिएको छ। नियुक्ति हुनेमा कूटनीतिक सेवाका भन्दा राजनीतिक क्षेत्रका व्यक्ति करिब दोब्बर छन्। दोहोरिनेको संख्या पनि त्यत्तिकै छ। चारपटकसम्म चार छुट्टाछुट्टै देश (रूस, भारत, इजिप्ट र बेलायत) का लागि राजदूत बन्ने व्यक्ति हुन्– झरेन्द्रनारायण सिंह, तीनपटक हुने यदुनाथ खनाल, पदमबहादुर खत्री, डा. भेषबहादुर थापालगायतका छन् भने दुईपटक हुने दुई दर्जनभन्दा बढी छन्।

प्रधानमन्त्री भइसकेर पनि अमेरिकाका लागि राजदूत हुने व्यक्ति हुने मातृकाप्रसाद कोइराला। मन्त्री वा परराष्ट्रमन्त्री बनेर पछि राजदूत बन्ने हालसम्म १५ जना छन् भने उच्च संवैधानिक पदमा बसेर पनि पछि राजदूत हुने पाँचजना छन्। राजदूत भएपछि मन्त्री हुने पनि एक दर्जनभन्दा बढी छन्। नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाह हुन्। उनी परराष्ट्रको सहसचिव हुँदा २०४५ सालमा भारतका लागि राजदूत नियुक्त भएकी थिइन्। कार्यकाल पूरा हुन एक वर्ष बाँकी हँुदै २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई फिर्ता बोलाएर चक्रप्रसाद बास्तोलालाई राजदूत नियुक्ति गरेका थिए। २०४६ सालअघि सबैजसो राजदूतले आफ्नो कार्यकाल पूरा गर्न पाउँथे भने बहुदलीय व्यवस्थामा राजदूत फिर्ता बोलाउने क्रम बढेर गयो। २००७ सालपछि र पञ्चायती व्यवस्थामा जम्मा तीनजना राजदूतलाई फिर्ता बोलाइएको पाइन्छ। त्यो पनि राजदूत स्वयं र उनका परिवार सदस्यका कारणले।

राजनीतिक कारणले होइन। फिर्ता बोलाइएकामा ०१२ सालमा महेन्द्रविक्रम शाह (भारतबाट) ( वाणिज्यका कोटा विवादले, ०४४ मा विश्व प्रधान (अमेरिकाबाट), ( पुस्तकालयबाट पुस्तक चोरेको अभियोगमा, प्रकाशचन्द्र ठाकुर (जापानबाट) (स्वयंको छोराले गलत काम गरेकाले। ०४६ पछिका अस्थिर सरकार फेरिनासाथ राजदूत फिर्ता बोलाउने चलन विकास भयो। आफ्नै पार्टीमा पनि गुट मिलेन भने राजदूत फिर्ता डाक्नेजस्तो विकृतिको थालनी भयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टीका तर अर्को गुटसँग नजिक रहेका योगप्रसाद उपाध्यायलाई अमेरिकाबाट फिर्ता बोलाएका थिए। राजदूत नियुक्ति सोर्स, फोर्स, ब्रिफकेस, नातावाद, फरियावाद र राजनीतिक भागबन्डाका आधारमा गरिन थाले। पार्टीमा लामो समय झोला बोकेको तर कुनै पद दिन नसकिएकालाई पनि राजदूत बनाएर चित्त बुझाउने गर्न थालियो। अहिले पनि त्यसैको निरन्तरता छ। राजनीतिक भागबन्डा, नातागोता, चाकडी, चाप्लुसीका आधारमा राजदूत नियुक्त गरिनाले अधिकांश राजदूतमा देशको दूत भएर जिम्मेवारी वहन गर्ने क्षमताको कमी छ।

अन्त्यमा

मुलुकको प्रतिनिधि राजदूत व्यक्तिको योग्यता र कार्यसम्पादन क्षमता हेरेर नियुक्त गरियोस्। व्यक्तिको शारीरिक, मानसिक, आचार, विचार र जीवन पृष्ठभूमिको समेत स्वास्थ्यता पनि ख्याल गरियोस्। कुनै बेला नेपालका राजदूतलाई खारिएका कूटनीतिज्ञ भनिन्थ्यो। अमेरिकाका अब्बल कूटनीतिज्ञ हेनरी कसिन्जरले समेत आफ्नो पुस्तक ‘द वोल्र्ड अडर’ मा नेपाली कूटनीतिज्ञको प्रशंसा गरेको पाइन्छ। राजदूत सधैं सक्रिय र स्मार्ट रहनुपर्ने पद भएकाले मानसिक मात्र नभई शारीरिक सक्रियताको खाँचो पर्छ। त्यसैले ७० वर्षमाथिका वृद्धलाई कम प्राथमिकतामा राखियोस्। ख्याल गर्नुपर्ने कुरा, शारीरिक दुर्बलतासँगै मानसिक दुर्बलता पनि बढ्दै जान्छ। राजदूत एक अर्थमा विदेशमन्त्री हो। त्यसैले आधुनिक विश्व राजनीति, भूराजनीति, आन्तरिक राजनीति, सम्बन्धित देशमा रहेका नेपालीको सुरक्षा र स्थानीय सस्थासँगको कुनै विवाद कूटनीतिक किसिमले सुल्झाउन सक्ने क्षमता र चातुर्य आवश्यक हुन्छ। दुई देशबीचको कूटनीतिक सम्बन्ध अझै बलियो गराउन र स्वदेशका लागि लाभ लिने कूटनीतिक योजना माग गरी स्वतन्त्र निकायबाट छनोट गर्न सके राम्रो हुन्छ। नातावाद, कृपावाद, गुटवाद, गाँठवाद बन्द गरी व्यक्तिको योग्यता, प्रशासनिक क्षमता, कूटनीतिक ज्ञान र चतुर्‍याइँका आधारमा खाली भएका ठाउँमा समयमै राजदूत नियुक्त गरियोस्। 

नवनियुक्त राजदूतहरूलाई सम्बन्धित देशबारेमा अतिरिक्त ज्ञान दिनुका साथै कूटनीतिक मर्यादा, आचरण, बोली, व्यवहार, लेखन, डिजिटल मिडिया, सञ्चार मिडियामा प्रस्तुति, सामाजिक सञ्जाल प्रयोग, पोसाक, हिँडाइडुलाइ, घुमफिरजस्ता मसिना विषयमा समेत ज्ञान र तालिम दिएर मात्र सम्बन्धित देशमा पठाउनु राम्रो हुन्छ। विश्व रंगमञ्चमा चम्किएका दुई विशाल देशको बीचमा रहेको सानो मुलुक नेपालको कूटनीतिक चातुर्य तीक्ष्ण हुनुपर्छ। अर्कातिर परराष्ट्र मन्त्रालयको कूटनीति शीत युद्धकालीन छायाबाट मुक्त हुन सकेको छैन। परिवर्तित विश्व राजनीतिअनुसार यसको पनि पुनर्संरचना आवश्यक छ।

ख्याल गरियोस्, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्त घोकेको तर अभ्यास गर्ने सीप र चातुर्य नभएको व्यक्ति पनि सफल राजदूत हुन सक्दैन। ‘कूटनीति एउटा कला हो, विज्ञान होइन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.