आगोको भुंग्रोबाट निस्केर डढेलोतिर
यात्रा भनेपछि हुरुक्कै हुन्छु। यात्रामा मजाले रमाउन सक्छु। यात्रा भन्दै सबै एउटै कहाँ हुन्छ र ? भारतको वृन्दावनबाट काठमाडौंसम्म जमिनको यात्रा सधैंभन्दा ठ्याक्कै उल्टो भयो। कोरोना महामारीले फैलाएको त्रास र मानसिक सन्त्रास।
सार्क लिटरेचर फेस्टिभलमा सन् २०१९ को मार्च १३ देखि १६ सम्म सहभागी भएर २० मार्चमा काठमाडौं जाने योजना र टिकटसहित ७ मार्चमा नयाँदिल्ली ओर्लिएको थिएँ। वृन्दावन पुगेर पत्नीसँगै काठमाडौं फर्किने टिकट थियो। कोरोनाकै कारण फेस्टिभल पनि स्थगित भयो। २० मार्चमा भारतीय वायुसेवा ‘भिस्टारा’ को जेटमा काठमाडौं जाने तयारी थियो। यो कुरा अस्ट्रेलियास्थित कन्सुलेट जनरलको अफिसमा काम गर्ने साहित्यकर्मी नीरू त्रिपाठीलाई सुनाएँ। उनले भनिन्, ‘नेपाल सरकारले एनआरएन कार्ड होल्डरलाई अन एराइभल भिसा बन्द गरेको छ, बुझेर जानुस्, नत्र विमानस्थलमा समस्या होला।’ कुरो सही रहेछ। १४ मार्चदेखि लागू हुने गरी एनआरएन कार्डवाहकलाई प्रवेश अनुमति रहेनछ अन अराइभल भिसामा। काठमाडौंको यात्रामा ब्रेक लाग्यो।
नेपालमा लकडाउन थपिँदै गयो। हामीले पाउने अन अराइभल भिसाको प्रतिबन्धले निरन्तरता पाउँदै गयो। साढे ५ महिना वृन्दावनमा लकडाउन भयौं हामी। खासमा साहित्यकार सरिता अर्यालले बुहारीलाई वनारसबाट काठमाडौं ल्याउँदाको फेसबुक स्टाटसले मोटरबाटो काठमाडौं जाने हुटहुटी जगायो। त्यसका लागि परराष्ट्रमा कार्यरत कृसु क्षेत्रीले पहिलो सूत्र बताए। उनकै सुझावअनुसार रुपन्देहीका प्रजिअलाई निवेदन पठाएँ, त्यसपछि त्यो निवेदन त्यहाँबाट गृह मन्त्रालय पुग्न, गृहबाट परराष्ट्र मन्त्रालय पुग्न कवयित्री मीना श्रेष्ठको अथक मेहनतले काम गर्यो। परराष्ट्रबाट निर्णय भएर जान परराष्ट्र मन्त्रालयका अधिकृत हरश्चन्द्र घिमिरे सहयोगी बने। अन्ततः नेपाल प्रवेशको सहजीकरण भयो। भारतमा महाराष्ट्रपछि कोरोनाले सताएका राज्यहरूमा वृन्दावनको राज्य उत्तर प्रदेश तथा दिल्ली प्रमुख खतरायुक्त राज्य थिए। साहित्यकार÷चिकित्सक रविन्द्र समीरले स्वदेश फर्कन सुझाव दिइरहेका थिए। दिल्ली–काठमाडौं विमान चल्ने कुनै सम्भावना देखिएन।
स्यानिटाइज्ड गरिएको गाडी वृन्दावनदेखि सुनौलीसम्म बुक गरियो। ७५० किलोमिटर बाटो खतरारहित थिएन, नजिक अनि सहज पनि थिएन। विकल्प पनि थिएन। १३ अगस्टमा वृन्दावनबाट प्रस्थान गर्यौं। डबल मास्क, फेस सिल्ड र हातमा बेलाबेलामा स्यानिटाइजर लगाउँदै आधा बाटो राम्रै काटियो। लखनउमा ड्राइभरले गाडी चलाउँदै मोबाइलमा कुरा गर्दा बाटो बिराए। झन्डै आधा घण्टा अल्मलियौं। अचानक साथमा आएका भाइले बमिट गर्न थाले। उनको वमन कार्य निरन्तर रह्यो। कोरोनाको महामारीमा बमिट हुनुले शंका बढाउनु स्वाभाविकै थियो। उनी त आलसतालस भए। अलिबेर सुस्ताएपछि यात्रा सुरु भयो। म गाडी रोक्न लगाउँथे, उनी त्यही कामलाई निरन्तरता दिन्थे। कतै यिनलाई कोरोनाले छोएको थिएन ? आशंका तिखो सुइरो बनेर छातीभित्रै रोपियो। हिजो अस्तिसम्म त ठीकै थिए, आश्रममा पनि हुलहालमा कतै निस्कन्नथे। सुरक्षित नै ठानेका थियौं। यिनलाई कोरोना भए हामी सबै एकै चपेटामा पर्ने पक्का थियो।
ड्राइभर चुप थिए। श्रीमती चुप अनि म पनि चुप। सबैभित्र आशंकाको आँधीबेहरी चलिरहेको थियो। तर, यसको निदान केही थिएन, जे पर्ला सोही टर्ला भन्नेबाहेक। सहरी क्षेत्रको बाटोमा मास्क लगाएका र बेफिक्री मास्कबेगर विचरण गरिरहेका स्त्रीपुरुष देखिए। भारत पूरै आक्रान्त छ कोरोनाले, समाचार त्यत्तिकै आतंकपूर्ण। तर, मानिस त्यसबाट कसरी बेखबर हुन सकेका होलान् ? अज्ञानता हो कि अविश्वास ! अथवा के ? मैले केही सोच्नै सकिनँ। करिब १३ घण्टामा ७५० माइल बाटो तय गरी सुनौली आइपुगियो। भारतीय अध्यागमनका कर्मचारीले सक्दो दुःख दिने प्रयास गरे। अन्ततः प्रस्थानका लागि छाप लगाइदिए।
पहिलोपटक आफ्नै देशका गाउँठाउँ बिरानिएको महसुस भइरहेको थियो मलाई। ड्राइभरको अस्वस्थताको लक्षण कोरोनाको लक्षणसँग पूरापूर मिल्दोजुल्दो थियो। अब हामीलाई पक्का भइसकेको थियो, यिनलाई कोरोना भएको छ। अब हामी पनि त्यसबाट मुक्त हुन सम्भव छैन। त्यस्तो डरलाग्दो अवस्थाको भारतबाट सुरक्षित आएका हामी अब यो के भयो भन्ने चिन्ताले नराम्ररी चिमोटिन थाल्यौं।
सिमानामा गाडी र ड्राइभर तयारी अवस्थामा थियो। भतिज हिमाल गिरीले भैरहवाकै धर्मराज गिरीसँग सम्पर्क गराइदिएका थिए। उनले गाडीको व्यवस्था मिलाइदिए र ड्राइभरले सुरक्षित होटलमा बास बसाएर काठमाडौं पुर्याउँदै थियो। गाडीमा सामान राखेपछि म नेपालको अध्यागमनमा पुगें आगमनको छाप लगाउन। अध्यागमनका हाकिम बुटवल पुगेका रहेछन्। बिनामास्क एक कर्मचारी अध्यागमन अफिस कुरिरहेका थिए। उनले हाकिमसँग फोनमा सम्पर्क गराए। नेपाल सरकारकै निर्णयले आएको भनेपछि उनले कुनै चिठी नआएको र भोलि ९ बजे अफिस खुलेपछि हेरौंला भन्ने जवाफ दिए। भोलिपल्ट सीडीओ कार्यालयबाट सबै कागजात आएपछि झन्डै १ बजे भैरहवाबाट काठमाडौंका लागि बाटो फुकुवा भयो। सँगै आएका भाइ रातभरिमा ठीक भइसकेका थिए। अनुहारले उनी स्वस्थ छन् भनेर आश्वस्त भयौं।
राति ढिलो गरी भए पनि पुगिनेमा आश्वस्त थियौं। तर गाडी केहीअगाडि बढ्दै थियो। चालक महोदय त साँक्क, सुँक्क गर्न पो थाले। खोक्न थाले। थुक्न थाले। मास्क उनको चिउँडोमा झुन्डिएको थियो। हिजोको भन्दा आजको आतंक डरलाग्दो बन्दै गयो। गाडी बीचैमा छोड्न पनि सकिन्नथ्यो। तिनलाई मैले स्ट्रेप्सिल दिएँ, एकदुईवटा खाएपछि त्यो पनि लिन मानेनन्। बरु खैनी मुखमा हाले। उनको नाक बगिरहेको थियो। निरन्तर खोक्दै थुक्दै गरिरहेका थिए। बाटोमा होटल, पसल सबै बन्द थिए। कताकता बिरानो लाग्थ्यो जता हेरे पनि। पहिलोपटक आफ्नै देशका गाउँठाउँ बिरानिएको महसुस भइरहेको थियो मलाई। ड्राइभरको अस्वस्थताको लक्षण कोरोनाको लक्षणसँग पूरापूर मिल्दोजुल्दो थियो। अब हामीलाई पक्का भइसकेको थियो, यिनलाई कोरोना भएको छ। अब हामी पनि त्यसबाट मुक्त हुन सम्भव छैन। त्यस्तो डरलाग्दो अवस्थाको भारतबाट सुरक्षित आएका हामी अब यो के भयो भन्ने चिन्ताले नराम्ररी चिमोटिन थाल्यौं।
यस्तै अन्योल र आतंकित हुँदै साढे ७ बजे खानीखोला आइपुग्यौं। त्यहाँ हाम्रो यात्रा रोकियो। ७ बजेपछि काठमाडौं प्रवेश बन्दको नियमले अड्काएको थियो। त्यसरी अड्किनेहरूको लाम र हुल लामो र ठूलो थियो। होटल खोल्न प्रतिबन्ध थियो। के अब हामीले के खाएर सडकमै पूरा रात बिताउनुपर्ने हो ? हामीले गाडी रोकेको सामुन्नेको होटलवालाले खाना खाने भए मात्र पिँढीको बास दिने बताए। क्यै नलागेपछि त्यो पनि विकल्प देखियो। तर, ड्राइभरले कतै फोन गरेर होटलको बन्दोबस्त गर्यो। त्यो रहेछ, सिदासादा होटल। सुत्नलाई कोठा पनि पाइयो। साँझको खाना ६ महिनापछि पहिलोपटक नेपाली स्वादको खान पाइयो। थपीथपी खाएँ, एक किसिमले मीठो तृप्ति भयो।
भोलिपल्ट बिहान सखारै हामी नागढुंगातिर लाग्यौं। नागढुंगा पुग्नै महाभारत भयो। पुग्न ता पुगियो। सबै विवरण भनेपछि प्रहरीको मोटरसाइकलले स्कर्टिङ गरेर ढुंगेअड्डा पुगियो। अर्को वाहनले स्कर्टिङ गर्दै बल्खुस्थित खसीबजार परसम्म पुग्यौं। त्यसपछि अर्को वाहनले स्कर्टिङ गर्दै कीर्तिपुर गेटबाट अलि पर रहेको होल्डिङ सेन्टर र क्वारेन्टाइनस्थल पुर्यायो। अब हामीले आफ्नै निवासमा होम क्वारेन्टाइनमा बस्ने अनुमति प्राप्त गर्नु थियो। त्यसका लागि वडाको सिफारिस चाहिने रहेछ। साहित्यकार एवं छिमेकी राजेन्द्र पराजुलीमार्फत वडाका नगर सदस्यसँगको फोन वार्तापछि त्यो गाँठो पनि फुक्यो। यात्रामा यतिविघ्न गाँठा पनि हुँदा रहेछन्, वर्षौंको यात्रा र अमेरिकालगायतका थुप्रै देशको भ्रमणले पनि नसिकाएको पाठ यो यात्राले सिकायो। सात सय किलोमिटरको यो यात्रा मेरा लागि अविस्मरणीय गुरु बन्यो।
तीनकुनेस्थित घर त पुग्यौं तर घर पुगेजस्तो लागिरहेको थिएन। आफ्नो जन्मभूमि पनि कता कता बिरानो बिरानो लागिरहेको थियो। अब हामीले निष्ठापूर्वक होम क्वारेन्टाइनको पालना गर्ने कर्तव्य मात्र बाँकी थियो। कोरोनाको भुंग्रोबाट कोरोनाको डढेलोले विक्षिप्त बनाएका क्षेत्रहरू पार गरेका थियौं। यो नसोचेको र कल्पनै नगरेको अनुभूति थियो, जसरी कोरोनाले यसरी विश्वलाई आतंकित पार्ला भनेर कसैले सोचेको थिएन त्यसैगरी भयो हाम्रो यात्रा पनि ! यात्राभन्दा ठूलो गुरु त कोरोना भइदियो। कतै नदेखिने कतै नभेटिने कोरोनालाई के भन्नु खै ?