कोरोनाले भोकमरी लाग्न सक्ने
काठमाडौं : कोरोना भाइरस(कोभिड १९) ले कृषि क्षेत्र धराशायी भएको छ। कोभिडले डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्णरुपमा असर गरेको छ। जसले गर्दा भोकमरी लाग्न सक्ने विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाल कृषिप्रधान देश भए तापनि कृषिमा आत्मर्निभर हुन सकेको छैन। उत्पादन घट्दै जाँदा कृषि क्षेत्रमै परनिर्भरता बढ्दै गएको छ। ६७ प्रतिशत कृषिमा आश्रित जनसंख्या भए पनि कृषिको व्यवसायिक उत्पादन हुन नसक्दा कुल ग्राहस्थ उत्पादनमा यसको योगदान बढ्न सकेको छैन। नेपालले वर्षेनी २ खर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात गर्दै आएको छ।
गैरआवासीय नेपाली संघ(एनआरएनए)ले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाले उच्च प्राथमिकता पाएको छ। सम्मेलनमा कृषिसँग सम्बन्धित आधा दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत भए। डा. जगदिस तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले बेरोजगारीको दर बढाएको छ। भारत, मलेसिया तथा खाडी मुलुकबाट रोजगारी गुमाएर फर्केने क्रम बढेको छ। स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ।
राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताइन्। कृषिमा प्रशस्त संभावना भए पनि उत्पादनमा जान नसकिएको उनको भनाइ छ। नेपालमा धेरै संभावना भए पनि धेरै खाद्यवस्तु आयात गर्नु दुःखद भएको उनको भनाइ छ। कोभिडले समग्र अर्थतन्त्रमा असर पारिरहेको अवस्थामा कृषि क्षेत्रमा पनि समस्या सिर्जना गरेको उनको भनाइ छ।
‘कोभिड १९ ले भोकमरीको अवस्था आउन सक्ने देखिएको छ’, उनले भनिन्। समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उनले बताइन्।‘डेरी, तरकारी र पोल्ट्री व्यवसाय कोभिडले धराशायी बनाएको छ’, उनले भनिन्,‘रोडम्याप बनाएर निर्यातमा भन्दा आयात प्रतिष्ठापन गर्न सके ठूलो उपलब्धी हुन्छ।' सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने उनको भनाइ छ।
कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षक गर्नुपर्ने उनले बताइन्। प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने निश्चित छ। कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिने उनले सुझाइन्।
धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए। उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ। कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बताए। खाद्य सुरक्षा नीति र पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ। कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको छ। प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको छ।
नेपाल कृषि अनुसन्धान परिषद्को सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताइन्। खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने उनको भनाइ छ। ‘खाना र पहिचान जोडिएर आउँछ’, उनले भनिन्, ‘बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व छ ।’
माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन
कोरोना भाइरस(कोभिड १९) ले माछा, मासु र दूधमा आत्मनिर्भर हुन कठिन देखिएको छ। सरकारले केही वर्षभित्रै दूध, माछा र मासुमा आत्मनिर्भर हुने लक्ष्य लिए पनि तत्काल पूरा नहुने देखिएको हो।
पशुसेवा विभागका निर्देशक बंशी शर्माले माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर नजिक देखिए पनि कोभिडले असर पुर्याएको बताए। कुल ग्राहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान १३ प्रतिशत छ। कृषि क्षेत्रमै पशुपन्क्षीको योगदान ३० प्रतिशत छ। ६० प्रतिशत कृषक पशुपालन क्षेत्रमा संलग्न छन्।
निर्देशक शर्माले पशुपालन क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले पशुपालन क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताए। 'व्यवसायिक पशुपालन गर्न सक्दा गरिबी निवारण र रोजारी सिर्जनामा यसले महत्वपूर्ण योगदान पुर्याउँछ ’, उनले भने, 'कोरोना भाइरस(कोभिड १९)ले दूधमा पूर्णरुपमा असर पुगेको छ। माछा खाने संस्कृति पनि कम भएको छ।'
निर्देशक शर्माले गरिबीका कारण माछा, मासु र दूधको उपयोग बढ्न नसकेको बताए। पछिल्लो समयमा कोभिडले मासुको उपयोग झन् घटाएको र दूधको बिक्री हुन नसक्दा पाउडर बनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। सरकारले उत्पादन बढाउन पशुचौपायको कृत्रिम गर्भाधान समेत गराउँदै आएको छ। त्यस्तै निर्देशक शर्माले पशुमा लाग्ने रोग खेरेट, पिपिआर लगायत निर्मुल पर्न सरकार लागिपरेको बताए। व्यवसायिक पशुपालनको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा काम गर्न सके पशुपालन क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान दिने बताइएको छ।
कृषि उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइने
नेपाली कृषि उत्पादन विश्वबजारसम्म पुर्याउन गैरआवासीय नेपालीहरुले सघाउने भएका छन्। नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पुर्याउन गैरआवासीयहरु उत्साहित देखिएका हुन्।
केमिकल, विषादी तथा एन्टिबायोटिकको प्रयोग बढिरहेकोमा चिन्ता व्यक्त गर्दै अर्गानिक खेतीमा ध्यान दिन सके स्वदेश तथा विश्वबजारमै बिक्रीको समस्या नहुने उनीहरुले उद्घोष गरे।