अस्पतालका कर्मचारी र मेयरका चालकलाई कोरोना देखिएपछि सदरमुकाममा त्रास
उदयपुर : जिल्ला अस्पतालका उदयपुरका स्वास्थ्यकर्मी र त्रियुगा नगरपालिकाका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि सदरमुकाम गाईघाटमा त्रास फैलिएको छ।
विरामीको अत्याधिक चाप हुने अस्पतालका ४८ वर्षीय रेडियोग्राफर, नगरपालिकाका मेयरका ३५ वर्षीय चालक र एक ३७ वर्षीया महिला गरी तीन जनामा कोरोना पोजिटिभ देखिएको हो। योसँगै उदयपुरमा संक्रमितको संख्या एक सय ४३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए। प्रादेशिक अस्पताल विराटनगरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट उनीहरुलाई कोरोनाको संक्रमण देखिएको हो। नयाँ संक्रमितको संख्या थपिएसँगै सामान्य बन्दै गएको त्रियुगा नगर क्षेत्रमा पुनः त्रास सुरु भएको छ।
त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरी मस्जिदबाट समुदायस्तरमा फैलिएको कोरोना पछिल्लो दुई महिना यता नगर क्षेत्रमा शून्य अवस्थामा पुगेको थियो। भिडभाड हुने कार्यालयमा संक्रमण देखिन थालेपछि सदरमुकाम आसपासका क्षेत्रमा त्रास फैलिएको छ।
जिल्लामा देखिएका संक्रमित मध्ये एक सय तीन जना पुरुष र ४० जना महिला रहेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ७७ जना, बेलका ५१ जना, कटारी ७ जना, चौदण्डीगढी नगरपालिकामा ३ जना, ताप्ली गाउँपालिकामा ३ र उदयपुरगढी गाउँपालिकामा २ जना रहेका छन्।
स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म दुई हजार आठ महिलासहित सात हजार आठ सय ६५ जनाको पीसीआर टेष्ट गरिएको छ। त्यसमध्ये सात हजार सात सय ९१ जनाको रिपोर्ट आइसकेको छ। कार्यालयकाअनुसार ९ जना पुरुषसहित १२ जना क्वारेन्टाइनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाइनमा रहेका छन्।