प्रहरीबाट फिल्ममा ‘अंकुश'

प्रहरीबाट फिल्ममा ‘अंकुश'

काठमाडौं : प्रहरी प्रधान कार्यालयले फिल्म, टेलिफिल्म, सर्ट फिल्मलगायतमा प्रहरीको पोसाक, मोनोग्राम र दज्र्यानी चिह्न दुरुपयोग भएको विषयमा निकालेको चेतावनीपूर्ण विज्ञप्तिप्रति फिल्मकर्मीले विरोध जनाएका छन्। 

प्रहरी प्रधान कार्यालयले बिहीबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो। प्रहरीले पञ्चायतकालको रवैया देखाएर नेपाली फिल्ममाथि अंकुश लगाउन खोजेको आरोपसमेत फिल्मकर्मीले लगाएका छन्।  ‘छ माया छपक्कै’ फिल्मका निर्देशक दीपेन्द्र लामा भन्छन्, ‘प्रहरीले पञ्चायतकालीन मानसिकता त्याग्नुपर्छ।’ सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट् गर्दै फिल्मकर्मीलाई फिल्म बनाउन दिन र विवेकलाई सम्मान गर्नसमेत उनले आग्रह गरेका छन्। 

‘प्रहरी पात्रले चोरी, जाली काम गरेको देखाइयो भने पटकथा सच्याएर ल्याउनू भन्छ। त्यतिमात्र होइन, सिनियर प्रहरीले जुनियरलाई तिमी वा तँ भनेर सम्बोधन गरेको छ भने तपाईं लेखेर ल्याउनू भन्छ। आदरणीय प्रहरी हाकिमहरू ! आफ्नो डिपार्टमेन्टका अफिसरहरूलाई तमिज सिकाउनुस्, घुस नखान, बलात्कार नगर्न, हत्या नगर्न सिकाउनू’, दीपेन्द्रले स्टाटसमा लेखेका छन्।

निर्देशक लामाले खरो टिप्पणी मात्र गरेका छैनन्, विज्ञप्तिमा ध्यानाकर्षण गर्दै उनले समस्याको निवारणका लागि विकास बोर्डलाई तीन सुझावसमेत दिएका छन्। तिनमा प्रहरी वा सेनाका नक्कली बर्दी, चिह्न र हातहतियार कथाको मागअनुसार प्रयोग गर्न दिइने, नक्कली बर्दी र हातहतियार छायांकन स्थलभन्दा बाहिर दुरुपयोग भएमा निर्माता कानुनबमोजिम सजायको भागीदार हुने र सार्वजनिक स्थलमा नक्कली प्रहरी र हातहतियार प्रयोग गरी छायांकन गर्नु परे नजिकको प्रहरी चौकीलाई जानकारी गराउनुपर्ने रहेका छन्। 

यस्तै हालै युट्युबमा रिलिज गरिएको ‘लावाजुनी’ फिल्मका निर्देशक केएल पीडित भन्छन्, ‘कोरोना कहरमा परेको फिल्मलाई प्रहरीको चेतावनीपूर्ण विज्ञप्तिले थप मर्माहत बनाएको छ।’ 

प्रहरी प्रधान कार्यालयले पोसाक दुरुपयोग नगर्न मातहतका प्रहरी कर्मचारीलाई बिहीबार निर्देशन दिएको थियो। कार्यालयले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक श्रव्यदृश्य, टिकटकलगायत टेलिभिजन तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक दुरुपयोग भइरहेकोतर्फ ध्यानाकर्षण भएको जनाएको थियो। 

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रहरी पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा प्रचारप्रसार एकाइमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधानबारे सूचित गरिएको छ। विज्ञप्तिमा स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्र्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न उल्लेख छ। यस किसिमका कुनै पनि कार्य भएगरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नायक कृष्ण मल्ल पोसाकको सवालमा मात्रै होइन, अहिले ड्रोन प्रयोग गर्न स्वीकृति लिनुपर्दा झन्झटिलो भएको बताउँछन्। उनी भन्छन्, ‘गृहबाट पुलिस हेडक्वार्टर अनि सम्बन्धित प्रहरी कार्यालय, रक्षाबाट आर्मी, संस्कृतिबाट नागरिक उड्डयन आदि निकायको स्वीकृति लिनुपर्छ। एकद्वार प्रणालीका लागि प्रयत्न हुन जरुरी छ। यसका लागि चलचित्र निर्माता संघ तात्नुपर्छ।’

फिल्मकर्मीले प्रहरी पात्रलाई घुस्याहा बनाएर देखाएकोप्रति प्रहरी नेतृत्वको रोश देखिन्छ। रंग क्षेत्रका सञ्चारकर्मी प्रदीप कार्की भन्छन्, ‘प्रहरी पहिले आफू सुध्रिने कि ? फिल्म त समाजको ऐना हो। जस्तो गर्नुहुन्छ, त्यस्तै देखाउने हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.