रुपन्देहीका चार कोरोना संक्रमितको मृत्यु
बुटवल : कोरोना संक्रमितको संख्यासँगै रुपन्देहीको बुटवलमा मृतकको संख्यासमेत उच्च हुँदै गएको छ। शनिबार रातिमात्रै तीन जना संक्रमितले ज्यान गुमाएका छन्।
कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका र उपचारका लागि अस्पताल जाँदै गर्दा चार जनाको ज्यान गएको हो। मृतक तीन जना बुटवल र एक जना तिलोत्तमा नगरपालिकाका हुन्।
धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सम्पर्कमा आएका ३ जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ। एक जनाको दाङको बेलझुण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो।
बिरामीको अवस्था जटिल रहेकाले लम्विनी अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो। त्यसैगरी गत असोज २२ कोरोना पुष्टि भएर २४ गतेदेखि कोरोना विशेष अस्पतालमा भर्ना रहेका ७० वर्षीय पुरुषको शनिबार राती ९:५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। उनी गत २२ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थिए।
बुटवलमा मध्यराति २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ। गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी महिलाको मध्यराति २ बजे मृत्यु भएको डा. गौतमले बताए।
दाङको बेलझुण्डी अस्पतालमा शनिबार बिहान एक महिलाको निधन भएको थियो। उनी रुपन्देही तिलोत्तमाकी हुन्। रुपन्देहीका अस्पतालमा अहिले आइसियु खाली छैन। बुटवल उपमहानगरमा मात्रै कोरोनाका संक्रिय संक्रमितको संख्या करिब ६ सय पुगेको छ। १५ सय जनाभन्दा धेरै संक्रमित भएका छन्।