कर्मचारीमा कोरोना देखिएपछि सिन्धुलीका तीन स्थानीय तह बन्द
सिन्धुली : जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोरोना भाइरस (कोभिड १९) देखिएपछि सिन्धुलीका दुई नगरपालिकासहित तीन स्थानीय तह बन्द गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।
तीनवटै स्थानीय तहले सूचना जारी गर्दै नगर र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य बन्दगर्ने निर्णय गरेका हुन् । कमलामाई नगरपालिकाले ८ का वडा अध्यक्ष टिकाबहादुर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल समेतलाई कोरोना संक्रमण भएपछि आइतबारबाट कात्तिक ३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । यस्तै दुधौली नगरपालिका र सो मातहत रहेका सबै कार्यालयको सेवा बन्द गरिएको उक्त नगरका नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।
बिहीबार दुधौली नगरपालिकामा रहेको सेन्चुरी बैंकका ५ जना कर्मचारी र क्वारेन्टाइनमा रहेका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाभित्र रहेका सबै कार्यालय, संघसंस्था तथा वित्तिय संस्था लगायतका सेवाहरु बन्द गरिएको हो ।
'कोरोना संक्रमण फैलन सक्ने भन्दै नगरपालिकाले त्यसलाई नियन्त्रण गर्नका लागि कार्तिक १ गतेसम्मका लागि नगरपालिकाभित्र प्रदान गरिने सबै खाले सेवा बन्द गरेको हो,' राउतले भने ।
नगरपालिकामा चल्ने यातायातलाई भने मापदण्ड पालना गरि संचालन गर्न र व्यापारीहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ । यस्तै सिन्धुलीकै गोलन्जोर गाउँपालिकाले पनि आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै आइतबारबाट लागु हुनेगरी अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
गाउँपालिकाको कर्मचारीमा कोरोना भएकाले कन्ट्याकट ट्रेसिङका आधारमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पाठउने तयारी भएकाले रिपोर्ट नआउँदासम्मका लागि पालिका र मातहतका सम्पूर्ण कार्यालयका सेवा बन्द गरीएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिए । यसअघि जिल्लाको मालपोत, घरेलु तथा साना उद्योग विकास समिति तथा चारवटा विकास बैंकहरु बन्द भइसकेका छन्।