बागलुङ नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द
बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजार क्षेत्रमा फेरि कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम बढेको छ।
अघिल्लो वर्षको चैत्रमा नेपालको पाँचौ र छैठौ संक्रमित पुष्टि भए सँगै बागलुङमा पछिल्लो केही दिन कोरोना संक्रमण दर र जोखिम कम भएको आकलन गरिएको थियो। तर, शनिबार एकै दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण जोखिम र त्रास बढेको छ।
बागलुङ नगरपालिकामा क्वारेन्टिन व्यवस्थापनमा लामो समयदेखि खटिएका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बागलुङ नगरपालिकाले अनिश्चितकालका लागि अत्यावश्यक बाहकेको सेवा बन्द गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले स्वास्थ्यकर्मी र जनप्रतिनिधिसहित समुदायस्तरमा कोरोना सक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिए।
नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुष्टि भएपछि सोमबारदेखि लागु हुने गरी अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरेको हो।
नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक बाहेक काम बन्द गरिएको नगरपालिकाले जनाएको छ।
बागलुङ नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा संक्रमण भएपछि अहिले कन्ट्याक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए
बागलुङमा अहिलेसम्म ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ सय ६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ। बागलुङमा हाल सक्रिय सक्रमितको संख्या १ सय ५७ छ। उनीहरुको विभिन्न अस्पताल र आइसोलेशनमा उपचार भइराखेको छ।